+
+
रोल्पाको प्रदेशसभा :

माओवादी नेताको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई डर

महेश न्यौपाने महेश न्यौपाने
२०७९ कात्तिक २३ गते १७:४६

२३ कात्तिक, रोल्पा । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा रोल्पाबाट प्रतिनिधिसभामा माओवादी केन्द्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा माओवादी र कांग्रेसले एक एक वटा बाँड्ने सहमति भएको थियो ।

सहमति अनुसार प्रतिनिधिसभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बने भने प्रदेशसभा (१) मा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका अमरसिंह पुनले उम्मेदवारी दर्ता गराए । तर प्रदेशसभा (२) मा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा पूर्व जिल्ला इन्चार्ज दीपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिए ।

उनको स्वतन्त्र उम्मेदवारीले नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु झस्किएका छन्, कतै माओवादीले स्वतन्त्र उम्मेदवार पुनलाई नै सहयोग गर्ने त होइन ?

२९ असोजमा सदरमुकाम लिवाङमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव वर्षमान पुनले दीपेन्द्रको उम्मेदवारी निष्क्रिय बनाउन पहल गर्ने बताएका थिए । तर दीपेन्द्रले आफ्नो चुनाव प्रचारलाई आक्रामक बनाएका छन् ।

१७ कात्तिकमा प्रेस विज्ञप्तिमार्फत उनले आफू पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिको परामर्शमै स्वतन्त्र उम्मेदवार बनेको बताएपछि रोल्पामा सत्तारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ । ‘विभिन्न तहमा छलफल र परामर्श गरी मैले स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षका साथ अन्तिम समयमा उम्मेदवारी दर्ता गराएको हो, यो मेरो व्यक्तिगत निर्णय मात्र होइन’ दीपेन्द्रले विज्ञप्तिमा भनेका थिए ।

नेकपा माओवादी केन्द्रको जिल्ला समितिले दीपेन्द्रको भनाइलाई खण्डन त गरेको छ, तर कांग्रेस विश्वस्त हुन सकेको छैन । २० कात्तिकमा अध्यक्ष गुणेन्द्र घर्ती र सचिव पूर्ण केसीले जारी गरेको विज्ञप्तिमा दीपेन्द्रको दावीमा सत्यता नरहेको उल्लेख छ । उनीहरुले दीपेन्द्रलाई उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनकै उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

यो क्षेत्रमा नेकपा एमालेले प्रेम घर्तीमगरलाई उम्मेदवार बनाएको छ । दीपेन्द्रले उम्मेदवारी कायम राख्दा यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

माओवादी उपमहासचिव वर्षमान पुनको संयोजकत्वमा गठित निर्वाचन परिचालन समिति अहिले रोल्पाका गाउँ गाउँमा चुनावी सभामा व्यस्त रहेको छ । पुनले आफ्ना भाषणमा प्रदेशसभा (२) मा कांग्रेस उम्मेदवार अमरसिंह पुनका लागि मत मागिरहेका छन् ।

रोल्पामा विगतमा माओवादी केन्द्र र कांग्रेसबीच निकै तिक्तता भए पनि अहिले चुनावी कार्यक्रमहरुमा हार्दिकता देखिएको छ । यद्यपि भोट ट्रान्सफर हुन्छ कि हुन्न भन्ने दुबै पक्षलाई आशंका छ ।

कांग्रेस उम्मेदवार अमरसिंह पुन भने माओवादी केन्द्रले सहयोग गर्नेमा ढुक्क देखिन्छन् । ‘गठबन्धन जिल्ला विशेषको मुद्धा नभई राष्ट्रिय आवश्यकता हो । नेकपा माओवादी केन्द्र चेनअफ कमाण्डमा चल्ने पार्टी भएकाले पार्टी कमिटी र नेताले भनेको मान्नेमा कुनै शंका छैन’ पुनले भने ।

रोल्पामा माओवादी केन्द्रको राम्रो जनमत भएकाले उसका उम्मेदवारलाई जित्न तुलनात्मक रुपमा सहज भए पनि अरु दललाई चुनाव जित्न माओवादीको सहयोग चाहिन्छ । यसअघि २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सबैतिर माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

रोल्पा प्रदेश सभा २ मा रुन्टीगढी गाउँपालिकाको वडा नं. ५, ६, ७, ८ र ९, त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका, गंगादेव गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिकाको वडा नं १,२ र ३ तथा रोल्पा नगरपालिकाको वडा नं ६,७ र ८ गरी कुल ७२ मध्ये ३७ वटा वडा पर्छन् ।

स्थानीय तह चुनावमा पाएको मतको आधारमा रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छ । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा रोल्पा प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रले १९ हजार ४८२, नेपाली काँग्रेसले ११ हजार ७७७, नेकपा एमालेले १० हजार ६३८ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ९२२ र स्वतन्त्रले २ हजार २३६ मत प्राप्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको मत जोड्दा ३१ हजार २५९ हुन्छ । सो क्षेत्रमा नेकपा एमालेको मत १० हजार ६३८ मात्रै हुन्छ ।

नेकपा माओवादीमा लामो समय बिताएका र २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रवाट निर्वाचित भएका दीपेन्द्र पुन नै स्वतन्त्र उम्मेदवार भएकाले उनले माओवादीको केही मत पाउने सम्भावना छ । यति हुँदा गठबन्धनका उम्मेदवार अमरसिंह पुन, स्वतन्त्र उम्मेदवार दीपेन्द्र र एमालेका प्रेम घर्तीको त्रिपक्षीय प्रतिस्पर्धा हुने रोल्पाका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?