 
																			कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ चर्चित छन् । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए, उनी ।
सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको सायमी बताउँछन् ।
‘कलंकीमा पसल र बालाजुमा उसको सानो घर थियो’ सायमी भन्छन्, ‘सडक विस्तारको नाममा सरकारले बालाजुको घर पूरै भत्काइदियो । कलंकीमा पसल रहेको घर पनि आधा भत्काइएपछि गरिखाने मेलो सकिएछ । सामान्य गुजारा गरिरहेको व्यक्तिले त्यति धेरै खप्न नसक्ने रहेछ ।’
सायमीका अनुसार सरकारको त्यो सडक विस्तार अभियान बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र न्यायिक थिएन । त्यो देखेपछि आफू चुपचाप व्यवसाय गरेर बस्न नसकेको उनी बताउँछन् ।
सायमीले त्यसबेला सडक विस्तार पीडित संघर्ष समिति बनाएर त्यसको नेतृत्व गरेका थिए । त्यसक्रममा उनले आदिवासीको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरू अध्ययन गरे ।
‘नेपालको अदालतमा मुद्दा दिंदा विकल्प वा घरजग्गाको क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश भयो, तर सरकारले कार्यान्वयन गरेन’ उनी भन्छन्, ‘त्यसपछि अन्तर्राष्ट्रिय श्रम संगठनमा पनि उजुरी दिएर यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्यौं ।’
सायमी गत वैशाखको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । उनको चुनाव चिहृन आँखीझ्यालमा १३ हजार ७७० जना मतदाताले स्वस्तिकको ठप्पा लगाए ।
त्यो चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’मा स्वतन्त्रहरूलाई एकीकृत गर्ने प्रयास उनैले गरेका थिए । तर, निर्वाचन आयोगले अनन्तराज घिमिरेको हाम्रो नेपाल पार्टीलाई लौरो चुनाव चिहृन दिएको रहेछ । पार्टीको चुनाव चिहृन स्वतन्त्रको नाममा प्रचार गरेको उजुरी परेपछि निर्वाचन आयोगले त्यसलाई रोक्न निर्देशन दिएको सायमीले बताए ।
स्थानीय तह निर्वाचनमा लौरो चिहृनबाट काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङ विजयी भएपछि अनन्तराज घिमिरेले त्यो चिहृन कब्जा गरेका थिए । पछि उनले यो चुनाव चिहृन प्रयोग गर्न ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’लाई सहमति दिएका थिए ।
यसपटक त्यही लौरोबाट प्रतिनिधिसभा सदस्य बन्ने ताकमा छन् सायमी । उनका बुवा जीवनराज मानन्धर पुराना वामपन्थी नेता हुन् । कुनै समय कालीमाटीस्थित उनको घरमा मनमोहन अधिकारी, मदन भण्डारी, केपी शर्मा ओलीलगायत नेताहरूले सेल्टर लिन्थे ।
सुमन सायमीले काठमाडौं-८ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का वहालवाला संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र नेकपा (एमाले)का शिवसुन्दर राजवैद्यसँग प्रतिस्पर्धा गर्दैछन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं-८ का वडाअध्यक्षहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२ मत पाएका छन् ।
कांग्रेसको सबै मत एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले नपाउने र एमालेमा पनि विवाद रहेकाले आफूलाई फाइदा हुने सायमीको आशा छ । रैथानेको मत त स्वतः आफूले बढी पाउने हिसाबमा उनी छन् ।
कमेडियन अपूर्व क्षितिज सिंहलाई थुन्न सायमीको भूमिका रहेको आरोप छ । विवादित भिडियो डिलिट गरेर पटक-पटक माफी माग्दा समेत सिंहलाई लामो समय थुनिएकोमा नेवार समुदायकै पनि कतिपय युवाबाट विरोध भएको थियो । ठूलो जनाधार भएका स्थापित नेताहरूसँग चुनावी स्पर्धामा रहेका सायमीलाई यो पक्षको प्रतिकूलता पनि छ ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4