+
+

एक्जिट पोलको सन्देश : मतदाताले बजाए आक्रोशको घण्टी

रवि लामिछाने नेतृत्वमा भर्खरै खुलेको यो दलले भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ जनलहर आकर्षित छ । अनि यसभन्दा अघि संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरु चरम निराश र आक्रोशित भएको उनीहरुका जवाफले बताउँछ ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ मंसिर ४ गते २३:०५

एउटा शान्त लहर उठेर आएको छ ‘घण्टी’ को पक्षमा । गणतन्त्र स्थापनापछिको तेस्रो, अनि नयाँ संविधान जारी भएपछिको दोस्रो आम चुनावले परम्परागत संसदीय शक्तिहरुमा अक्षुण्ण रहेको मतभार अन्यत्र सर्दै गएको देखाएको छ ।

अनलाइनखबर डटकमले काठमाडौं उपत्यकाका केही र उपत्यकाबाहिरका केही क्षेत्रमा गरेको एक्जिट पोल तथा विशेष स्थलगत रिपोर्टिङमा नागरिकले व्यक्त गरेको भावनाले यसको प्रष्ट संकेत गरेको छ ।

विगतमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा भोट हाल्दै आएका मतदातामध्ये थुप्रैले यसपल्ट नयाँ पार्टी र उम्मेदवारतर्फ झुकाव देखाएका छन् । तीमध्ये कतिपयले स्वतन्त्र उम्मेदवारहरुलाई समेत अनुमोदन गरेका छन् । सम्भवतः अन्तिम परिणाम आइसक्दा नतिजाको ठूलो हिस्सा कांग्रेस र एमालेकै पोल्टामा हुन सक्ला । तर समानुपातिक प्रणालीतर्फ खसेका मतहरुको समेत सुरुवाती रुझान अध्ययन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो प्रभाव पार्ने प्रष्ट देखिन्छ ।
विगतमा कांग्रेस, एमाले र माओवादीलाई भोट हालेका थुप्रै मतदाताले यसपल्ट रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लाई अनुमोदन गरेका छन् । तुलनात्मक रुपमा एमालेले संगठित मतलाई संरक्षण गर्न सकेको देखिन्छ । तर उसको मत पनि विगतको भन्दा बाँडिएको हाम्रा तथ्यांकहरुले प्रष्टै देखाउँछन् ।

रवि लामिछाने नेतृत्वमा भर्खरै खुलेको यो दलले भ्रष्टाचारमुक्त समाज बनाउने, सुशासन र विकास दिने भनी गरेका वाचातर्फ जनलहर आकर्षित छ । अनि यसभन्दा अघि संसदमा ठूलो हैसियतमा रहेका एमाले, कांग्रेस, माओवादीप्रति नागरिकहरु चरम निराश र आक्रोशित भएको उनीहरुका जवाफले बताउँछ ।

ठूला तीन दलले एकलाई अर्कोको विकल्प भनी अहिलेसम्म अथ्र्याउँदै आएकोमा प्रारम्भिक मत संकेतले हरेक विकल्पको पनि विकल्प छ भन्ने सन्देश दिएको छ ।

विगतका चुनावभन्दा मतदाता अझै चलायमान देखिएका छन् । आ–आफ्ना चुनाव चिह्नलाई दलहरुले पवित्र आस्थाको अभिव्यक्तिका रुपमा प्रचार गर्दै आए पनि मतदाताले यस्तो तर्क मान्न छाडेको देखिन्छ । कतिपयले यसलाई राजनीतिक अस्थिरता र अराजनीतिक सोचसँग जोडेर व्याख्या गरे पनि त्यो आम नागरिकको न्यूनतम चेतनामाथिको अविश्वास ठहर्नेछ ।

काठमाडौं–४ मा पनि मण्डिखाटारस्थित काष्ठमण्डप स्कुल मतदान केन्द्रमा हामीसँग कुरा गर्दै एक स्थानीय महिलाले भनिन्, ‘प्रत्यक्षमा घण्टीका उम्मेदवार थिएनन्, त्यसैले मैले पहिलेकै पार्टीहरुबाट एउटा छानें । समानुपातिकमा चाहिँ घण्टीलाई भोट दिएँ ।’

काठमाडौं-४ कै गणेशस्थान चाबहिलस्थित मतदान केन्द्रमा भेटिएका एक पूर्वकर्मचारीले भने, ‘वर्षौंदेखि एउटै चिह्नमा हाल्ने बानी परेकालाई अर्को चिह्न खोजेर भोट हाल्न हात सर्दो रहेनछ, तर मैले नयाँ चिह्नमै हालें ।’ उनले आफ्नो समानुपातिक भोट घण्टीमा गएको हामीसँग बताए । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेस नेता गगन थापा, एमालेबाट राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा छ । अनलाइनखबरको एक्जिट पोल अनुसार कांग्रेस उम्मेदवार थापाले जित्ने निश्चित छ । यसबारे हामीले छुट्टै रिपोर्ट प्रकाशित गरिसकेका छौं ।

यसअघि ०७४ को चुनावमा ठूला तीन दलमध्ये दुई दल एमाले र माओवादी वाम गठबन्धन बनाएर सँगै चुनावमा गएका थिए । सोही वाम गठबन्धनले ल्याएको लहर अघिल्तिर कांग्रेस प्रत्यक्षतर्फ देशभरिमा तेस्रो बन्न पुगेको थियो ।यसपल्ट कांग्रेस र माओवादी मिल्दा भने मतदातामा सोही किसिमको अनुमोदन गर्ने प्रवृत्ति देखिएको छैन । किनभने ०६४ सालको पहिलो संविधानसभा चुनावयता क्रमशः माओवादी, कांग्रेस र एमालेलाई पालैपालो पहिलो ठूलो दल बनाएका मतदाताले यसपल्ट नयाँ शक्तिका रुपमा रास्वपाका उम्मेदवारलाई भोट हालेका प्रारम्भिक संकेतहरु छन् । संसदीय सिटमा जित निकाल्ने किसिमले मतगणनाको अन्तिमसम्म नतिजा के हुन्छ भन्न सकिँदैन, तर घण्टी चिह्नमा भोट हाल्नेहरुको संख्या निकै ठूलो मात्रामा छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीलगायत अरु दलहरुप्रतिको रुझान निकै कम संख्यामा देखिएको छ ।

सम्भवतः एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादी बनाएका माधव नेपालकै ‘राष्ट्रिय हैसियत’ खुम्चिन पनि सक्छ । अनि माओवादी अध्यक्ष प्रचण्डले दाबी गर्दै गरेको ‘निर्णायक तेस्रो’ हैसियतमाथि प्रश्न उठ्ने पर्याप्त ठाउँहरु ‘घण्टी’ बाहकहरुले राखिदिएका छन् ।

एक्जिट पोल लगायत देशभरि हामीले गरेका प्रारम्भिक सर्वेक्षणको रुझान हेर्दा चालु सत्ता गठबन्धनकै राजनीतिक औचित्यबारे आगामी दिनमा थप प्रश्नहरु उठ्न सक्नेछन् । विगतमा माओवादी र एमाले मिलेर वाम गठबन्धन बनाएको, अझ पार्टी एकता नै गरेको भए पनि प्रष्ट बहुमतको सरकार टिकाउन नसकेको, उल्टै देशलाई राजनीतिक अस्थिरताको शिकार बनाएको घटनाबाट मतदाताहरु वाक्क भएको देखिन्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको चारदलीय गठबन्धनमा भोट ट्रान्सफर हुन नसकेका दृष्टान्त समेत हामीले एक्जिट पोल सर्वेक्षणका क्रममा देख्न पायौं । माओवादी र एकीकृत समाजवादीमा भोट हाल्नेहरुले कांग्रेसको सिट भएका क्षेत्रमा भोट खसालेको, तर कम्युनिस्ट पार्टीका उम्मेदवारलाई कांग्रेस समर्थकले भोट नहालेको हाम्रो सर्वेक्षणका क्रममा प्रष्ट देखिएको छ । यसबारे एकैछिनमा फेरि चर्चा गरिनेछ ।

हामीले ग्लोबल इन्स्टिच्युट अफ् इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) सँग मिलेर एक्जिट पोल गरेका थियौं । एक्जिट पोलको विधिबारे यसअघिका रिपोर्टहरुमा उल्लेख भइसकेको छ ।

एक्जिट पोलका पाँच सन्देश

यस एक्जिट पोलका पाँच सन्देश स्पष्ट छन् ।

पहिलो– यसले आगामी प्रतिनिधिसभा कस्तो बन्नेछ भन्नेबारे पर्याप्त उत्सुकता जगाइदिने छ । दलहरुले चुनावअगाडि अनुमान गरेभन्दा भिन्न किसिमको संसद बन्ने प्रष्ट छ ।

जस्तो कि, चितवन २ बाट विगतमा जित्दै आएका एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई फराकिलो अन्तरले पछि पार्दै रास्वपाका सभापति रवि लामिछाने जित्ने स्पष्ट आँकडा छ । धेरै मतदातालाई स्थापित दलहरुप्रतिको वितृष्णा, अनि विकल्पको थोरै भए पनि अपेक्षाले रवि लामिछानेतर्फ डोर्‍याएको देखिन्छ ।

चुनावको मुखमा रास्वपाले रातारात रणनीति बनाउनुपरेकाले यो दलले पर्याप्त तयारी गर्न पाएन । नत्र प्रत्यक्षतर्फकै समग्र अवस्था उनीहरु स्वयंले कोशिस गरेभन्दा झन् फरक हुनेरहेछ भन्ने आकलन गर्न सकिन्छ ।

दोस्रो– भोट स्थानान्तरण सत्ता गठबन्धनले सोचेजस्तो गरी भएन । सत्ता गठबन्धनभित्रका दलहरुले सोचेझैं मतदाताहरु भोट स्थानान्तरण गर्न तयार देखिएका छैनन् । ललितपुर–३ यसको सबैभन्दा ठूलो उदाहरण हो ।

अनलाइनखबरले गरेको एक्जिट पोलमा धेरै मतदाताले विगतमा भोट हाल्दै आएको चिह्नमा यसपल्ट भोट नहालेको भनेका छन् । यसको अर्थ विगतमा रुखमा भोट हाल्नेले यसपल्ट त्यहाँकी उम्मेदवार पम्फा भुसालको चिह्न गोलाकारभित्रको हसिया हथौडामा भोट हाले भन्ने लाग्दैन ।

बरु विगतमा रुख, सूर्यलगायत चिह्नमा भोट हाल्नेले यसपल्ट विकल्पमा ‘घण्टी’ रोजेको देखिन्छ । यसपालि समेत समानुपातिकमा रुखमा भोट हाल्ने धेरै मतदाताले यसपल्ट प्रत्यक्षमा सत्ता गठबन्धनकी उम्मेदवार भुसाललाई भोट नहालेर रास्वपाकी तोसिमा कार्कीलाई भोट हालेको हाम्रो एक्जिट पोल सर्वेले देखाउँछ ।

कांग्रेसका उम्मेदवार गगन थापा उठेको काठमाडौं–४ मा हामीले भेटेकामध्ये केही माओवादी मतदाताले रुखमा भोट हालेको बताए । तर माओवादी उम्मेदवार पम्फा भूसाल उठेको ललितपुुर–३ मा कांग्रेसलाई विगतमा साथ दिँदै आएका मतदाताले घन्टी अनुमोदन गरेको देखिन्छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले सत्ता गठबन्धन बनाएर प्रतिपक्षी एमालेलाई चक्मा दिने योजना बनाए पनि किन सोअनुरुप मत स्थानान्तरण भएको देखिँदैन त ? यो प्रश्न हामीले सोध्यौं, जीआईआईएसका प्रमुख कार्यकारी उत्तमबाबु श्रेष्ठलाई ।

श्रेष्ठले गठबन्धनभित्रैको दल माओवादी केन्द्रले आफ्ना उम्मेदवारका लागि गठबन्धनको मुख्य घटक कांग्रेससहितको दलको मत साटफेर गरी आफूतर्फ ल्याउन नसकेको विश्लेषण गरे ।

अनलाइनखबरको एक्जिट पोल तथ्यांक विश्लेषण गर्दै उनले थपे, ‘माओवादी तर्फका उम्मेदवारले पाउने ठानेको कांग्रेससमर्थकको ठूलो भोट विभिन्न उम्मेदवारलाई बाँडिएको देखिन्छ । ललितपुर–३ मा त अघिल्लो चुनावमा कांग्रेसलाई भोट हाल्ने ५० प्रतिशभन्दा बढीले घण्टीमा भोट हालेको तथ्यांकमा देखियो ।’

तेस्रो–एमाले तुलनात्मक रुपमा सुरक्षित छ । विगतका परम्परागत मतदातालाई यसले समेट्न सकेको देखिन्छ । यति हुँदाहुँदै पनि जसपा, राप्रपा, राप्रपा नेपाल, कांग्रेस बीपी र स्वतन्त्र (चितवन ३) का स्थानीय तालमेललाई छाडेर समग्रमा एक्लै लडेको एमालेको परम्परागत भोटलाई प्रारम्भिक मतसंकेतले केही क्षति पुर्‍याएको छ ।

युवा उद्यमीहरुसँग छलफलदेखि एलओडी पुगेर अध्यक्ष केपी ओलीले र्‍याप चुनावी गीत सार्वजनिक गर्नेजस्ता शहरी तन्नेरी तान्ने प्रयास गरे पनि त्यसले काम गरेको देखिँदैन । किनभने हाम्रो सर्वेक्षणले देखायो– एमालेले ५५ वर्षभन्दा माथिका मतदाताको उल्लेख्य भोट पाउँदै गर्दा २० वर्षदेखि ३५ वर्ष समूहमा यो दलप्रतिको आकर्षण खासै देखिँदैन । ललितपुर–३ र काठमाडौं–५ को मतरुझान हेर्दा यस्तो विश्लेषण गर्न सकिन्छ ।

काठमाडौं–४ र ललितपुर–३ मा प्रत्यक्षतर्फ सूर्यमा भोट हालेकाहरुले समानुपातिकतर्फ घण्टी चिह्नमा भोट हालेको हामीले पाएका छौं । एमाले तुलनात्मक सुरक्षित हुनुको एउटा कारण चाहिँ, गठबन्धन नबनाउनेबित्तिकै समर्थकहरु विकल्पविहीन हुन पुगेको अवस्थासमेत हो ।

चौथो– माओवादीको घट्दो मत । चितवन छाडेर गोरखा जाने चनाखोपन प्रचण्ड स्वयंको हो या कसैले उनलाई सिकायो, उनै जानुन् । तर उनले चितवन छाड्ने निर्णय उनको हितका लागि अनुकुल देखिन्छ । किनभने सर्वेक्षणले देखाइरहेको छ : माओवादी समर्थकको संख्या पहिलेभन्दा झन् घट्दो क्रममा छ । अघिल्लो चुनावमा प्रचण्ड लडेको चितवनमा माओवादी तर्फका थुप्रै मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको देखिन्छ । यद्यपि उनी विगतमा लडेको चितवन–३ कै समग्र विवरण भने हेर्न बाँकी छ ।

माओवादीभित्र तुलनात्मक रुपमा कम विवादित मानिएकी र मन्त्रिपरिषद्मा जाँदा औसतभन्दा राम्रो कार्यक्षमता प्रदर्शन गरेर पनि पम्फा भुसालले मतदाताहरुलाई आश्वस्त बनाउन सकेकी छैनन् भन्ने हाम्रो एक्जिट पोलले देखाउँछ । अब गणतन्त्र र क्रान्तिकारी परिवर्तनका लागि शहादत दिएको, जेल गएको विगतको विरासत भजाएर राजनीति टिकाउन कठिन छ, नागरिक डेलिभरी चाहन्छन् भन्ने सन्देश स्पष्ट आएको छ, एक्जिट पोलमा ।

पाँचौं– मधेसमा मधेसकेन्द्रित पुराना शक्तिको गिर्दो आधार । अनलाइनखबर टिमले पहिलो मधेस आन्दोलनयता मधेस राजनीतिमा मुख्य रुपमा प्रभावी रहँदै आएका जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र सप्तरी २ मा मतदाताहरुको मन बुझ्ने प्रयास गर्‍यो । यादवविरुद्ध उठेका जनमत पार्टी अध्यक्ष सीके राउतले आफ्नो प्रभाव प्रष्ट देखिने गरी स्थापित गरेका छन् । हामीले सप्तरी २ मा एक्जिट पोल गरेका छैनौं, तर खुकुलो आयतनमा ठाउँ–ठाउँबाट टिपेका सूचनाहरुले सीके राउतको पल्ला बढ्ता देखिएको बताउँछन् । स्थानीय संवाददाता र नागरिक समुदायका प्रतिनिधिहरुसँग हामीले गरेको छलफलका आधारमा भन्न सकिन्छ, मधेसमा यसपल्ट विगतभन्दा भिन्न किसिमको परिदृश्य देखिन सक्छ ।

एक्जिट पोलको थप विश्लेषण तथा मतगणनाको विषयगत अध्ययन लिएर हामी तपाईंहरुसमक्ष आउने नै छौं । कृपया अनलाइनखबर पढ्दै गर्नुहोला ।

एक्जिट पोलको अध्ययन, तथ्यांक प्रशोधन तथा विश्लेषणमा हामीलाई सघाउने जीआईआईएसका प्रमुख कार्यकारी उत्तमबाबु श्रेष्ठसँगको कुराकानी हेर्नुहोस्

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?