+
+
Shares

पत्रकारितासँगै फूल खेतीमा रमाउँदै निराजन

सुवास पण्डित सुवास पण्डित
२०८२ कात्तिक ५ गते ८:४८

३, कार्तिक, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ घर भएका पत्रकार निराजन घिमिरेलाई यतिबेला सत्रपत्रीको फूलको माला र फूल बेच्न भ्याइनभ्याई छ ।

यसपटक तिहारमा सयपत्री फूलको माग निकै उच्च रहेकोले उनले उत्पादन गरेको फूल घरबाट नै बेचिरहेका छन् ।

पत्रकारले पत्रकारिता बाहेक अन्य काम गर्न हुँदैन भन्ने कतिपय बुझाइहरू रहेका ब्यक्तिहरू भन्दा फरक सोच राख्छन्, निराजन । आफ्नै ५ कठ्ठा जमिनमा सयपत्री फूल लगाएका घिमिरेलाई बुवा, आमा, श्रीमती र छोराहरूले फूलखेतीमा सहयोग पनि गर्छन् ।

यतिबेला उनको घरमा माला बनाउने ज्यालादारी काम गर्ने महिलाहरू पनि छन् । घिमिरेले सयपत्री फूल खेती गर्न थालेको ५ बर्ष भयो । उनले हरेक बर्ष तिहारमा फूल उत्पादन गरेर बेच्ने गरेका छन् ।

त्यसो त, १२ महिना उनको सयपत्री फूल हुन्छ । उज्यालो नेपाल न्यूज नामक अनलाइनमा उनी काम गर्छन् ।

अघिल्लो वर्ष तिहारमा फूल बेच्न केही समस्या भए पनि यसपटक भने हारालुछ भएको घिमिरेले बताए । उनले घरबाट नै सयपत्री फूलको माला प्रति गोटा १२० रुपैयाँमा र फूल ४ सय रुपैयाँ प्रति किलो बेचिरहेका छन् ।

धेरै ठाँउबाट फूल र मालाको माग गरेको भए पनि आफूसँग भएको उत्पादनले माग धान्न नसकेको उनले सुनाए । अघिल्लो वर्ष भन्दा यसपटक तिहार चाँडो आउनु, धेरै जसोको घर आँगन र बारीमा भएको सयपत्री फूल ढिला फुल्ने हुँदा माग अधिक भएको उनको बुझाइ छ ।

उनले तिहार लागेपछि मात्रै २ क्विन्टल भन्दा बढि फूल बेचिसकेका छन् । अझै डेढ क्विन्टल जति फूल बेच्ने तयारीमा छन् ।

‘अहिले माग बढी छ, भारतबाट पनि फूल आउन कडाइ गरिएको छ, उत्पादन गर्ने किसान गत बर्ष भन्दा कम भएकोले पनि भाउ आएको छ,’ पत्रकार घिमिरेले भने, ‘सयपत्री फूलको उत्पादनको लागि लगाउने टाइमिङ मिलाउनुपर्ने भएकोले धेरै जना गत वर्ष भाउ नआएकोले यस बर्ष निराश भएर नरोप्दा अरुलाई फाइदा भयो ।’

बजारमा फूलको माग बढी हुने तर उत्पादन कम हुँदा किसानलाई केही फाइदा भए पनि विचौलियाले झनै बढी फाइदा लिएको घिमिरेले बताए । यसको सिधा मार उपभोक्तालाई पर्न गएको उनले बताए ।  ‘किसानबाट ४५ रुपैयाँमा माला किनेर २ सय रूपैयासम्म विचौलियाहरूले बेचेका छन् भन्ने सुनेको छु’ पत्रकार घिमिरेले भने, ‘न किसानलाई भने जस्तो फाइदा भयो, न उपभोक्तालाई नै ।’

उनले सयपत्री फूल तिहारको पात्रो हेरेर रोप्न सक्नुपर्ने बताउँछन् । उनले साउनको २२ गतेसम्म बिरुवा रोपेर सकेको बताए । पश्चिम चितवनको दिब्यनगरबाट ५ हजार विरुवा प्रति गोटा ४ रुपैयाँका दरले किनेर सयपत्री रोपे ।

२२ दिनदेखि १ महिनासम्मको बिरुवा रोप्ने गरिन्छ । चाँडै फूल उत्पादन गर्नुपर्ने भएमा रोपेको १५ दिन भित्र नै मुन्टो चँुडिदिने र ढिला उत्पादन गर्ने भए २५ दिनसम्म मुन्टो चुँड्ने गरिन्छ । यसरी मुन्टो चुँड्दा हाँगा फैलिने र फुल्ने गर्दछ । रोपेको १५ दिन २५ दिन मुन्टा चिमोट्ने गरिन्छ । एक साता मात्रै समय तल माथि हुने गए भनेको दिनमा सयपत्री फूल उत्पादन भए पनि बजारीकरणमा समस्या हुने उनले बताए ।

सयपत्रीका दुई जात टेनिस बल र कलकत्ते दुईथरी चलन चल्तीमा छन् । ति मध्ये टेनिसबल बढि टिकाउ हुने (६ दिनसम्म राख्न सकिने) हुँदा धेरैले यहीँ जात लगाउने गरेको घिमिरले सुनाए ।

अहिलेसम्म उनको सयपत्री फूल उत्पादन लागत ५० हजार पुगेको छ । असोजको अन्तिम सातातिर परेको पानीले अझै उत्पादन घटाएकोले सोचे जस्तो उत्पादन लिन किसानलाई समस्या परेको उनले बताए । घिमिरेले सयपत्री फूल लगाउने बारीमा नै १ सय बोट सुन कागतीका बिरुवा पनि रोपेका छन् । ३ बर्ष अगाडि रोपेका कागतीको बोटको बीच बीच भागमा अन्तरबालीका रूपमा सयपत्री फूल लगाएका हुन् ।

पत्रकारिता पेशा गरेर भए पनि कृषि उत्पादनमा जोड्नि सकिन्छ भन्ने सन्देश दिनका लागि आफू निरन्तरमा फूल खेतीमा लागेको उनले बताए । घिमिरेकी श्रीमती सन्तोषी पौडेल पनि पत्रकारिता क्षेत्रमा नै क्रियाशील छन् ।

‘हामी दुवै जना पत्रकारितामा पनि सँगसँगै गरिरहेका छौं, कृषि कर्ममा पनि छौं, सयपत्री फूल उत्पादनलाई खासै समय दिनु पदैन, बिरुवा ल्याउने, माटो बनाउने, रोप्ने, बेलाबखत रोग किराको ख्याल गर्ने बाहेक खासै मेहनत गर्नुपर्दैन’ पत्रकार घिमिरले भने, ‘पत्रकारिता बाहेक पनि केही काम गर्न सकिन्छ भनेर म यता लागेको हो, मैले रिर्पोटिङका क्रममा नै सयपत्री फूलखेती र कागती खेतीका बारेमा बुझेकोले लगाएको हुँ ।’

सयपत्री १२ महिना उत्पादन गर्न सकिने भए पनि अन्य बेलामा उत्पादन कम र बजारको पनि अभाव हुने समस्या हुने गरेको घिमिरेले बताए । पुस माघ महिना बाहेक अधिकांश महिनामा सयपत्रीको उत्पादन हुने उनले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?