+
+

टी–२० विश्वकपमा नेदरल्याण्ड्सले जिम्बावेलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १३:२८

१६ कात्तिक, काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत समूह बीको खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई पाँच विकेटले पराजित गरेको छ ।

एडिलेडमा भएको खेलमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई ओभर बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टाएको हो । नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय पारी खेल्दै टिमको जित आधार तय गरेका थिए ।

ओडोडले ४७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै टम कुपरले ३२ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे । बलिङमा जिम्बावेका रिचर्ड गारावा र ब्लेसिङ मुजाराबानीले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावे १९.२ ओभरमा अलआउट हुँदा ११७ रनको सामान्य योगफल खडा गर्न सक्यो ।

उसका लागि मध्यक्रमका सिकन्दर राजा र सिन विलियम्सबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेका थिएनन् । सिकन्दरले २४ बलमा ४० र विलियम्सले २३ बलमा २८ रन बनाए । बलिङमा नेदरल्याण्ड्सका पल भान मेकरिनले ३ विकेट लिए । ब्रेण्डन ग्लोभर, लोगान भान विक र बास डे लेडेले २–२ विकेट लिए ।

जारी विश्वकपको सुपर १२ मा नेदरल्याण्ड्ले पहिलो जित हासिल गरेको हो । नेदरल्याण्ड्सले पछिल्ला तीन खेलमा बंगलादेश, पाकिस्तान र भारतसँग पराजय ब्यहोरेको थियो । नेदरल्याण्डको ४ खेलबाट २ अंक छ । उसले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

यता जिम्बावे भने नेदरल्याण्ड्ससँग पराजित भएसँगै सेमिफाइनलमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । दक्षिण अफ्रिकासँगको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि जिम्बावेले दोस्रो खेलमा पाकिस्तानलाई हराएर सनसनी मच्चाएको थियो । पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो । जिम्बावेको ४ खेलबाट ३ अंक छ । उसले भारतसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?