+
+

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु विद्युतविहीन   

रासस रासस
२०७९ कात्तिक ८ गते १६:०४

८ कात्तिक, काठमाडौं । गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।

गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत्गृहको एक हजार एक सय मिटर लामो नहरमध्ये झण्डै सात सय मिटरमा क्षति पुर्‍याएको छ । यसैगरी, बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनःनिर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनःनिर्माण सुरु गरिसकेको छ । केही समयभित्रै पुनःनिर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘पुनःनिर्माणलाई तीव्रता दिने र तत्काल विद्युत् आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत् उत्पादनको प्रयास गरिरहेका छौँ’ उनले भने ।

भौगोलिक रुपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले चार सय किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत् सेवा लिने ग्राहकको सङ्ख्या तीन हजार एक सय छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?