+
+

कार्यकर्तालाई नै पचाउन हम्मे पर्नेगरी प्रचण्डको महिमामण्डन

प्रचण्ड घोषणापत्रमा मात्रै सीमित छैनन् । माओवादीले तयार पारेको चुनावी प्रचार सामग्रीमा समेत उनको अधिकार प्रचार र प्रशंसा गरिएको छ । माओवादीका दुई ‘ब्रान्डेड’ नारामा पनि प्रचण्डकै ठूलो तस्वीर राखिएको छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक २२ गते १४:१८

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय पार्टीहरूमध्ये घोषणापत्रको आवरणमै आफ्ना अध्यक्षको तस्वीर राख्ने पार्टी नेकपा माओवादी केन्द्र मात्रै रह्यो ।

आवरणको अग्रभागमा माओवादी अध्यक्ष प्रचण्ड देखिन्छन् भने पृष्ठभूमिमा मात्रै घोषणापत्रको मूल विशेषता झल्काउने तस्वीर समेटिएको छ । माओवादीले एक्लै लडेका दुई संविधानसभा चुनावको घोषणापत्रमा भने प्रचण्डलाई अंकित गरेको थिएन ।

आवरणमा मात्रै होइन, यसपालिको घोषणापत्रको विषयवस्तुमा समेत प्रचण्डको निकै प्रशंसा गरिएको छ ।

‘नेकपा (माओवादी केन्द्र) मा त्यस्तो नेतृत्व छ, जसले पछिल्लो आन्दोलन, परिवर्तन र शान्ति प्रक्रियाका सबै कालखण्ड र सन्दर्भको नेतृत्व गर्नुभएको छ’ घोषणापत्रमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र) का प्रमुख नेता अध्यक्ष कमरेड प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी संघर्षको नेतृत्व गर्नुभयो ।’

नेपालको समकालीन राजनीतिमा प्रचण्ड मात्र एक्लो यस्तो नेता भएको भन्दै उनको प्रशंसा गरिएको छ । माओवादीले यसपटक प्रचण्डलाई हरेक चुनावी सामग्रीमा अबको प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरेको छ, यद्यपि नेपालले प्रत्यक्ष चुनावी प्रणाली अपनाएको छैन ।

प्रचार सामग्रीमा प्रचण्ड, उनकै प्रशंसा

प्रचण्ड घोषणापत्रमा मात्रै सीमित छैनन् । माओवादीले तयार पारेको चुनावी प्रचार सामग्रीमा समेत उनको अधिकार प्रचार र प्रशंसा गरिएको छ । माओवादीका दुई ‘ब्रान्डेड’ नारामा पनि प्रचण्डकै ठूलो तस्वीर राखिएको छ । ‘जसको नीति, उसकै नेतृत्व’ र ‘व्यवस्था बदल्यौं, अवस्था बदल्न माओवादी केन्द्रलाई भोट’मा माओवादी भन्दा प्रचण्ड झल्किन्छन् ।

‘माओवादीलाई भोट किन ?’ शीर्षकमा माओवादीले बनाएको डिजिटल पोस्टरमा प्रचण्डको ठूलो तस्वीर राखेर उनको महिमा गाइएको छ । त्यसमा राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता स्थापना र धर्मनिरपेक्षताको स्थापना तथा उपेक्षित जाति, भाषा, क्षेत्र र लिंगको मुक्ति प्रचण्डले नै गरेको उल्लेख गरिएको छ । प्रचण्ड सरकारको पालामा भन्दै राष्ट्रिय आयोजनाहरूको परिकल्पना गरेको, सुशासनको प्रत्याभूति दिलाएको, लोडसेडिङको अन्त्य गरेको र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दाबी गरिएको छ ।

यी सबमा प्रचण्डको नेतृत्व थियो भन्ने मात्रै यसमा झल्किन्छ । तर, त्यहाँ माओवादीका नाममा लड्ने थुप्रैको रगत, पसिना पनि बगेको थियो भन्ने कुरा छायाँमा परेको देखिन्छ । माओवादीको चुनावी गीतमा पनि प्रचण्डकै बखान गरिएको छ ।

चुनावी प्रयोजनका लागि माओवादीले पहिलो पटक निकालेको र्‍याप गीतको शीर्षक नै छ, ‘भोट फर प्रचण्ड, भोट फर माओवादी ।’ यो गीतले प्रचण्ड प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेको झल्को दिन्छ । जबकि, माओवादीमा प्रचण्डबाहेक अरू उम्मेदवार पनि छन् ।

माओवादीको चुनावी गीतको आवरण

प्रचण्डको प्रशंसामा गीतमा भनिएको छ, ‘राजतन्त्र फाले अनि गणतन्त्र ल्याए । महिला अधिकार, दलित अधिकार, थारू, मुस्लिम, जनजाति सबको अधिकार । संविधानमा सुनिश्चित भो सबको अधिकार ।’

प्रचण्डको प्रशंसा गरिएको गीत गाउन यसपटक लोकप्रिय गायक बद्री पंगेनी पनि मिसिएका छन् । माओवादी निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानले तयार पारेको ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा बद्रीले स्वर दिएका छन् । उनलाई स्वरमा साथ दिएकी छिन् प्रचण्डकी नातिनी स्मिता दाहालले ।

प्रचण्डको प्रशंसामा गीतमा भनिएको छः

गणतन्त्रमा पुग्ने सपना देख्ने प्रचण्ड
संविधानमा संघीयता लेख्ने प्रचण्ड

जन लहर मेची–महाकाली आयो
अघि अघि प्रचण्ड पछि पछि हामी नेपाली ।

गीतमा प्रचण्डलाई जनताले सरकारको नेतृत्वमा देख्न चाहेको समेत दाबी गरिएको छ ।

प्रचण्डको नीति मान्दै नेपाल यहाँ आ’को
जनतालाई नेतृत्वमै देख्न मन ला’को ।

बृहत् शान्ति सम्झौताको ज्युँदो हस्ताक्षर
प्रचण्डले लान सक्छन् सबलाई समेटेर ।

जनतासँगै रुन सक्ने, जनतासँगै हाँस्ने,
हिमाल पहाड तराईलाई एक सूत्रमा गाँस्ने ।

यी सबै अति लागेर नै होला, कुनै बेलाका प्रचण्डका प्रशंसक रहेका लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘चुनावी गीतका नाउँमा माओवादीमा पुकदाको भक्तिभजन सुनियो– अश्लील र दिगमिग लाग्दो ।’

युद्धमा पनि उस्तै

हुन त माओवादीले सशस्त्र युद्धमा छँदैदेखि प्रचण्डको अति प्रचार गर्दै आएको हो । माओवादी युद्धका सुरुवाती कालमा प्रचण्ड भन्दा बाबुराम भट्टराई चर्चित थिए ।

एसएलसी बोर्ड प्रथम आएको र तत्कालीन नेकपा मशालको खुल्ला राजनीतिक मोर्चा राष्ट्रिय जनमोर्चाको संयोजकसमेत भएका कारण मानिसहरू प्रचण्ड भन्दा बाबुरामलाई चिन्दथे ।

माओवादीले कुनै बेला सबै नेताहरूले आफ्ना भाषण र लेखहरूमा प्रचण्डको उद्धरण अनिवार्य रूपमा राख्नुपर्ने नियम बनाएको थियो । प्रचण्डको ‘ब्रान्डिङ’ गर्न भन्दै भूमिगत छँदै प्रचण्डको तस्वीर सार्वजनिक गरिएको थियो । त्यस्तै नेतृत्वको केन्द्रीकरण भन्दै २०५७ देखि ‘प्रचण्डपथ’ सुरु गरिएको थियो । २०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँगको एकतापछि त्यसलाई स्थगन गरिएको थियो ।

माओवादी निकट विश्लेषक नरेन्द्रजंग पिटरको स्मरणमा २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको तत्कालीन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्वको केन्द्रीकरण गर्ने प्रस्ताव आएको थियो । त्यसका लागि धेरै विकल्प आउँदा हाल नेकपा एमालेमा गएका रामबहादुर थापा ‘बादल’ले प्रचण्डपथ नामकरण गरेका थिए ।

‘जनयुद्धदेखि अहिलेसम्म यस्तो चिज देखिन्छ’ उनले भने, ‘हिजोको दिनमा प्रचण्डपथ भनेर नामकरण गर्ने बादलजी हो । नेतृत्वको केन्द्रीकरण गर्नुपर्‍यो भनिसकेपछि विभिन्न किसिमका नाम आए । प्रचण्डपथ राख्नुपर्छ भनेर राख्ने बादलजी र प्रचण्डपथ जिन्दावाद भनेर त्यही बेलामा गीत लेख्ने मणि थापा हो । तर, उहाँहरू दुइटै अहिले माओवादीमा हुनुहुन्न ।’

थुप्रै गीत लेखेका मणि थापाले २०६० सालमा लेखेको गीतमा ‘संसारलाई फेर्न सक्ने प्रचण्डपथ’ भएको उल्लेख गरिएको थियो । गीतमा प्रचण्डपथको प्रशंसा यसरी गरिएको थियो :

मार्क्सवादको बाटो हो,
लेनिनवादको बाटो हो
माओवादको बाटो हो
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो ।

युद्धबाट युद्ध सिक्ने,
हारमा पनि जित देख्ने
रगतमा गीत लेख्ने
जितमा पनि जित देख्ने
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो ।

रुँदारुँदै हाँस्न सक्ने
हाँस्दाहाँस्दै रुन सक्ने
आकाशलाई छुन सक्ने
धरतीलाई चुम्न सक्ने यो
प्रचण्डपथ हो यो ।

आँधीसँग लड्न सक्ने
हुरीसँग कुद्न सक्ने
मित्रलाई चिन्न सक्ने, बैरीलाई पुर्न सक्ने
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो ।

एउटा व्यक्तिको महिमामण्डनबारे आफूले युद्धमै छँदा बेठिक भनेको र आवाज उठाएको बताउँछन माओवादी केन्द्रका सचिव राम कार्की । ‘म त जुन बेला युद्ध चलिरहेको थियो, त्यतिबेला पनि ठिक हुँदैन भन्ने मान्छे हुँ’ उनले भने, ‘त्यसमा लेख नै लेखेको हो । त्यति बेलै आफ्नो आवाज उठाएको मान्छे हुँ ।’

युद्धमै छँदा माओवादीका संस्कृतिकर्मीले प्रचण्डका नाममा रचेको गीत यस्तो थियो :

जनम भयो जनम भयो, जर्मनीमा माक्र्सको जनम भयो
जनम भयो जनम भयो, रूसमा लेनिनको जनम भयो
जनम भयो जनम भयो, चीनमा माओको जनम भयो
जनम भयो जनम भयो, नेपालमा प्रचण्डको जनम भयो

यस गीतप्रति लेखक संग्रौलाले उति बेलै ‘पञ्चायतले राजालाई जनताका इष्टदेव र भूमिपतिका रूपमा पुज्न ‘श्रीमान् गम्भीर नेपाली’ रचेको र त्यसैको नक्कल गर्दै प्रचण्डको स्तुतिगान गरिनुमा माओवादीभित्रको पतित सर्वसत्तावादी संस्कृति उजागर भएको’ टिप्पणी गरेका थिए (एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष)

पार्टी भन्दा व्यक्तिको बखान किन ?

पार्टीभन्दा व्यक्तिको प्रचार बढी किन भएको भन्ने प्रश्नको जवाफमा माओवादी सचिव कार्कीले दुई कारण औंल्याए ।

पहिलो कारणमा उनले मिडियाकै कमजोरी देखाए । ‘मुख्य रूपमा पार्टीको, संस्थाको, विचारको नै प्रचार हुनुपर्ने हो’ उनको मत छ, ‘तर, नेपालमा माहोल कस्तो भयो भने यहाँको मिडिया, यहाँको पत्रपत्रिकाले पनि दिनभरि सनसनीपूर्ण कुरा मात्रै लेखिरहन्छ ।’

‘फलाना नेता उहाँ जानुभयो, उहाँले खुट्टा मर्काएर बस्नुभएको थियो । उहाँले उपरखुट्टी लगाउनुभएको थियो भन्नेमै सकिन्छ’, कार्कीले भने ।

दोस्रो कारणमा कार्कीले पार्टी ‘क्याडरबेसबाट मासबेस’मा रूपान्तरित हुँदै जानु भएको बताए । ‘हिजोका क्याडरबेस पार्टीहरू आज मासबेस बन्दा अलिकति सन्तुलन मिल्दैन’ उनको भनाइ छ, ‘हिजो नेपाली कांग्रेस मात्रै मासबेस पार्टी थियो । आज कम्युनिस्ट पार्टीहरू क्याडरबेस बन्दै जाँदाखेरि अलिकति सन्तुलन बिग्रिएको होला ।’

विश्लेषक पिटर ‘प्रचण्डको सहमति बेगर उनलाई देउता बनाउने’ काम माओवादी कार्यकर्ताले नगरेको टिप्पणी गर्छन् । ‘उनको पनि महत्वाकांक्षा रहेको हुँदा उनको सहमति नभई यत्रो ठूलो प्रचार गरियो होला भन्ने मलाई विश्वास लाग्दैन’ उनी भन्छन्, ‘प्रचण्डको सहमति बेगर उनलाई देउता बनाउने भन्ने कुरा हुँदैन ।’

सामूहिक नेतृत्व नहुने पार्टी, पार्टी जस्तै नरहने पिटर बताउँछन् । ‘सामूहिक नेतृत्व प्रणालीमा पार्टी जस्तै पार्टी हुन्छ’ उनको थप टिप्पणी छ, ‘व्यक्तिकेन्द्रित पार्टी भइसकेपछि उनीहरूलाई नै केन्द्रित गरेर, आफूलाई नै भगवान सावित गर्न चाहन्छन् । त्यो चाहे प्रचण्ड होस्, चाहे केपीजी वा देउवा !’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?