+

प्रदेश–१ लाई हराए पनि लुम्बिनी सेमिफाइनल पुग्न कठिन

२०७९ कात्तिक  २० गते १८:१९ २०७९ कात्तिक २० गते १८:१९
प्रदेश–१ लाई हराए पनि लुम्बिनी सेमिफाइनल पुग्न कठिन

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार लुम्बिनी प्रदेशले प्रदेश १ माथि ३९ रनको जित हासिल गरेको छ । प्रतियोगितामा लुम्बिनीले चौथो खेलमा दोस्रो जित निकालेको हो ।

समूह बीमा रहेको लुम्बिनीले ४ अंक जोडेको छ । जितका बाबजुद लुम्बिनी समूहको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको मधेश प्रदेशसँग अंक बराबर भए पनि रनरेटका आधारमा लुम्बिनी पछि परेको हो ।

लुम्बिनीको सेमिफाइनल सपना पूरा हुनका लागि अरु टिमको नतिजामा भर पर्नुपर्छ । मधेशले समूहमा दुई खेल खेल्न बाँकी छ । दुवै खेलमा भारी अन्तरका साथ पराजित भएको अवस्थामा लुम्बिनी सेमिफाइनलमा पुग्न सक्छ ।

मधेशले वागमती र नेपाल पुलिससँग खेल्न बाँकी छ । वागमती लगातार तेस्रो हारपछि प्रतियोगिताबाट बाहिरिसकेका छ भने लगातर तीन जितपछि ६ अंकसहित पुलिस सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ ।

त्रिवि मैदानमा २९१ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश १ टिम ४६ ओभरमा २५१ रनमा समेटियो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्बाधिक ७४ रन बनाए । सुरुवात राम्रो गरे पनि लुम्बिनीका मध्यक्रमका ब्याटरहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

ओपनर निरज मुखिया र अंकित सुवेदीले ८५ रनको साझेदारी गरी राम्रो सुरुवात दिएका थिए । १२.३ ओभरमा निरज व्यक्तिगत ४६ रनको स्कोरमा आउट भएपछि प्रदेश १ ले एउटा एण्डबाट लगातार विकेट गुमाइरह्यो । १७.५ ओभरमा अर्का ओपनर अंकित ५२ रनमा आउट हुँदा प्रदेश १ टिम १०९–४ को अवस्थामा पुग्यो ।

मध्यक्रममा कप्तान सिद्धान्त र फिर्दोष अन्सारीले छैठौं विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । सिद्धान्तले ६० बलमा १० चौका र २ छक्कासहित ७४ रन बनाए । फिर्दोसले १६ रनज जोडे । श्रवण यादवले १५ र सोनु मण्डलले अविजित २० रन बनाएर पनि जितका लागि पर्याप्त भएन ।

बलिङमा लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले २–२ विकेट लिए । नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रनको योगफल खडा गरेको थियो ।
ओपनर प्रज्वल थापा ३ रनमै आउट भए पनि अर्का ओपनर तथा कप्तान देव खनालले आकाश त्रिपाठीसँग मिलेर दोस्रो विकेटका लागि १०३ रनको शतकीय साझेदारी गरे । प्रधानमन्त्री कपको चौथो खेलमा तेस्रो अर्धशतक बनाएर देवले ९८ बलमा ११ चौकासहित ८९ रनको शानदार पारी खेले । आकाशले ४५ रन बनाए ।

लुम्बिनीका मध्यक्रमका ब्याटरहरु सन्दीप रजालीले ४४, विशाल विक्रम केसीले ३२, कृष्ण कार्कीले ३१ र बसिर अहमदले ११ रन बनाए । लुम्बिनीले २८ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ प्रदेश १ का दीपक जोशीले ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्नै ५५ रन खर्चिए ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय