+
+

सिन्धुपाल्चोक १ : सुबोध र सरेशलाई आफ्नै मत जोगाउने चुनौती

अश्मी स्याङ्तान कमला अश्मी स्याङ्तान कमला
२०७९ कात्तिक २८ गते १२:४५

२८ कात्तिक, चौतारा । सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यमा १४ जना उम्मेदवार मैदानमा छन् । चुनावी सभा, प्रचार प्रसार, घरदैलो तथा कार्यकर्ता भेटघाटमा देखिएको सक्रियता एवं कार्यकर्ता परिचालनलाई आधार मान्दा मुख्य प्रतिस्पर्धा भने लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध) र एमालेका उम्मेदवार सरेश नेपालबीच हुने देखिएको छ ।

रोचक के छ भने २०७४ को निर्वाचनमा सरेशलाई जिताउन चुनावी अभियानको नेतृत्व गरेका सुबोध यसपटक उनै सरेशविरुद्ध मैदानमा छन् ।

एमाले उम्मेदवार सरेश २०७४ सालको आम निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट वागमती प्रदेश सभा सदस्यमा विजयी भएका थिए । उनी बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री पनि बने । जिल्ला विकास समितिमा बसेर काम गरेको लामो अनुभवसमेत संगालेका सरेश एमालेका केन्द्रीय नेता हुन् । प्रदेशसभाको अनुभव बटुलिसकेका उनी यसपालि प्रतिधिनिसभातर्फ जित निकालेर संसद भवन छिर्ने प्रयासमा छन् । र, उनलाई रोकेर संसद बन्ने दौडमा सुबोध छन् ।

२०६४, २०७० र २०७४ सालका तीन वटै चुनावमा यो क्षेत्रबाट अग्निप्रसाद सापकोटा विजयी भएका थिए । यसपटक त्यही जितको निरन्तरता दिने चुनौती सुबोधलाई छ । युवा जोश, सरल स्वभाव, समन्वयकारी भूमिका भएको नेताको रुपमा उनी जिल्लामा परिचित छन् । चुनावी कार्यक्रमहरुमा बोल्दा वा मिडियामा अन्तर्वार्ता दिंदा प्रतिस्पर्धी दलप्रति छुद्र टिप्पणी नगर्ने उनको शैली छ । सुनकोसीको घरदैलोमा एमाले उम्मेदवार सरेशबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘बाको उमेरको हुनुहुन्छ, उहाँलाई मेरो सम्मान छ ।’

एमालेको बलियो र चलायमान संगठन, चुस्त परिचालन सरेशका बलियो पाटो हो । गाउँस्तरको राजनीतिबाट अघि बढेका उनी गाविस, जिविस हुँदै प्रदेश सभामा पुगिसकेका परिपक्क नेता हुन् । सिन्धुपाल्चोकमा एमालेभित्र चरम गुटको राजनीतिबाट आफूलाई जोगाउँदै र एकीकृत समाजवादीलाई जिल्लामा घेरा फराकिलो बनाउनबाट रोक्दै अघि बढेका उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । सरेशकै पहलमा माओवादीबाट चौतारा नगरपालिकाको मेयर जितेका अमानसिं तामाङलाई एमालेले पार्टी प्रवेश गराएको थियो ।

यस क्षेत्रबाट जित निकाल्न सरेशका लागि गठबन्धन नै मुख्य चुनौती हो । गठबन्धनबाट असन्तुष्टहरुको भोट तान्ने रणनीतिमा लागेका सरेश गठबन्धन कसिलो नबनोस् भन्ने पक्षमा छन् ।

 चुनौती

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा पहिलो स्थानमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथो स्थामा एकीकृत समाजवादी छन् । अहिलेको निर्वाचनमा पहिलो कांग्रेस, तेस्रो माओवादी र चौथो एकीकृत समाजवादीबीच गठबन्धन छ ।

क्षेत्र नं. १ का कांग्रेस नेता मोहन बहादुर बस्नेत क्षेत्र नं २ मा उम्मेदवार छन् । कांग्रेसमा मोहन बस्नेतको टिम बलियो छ । बस्नेतले आफ्ना विश्वासिला र आन्तरिक सर्कलमा २ नम्बरमा आफ्नो माहोल बनेको र जित निश्चित भएको बताएका छन् । क्षेत्र नं. १ मा सुबोध हारे आफ्नै कारणले हारेको भनिने भएकाले सांसद बन्दा समेत मन्त्री हुन नपाउने विष्लेशण सुनाउन थालेका छन् । त्यसो त बस्नेतले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पटक–पटक आह्वान गरे पनि सुबोधको नामै लिएर यसो भनेका छैनन् ।

आफ्नो क्षेत्रको प्रदेश सभा १ का माओवादी उम्मेदवार युवराज दुलाल (शरद)को बारेमा घण्टौं प्रशंसा गर्ने बस्नेतले सुबोधको नाम लिन किन अप्ठेरो मानेका छन् भन्ने आम प्रश्न सुबोधका लागि प्रमुख चुनौती हो ।

माओवादी पार्टीको सिन्धुपाल्चोक इन्चार्ज रहेका सुबोध मोहन बस्नेतका लागि भोट माग्न कात्तिक १२ गते मेलम्चीको कार्यक्रममा पुगेका थिए ।  कात्तिक १४ गते गृहनगर बाह्रविसेमा उसैगरी मोहन बस्नेत सुबोधका लागि भोट माग्न कार्यक्रममा सहभागी भए । तर बस्नेत अपेक्षाकृत खुलेनन् । यद्यपि सुबोधसँग सबै पालिकामा कांग्रेसका जिम्मेवार नेता कार्यकर्ता खुलेर हिंडिरहेका छन् । सहयोग एवं सत्कार गरिरहेका छन् ।

एमालेको चलायमान संगठनको अघि आफ्ना नेता कार्यकर्तालाई व्यवस्थित परिचालन गर्नु, माओवादीलाई भोट नहालेका कांग्रेस कार्यकर्तालाई भोट हाल्न लगाउने वातावरण बनाउनु र गठबन्धनको भोट एकठाउँमा जम्मा गर्ने काम सुबोधको मुख्य चुनौती हो ।

यस क्षेत्रबाट जित निकाल्न सरेशका लागि गठबन्धन नै मुख्य चुनौती हो । गठबन्धनबाट असन्तुष्टहरुको भोट तान्ने रणनीतिमा लागेका सरेश गठबन्धन कसिलो नबनोस् भन्ने पक्षमा छन् ।

सामाजिक सञ्जाल, भाषण, कोणसभा र सञ्चारमाध्यमहरुमा समेत प्रतिस्पर्धीलाई तिखो टिप्पणी गर्ने उनको स्वभाव, एजेण्डामा भन्दा गठबन्धन विरुद्धको प्रचारमा केन्द्रित एमाले पंक्तिको व्यवहार पनि सिन्धु १ का एमालेका लागि चुनौती हो । उमेरले छ दशक पार गरेका उनी गठबन्धनका साझा उम्मेदवार ४० वर्षका माधव सापकोटा सुबोधलाई युवा स्वीकार गर्दैनन् । बलेफीको कभर्ड हलमा भएको एक कार्यक्रममा उनले सुबोधलाई युवा हो भनेर भ्रममा नपर्न भन्दै भाषण गरेका थिए ।

सरेशलाई टिकटका आकांक्षी पार्टीका सिनियर नेता अरुण नेपालको पंक्तिलाई चलायमान बनाउनुपर्ने चुनौती त छँदैछ, दोब्बर हाराहारी मतान्तर रहेको लोकतान्त्रिक–वाम गठबन्धनलाई एकढिक्का हुनबाट रोक्नु पनि चुनौती छ ।

स्थानीय निर्वाचनको अंकगणित

सिन्धुपाल्चोक क्षेत्र नं १ मा बलेफी, जुगल, सुनकोसी, भोटेकोसी, त्रिपुरासुन्दरी गाउँपालिका, बाह्रविसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. २, ३, ४, ९ र १० वडा पर्दछन् ।

यस क्षेत्रमा पुरुष मतदाता ६७ हजार ६ सय ३१ र महिला ६३ हजार ७८ गरी जम्मा मतदाता संख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेसको मत ३४ हजार ७६१ छ । नेकपा एमालेको २७ हजार ५९ र नेकपा माओवादी केन्द्रको १९ हजार ३३४ मत छ । एकीकृत समाजवादीले २ हजार ३११ मत पाउँदा राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?