+
+

धनकुटामा थापा र राईको तेस्रो भिडन्तमा भण्डारीको इन्ट्रीले कसलाई फाइदा ?

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक २० गते ७:०९

२० कात्तिक, धनकुटा । सुनिलबहादुर थापा र राजेन्द्रकुमार राई धनकुटामा नयाँ प्रतिस्पर्धी होइनन् । पाख्रीबास नगरपालिकाका बासिन्दा यी दुई यसअघिका दुईवटा चुनावमा पनि भिडिसकेका छन् । दुवैले एक–एकपटक बाजी पनि मारेका छन् ।

२०७० सालको संविधान सभा चुनावमा तत्कालीन धनकुटा २ बाट राप्रपाबाट उठेका थापाले नेकपा एमालेका राईलाई ४५७ मतले पछि पारेका थिए ।

२०७४ सालको संसदीय चुनावदेखि धनकुटा एउटा मात्र क्षेत्र कायम भयो । त्यतिबेला वाम गठबन्धनका एमाले उम्मेदवार राईले सजिलै चुनाव जिते । नेपाली कांग्रेसबाट उठेका थापा राईसँग साढे १० हजार मतअन्तरले पराजित भएका थिए ।

तेस्रो भिडन्तको तयारीमा रहेका थापा र राईको बीचमा यो चुनावमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी आएका छन् । मनोनयनदर्ता गर्नु एक महिनाअघि नेकपा माओवादी छाडेका भण्डारी स्वतन्त्र उम्मेदवार हुन् ।

त्यसो त धनकुटामा यी ३ सहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर स्थानीय तहको नतिजा तथा विगतको चुनावको परिणामलाई हेर्दा मुख्य प्रतिस्पर्धा थापा, राई र भण्डारीबीच नै हुने देखिन्छ । भण्डारीको इन्ट्रीले गठबन्धन झस्केको छ भने एमाले त्यसको फाइदा पाउने आशामा छ ।

स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धनभन्दा एमाले अघि छ । एमालेको ३६ हजार ३३६ मत छ । नेपाली कांग्रेसले २८ हजार १८२ नेकपा माओवादी केन्द्रले ५ हजार ४५८ र एकीकृत समाजवादीले १ हजार ७२८ मत पाएका थिए । यो मतका आधारमा गठबन्धन ९६८ मतले पछि देखिन्छ ।

स्थानीय तह चुनावको मतमा आफू अघि हुनु, गठबन्धनकै दल माओवादीका नेता स्वतन्त्र उम्मेदवार हुनुको फाइदा आफूहरुलाई पुग्नेमा एमाले धनकुटाका नेताहरु ढुक्क छन् ।  नेकपा एमालेका धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले भने, ‘गठबन्धनबाट जनता समाजवादी बाहिरिएको छ र हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेलाई जित्न सहज छ ।’

तर २०७४ को चुनाव जिते पनि एमालेले जिल्लाको विकासका लागि खासै काम नभएकाले अहिले जनताले विकल्प खोज्ने र त्यो विकल्प आफूहरु रहेको बताउँछन् नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई । ‘२०७४ मा प्रदेश र संघ दुवै जितेको एमालेकै सरकार हुँदा पनि यहाँबाट जितेका जनप्रतिनिधिले केही काम गरेनन् र धनकुटालाई विकासमा पछि पारे,’ उनले भने, ‘यो कुरा जनताले महसुस गरेका छन् ।’

स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीका समर्थक भने कसैलाई हराउन वा जिताउन नभइ आफैं जित्न उम्मेदवार बनेको बताउँछन् । दलबाट जनता आजित भएका कारण स्वतन्त्र उम्मेदवारले नै चुनाव जित्ने भण्डारीका समर्थक सुन्दरबाबु श्रेष्ठले बताए । ‘धनकुटा अहिलेसम्म भएका ठूला आयोजनाहरु तमोर करिडोर, पाख्र्रीबास कृषि क्याम्पस, अरुण करिडोर जस्ता ठूला आयोजनाको पहल भण्डारीले नै गरेका हुन्,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?