+
+

मतदाताको माया पाउँदा उत्साहित छु : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ७:४५

२९ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा (सुबोध)ले घरदैलोको क्रममा आम नागरिकको माया पाउँदा आफू उत्साहित भएको बताएका छन् ।

पलाँतीमा घरदैलोको क्रममा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा बास बसेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले आम नागरिकको मायाले थप उत्साहित भएको बताएका हुन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका सापकोटाले नेता–कार्यकर्ताहरुलाई व्यवस्थित परिचालन र गठबन्धनलाई अझ कसिलो बनाउन लागिपरेको पनि बताए ।

उनले नेता मोहन बस्नेतको अभिभावकत्वमा समग्र सिन्धुपाल्चोकको विकास र समृद्धिको काम गर्ने वाचा गरेका छन् ।

देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहेको बेला दुई दशकयता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय ४० वर्षीय सुबोधलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । उनी घर–घर पुगेर मत मागिरहेका छन् ।

स्थानीयले पनि स्वागत गर्दै जितेर गएपछि आफूहरुलाई नबिर्सिन आग्रह गरेको उनले बताए । ‘स्थानीयले भव्य स्वागत गरेर मलाई विजयको शुभकामना दिनुभएको छ,’ उनले भने, ‘जितेर गएपछि नबिर्सनुहोला भन्ने धेरैको आग्रह छ ।’ आफू निर्वाचित भएमा पाँच वर्ष पाँच मिनेट पनि विश्राम नगरी साझा प्रतिनिधिका रुपमा सेवक भएर काम गर्ने उनको संकल्प छ ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार सुबोधले निर्वाचन प्रचारका कोणसभा तथा बैठकहरुमा ‘जय नेपाल’ र ‘अभिवादन’को संयुक्त सम्बोधन गर्दै आएका छन् । साथै विपक्षी दल र उम्मेदवारलाई गाली नगर्ने उनको शैली छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार सापकोटाविरुद्ध नेकपा एमालेका सरेश नेपाल प्रतिस्पर्धामा छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ मा बलेफी, जुगल, सुनकोसी, भोटेकोसी, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रविसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० पर्दछन् ।

यस क्षेत्रमा पुरुष ६७ हजार ६३१ र महिला ६३ हजार ७८ गरी जम्मा १ लाख ३० हजार ७०९ मतदाता छन् ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेसको मत ३४ हजार ७६१ छ । नेकपा एमालेको २७ हजार ५९ र नेकपा माओवादी केन्द्रको १९ हजार ३३४ मत छ । एकीकृत समाजवादीले २ हजार ३११ मत पाउँदा राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?