+
+

१३औं सागकी ऐतिहासिक स्वर्ण विजेता संगीता घरखर्च जुटाउन म्यादी प्रहरीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:१४

१४ कात्तिक, काठमाडौं । तीन वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा कञ्चनपुरकी संगीता धामीले नेपालको महिला कुस्ती खेलमा इतिहास बनाएकी थिइन् ।

उनी कुस्तीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो र एकमात्र महिला खेलाडी हुन् । अघिल्लो महिना गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आफ्नो तौलसमूहमा स्वर्ण जितेकी संगीता नेपालको वर्तमान राष्ट्रिय च्याम्पियनसमेत हुन् ।

यी प्रतिभा घर खर्च जुटाउन र आफ्नी आमालाई खुसी राख्न म्यादी प्रहरीमा भर्ना भएकी छन् । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि उनी म्यादी प्रहरी बनेकी छन् ।

आधिकारिक ओलम्पिक खेल भए पनि नेपालमा कुस्तीको गतिविधि कमै मात्रामा हुने गरेको छ । अन्तर्राष्ट्रिय स्वर्ण जितेर इतिहास बनाएकी संगीता त्यसयता पनि कामविहीनजस्तै बनिन् । २२ वर्षीया उनका लागि विभागीय टोलीहरुले पनि चासो देखाएनन् । कुस्तीमा यसै पनि खाना खुराकमा अधिक खर्च हुने गरेको छ । त्यसबाहेक एकल आमाको हेरचाह र वहिनीहरुको पढाई खर्चको जिम्मेबारी पनि आफैंले लिनुपर्दा संगीताले म्यादी प्रहरीले भर्ना हुने विकल्प रोजेकी हुन् ।

सागमा स्वर्ण जितेपछि सरकारले दिएको पुरस्कार रकम र केहि संस्थाहरुको सहयोगबाटै उनको घर चलेको थियो । दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छन् । सानै हुँदा बुबाले छाडेपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।

‘हामीले खेलकुदबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा गरेका छौं,’ हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भनिन्, ‘इतिहास रचेर मात्र खान नपुग्ने रहेछ । रोजगारीको व्यवस्था नहुँदा खेलाडी हुँ भन्न पनि गाह्रो हुने अवस्था आयो ।’

आमाले अर्काको बारीमा खेती र भैँसीपालन गरेर संगीतालाई साग स्वर्ण जित्न लायक बनाएकी हुन् । अहिले पनि आमा त्यही काम गर्छिन् । कन्चनपुरमै बसेर परिवारलाई सहयोग गरिरहेकी संगीता म्यादी प्रहरीमा भर्ना प्रक्रिया चलिरहँदा नवौं खेलकुदमा सहभागी भएर स्वर्ण जितेकी हुन् । नवौं खेलकुदअन्तर्गत कुस्ती प्रतियोगिता नवलपुरमा आयोजना भएको थियो ।

‘सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो,’ संगीताले भनिन्, ‘म्यादी प्रहरीबाट आएको रकम आमालाई नै दिन्छु ।’

संगीतालाई सानैदेखि फौजी संगठनमा जागीर गर्ने इच्छा थियो । सागमा स्वर्ण जितेपछि खेललाई नै व्यवसाय बनाउने प्रयास गरे पनि सम्भव हुन नसकेको उनको भनाई छ ।

‘अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो,’ उनले भनिन्, ‘अहिले म्यादीमा भर्ना हुँदा समाजले कुरा काट्छन कि भनेर चिन्ता छ ।’

राज्यले गर्न लागेको निर्वाचनको सुरक्षा जिम्मेबारी पाउँदा संगीयताले खुसी व्यक्त गरेकी छन् । संगीतासँगै नवौँ राष्ट्रिय खेलकुदमा कुस्तीबाटै स्वर्ण जितेकी हेमा भट्टलगायत पाँच/छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादी प्रहरीमा भर्ना भएका छन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले पनि खेलाडीले राज्यबाट उचिन सुविधा नपाएकोमा दुःख व्यक्त गरे ।

नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?