+
+

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १३:१९

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । समूह बी अन्तर्गत मूलपानी मैदानमा सोमबार सम्पन्न खेलमा पुलिसले प्रदेश–१ लाई ७ विकेटले हराएको हो ।

१०३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर सुनील धमला रनको खाता नखोली आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल र शंकर रानाले पुलिसको जित आधार तय गरेका थिए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

कुशलले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रन बनाए । अर्का ब्याटर शंकरले २९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र रशिद खान क्रमशः १४ र १६ रनमा अविजित रहे । प्रदेश १ का लागि फिरोद अन्सरी र सिद्धान्त लोहनीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ टिम ३५.१ ओभरमा १०२ रनमै अलआउट भएको थियो । पुलिसका लागि ललितनारायण राजवंशी एक्लैले ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चिए । दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २ विकेट लिए भने रशिद खानले १ विकेट लिए ।

प्रदेश १ का लागि ओपनर ब्याटरद्धय निरज मुखिया र अंकित सुवेदीले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । निरजले ३७ बलमा २९ रन बनाए भने अंकितले ३५ बलमा २४ रन जोडे । बाँकी ४६ रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

पुलिस २ खेलबाट ४ अंकसहित समूह बी को शीर्ष स्थानमा पुगेको छ । पुलिसले यसअघि आइतबार भएको पहिलो खेलमा वागमती प्रदेशमाथि १९२ रनको जित रचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?