+
+
समानुपातिकको मतगणना अन्तिमतिर :

ठूला दल खुम्चिए, नयाँ उदाए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते २०:५७

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमाले र नेपाली कांग्रेस नै ठूला दल बन्ने भएका छन् । यद्यपि नयाँ दलहरुको उदयसँगै दुबै दलको मत अघिल्लो पटक (२०७४) भन्दा घटेको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु नै भएको छैन । उदयपुर–१, सुनसरीको ३ र ४ को मात्रै समानुपातिकतर्फ मतगणना चलिरहेको छ भने बाँकी जिल्लाको गणना टुंगिएको छ ।

यो समाचार तयार पार्दासम्म गणना भएकामध्ये ९८ लाख ६८ हजार ५१८ मत सदर छ र, जनमत पार्टीसहित ७ दलले ३ प्रतिशत मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

सबभन्दा धेरै मत एमालेले ल्याएको छ । उसले २६ लाख ८६ हजार ९२० अर्थात २७ प्रतिशत मत पाएको छ । दोस्रो धेरै मत कांग्रेसले ल्याएको छ । कांग्रेसले २५ लाख ३९ हजार ४६७ मत पाएको छ, जुन कुल सदर मतको साढे २५ प्रतिशत छ ।

यद्यपि दुबै दलको मत अघिल्लो पटकभन्दा घटेको छ । २०७४ मा एमालेले ३३.२४ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३२.७७ मत पाएको थियो ।

यो चुनावमा नयाँ दलहरुको उदय र राप्रपाको मत विस्तारका ठूला दलहरुको मत घटेको छ । कांग्रेस र एमालेले ६ प्रतिशत हारहारी मत गुमाएका छन् ।

माओवादी केन्द्रले पनि समानुपातिक मत गुमाएको छ, तर कांग्रेस र एमालेले भन्दा केही कम । २०७४ मा समानुपातिकतर्फ १३.६५ प्रतिशत मत पाएको माओवादीले यो पटक ११.४७ प्रतिशत (११ लाख ४२ हजार ७४२) मत पाएको छ ।

प्रमुख दलहरुको घटेको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले पाएको देखिन्छ । केही महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले करिव साढे ११ प्रतिशत मत पाएको छ । यो माओवादी केन्द्रले पाएकै हारहारी मत हो । सुरुवाती रुझानमा माओवादी केन्द्रलाई जितेको रास्वपाले गणनाको अन्तिम चरणमा पुग्दा १० लाख ९६ हजार ९८७ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उल्लेख्य मत बृद्धि गरेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले ५ लाख ६८ हजार ४३० मत पाएको छ । यो कुल सदर मतको ५.७ प्रतिशत हो र, प्रतिनिधिसभामा समानुपातिकमा मात्रै ७ सिट पाउने निश्चितजस्तै छ । जबकी २०७४ मा राप्रपाले २ प्रतिशत मत ल्याएको थियो ।

जसपा र जनमत पार्टी पनि थ्रेस होल्ड कटाएको छ । अघिल्लोपटक राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी गरेर दुई मधेशवादी दलले करिव साढे ९ प्रतिशत मत पाएका थिए । दुबै दल मिलेर जनता समाजवादी पार्टी बन्यो, अहिले फुटेर जसपा र लोसपा बनेका छन् । जसपाले थ्रेस होल्ड कटाएको छ । उसले ३ लाख ८७ हजार १७० मत पाएको छ । तर लोसपाले थ्रेस होल्ड कटाउन सकेन ।

सीके राउत जेतृत्वको जनमत पार्टीले भने ३ लाख ४५ हजार ४१० मत पाएको छ, थ्रेस होल्ड कटाएको छ । दुबै दलले क्रमशः ५ र ४ सिट पाउने देखिन्छ ।

एमालेबाट फुटेर बनेको एकिकृत समाजवादी ३ प्रतिशत थ्रेसहोल्ड कटाउन प्रयासरत देखिन्छ । अब गणना हुन बाँकी मतमा करिव २५ हजार थप्न सके यो दलको पनि थ्रेस होल्ड कट्नेछ, नभए समानुपातिकमा सिट पाउने छैन । यो चुनावमा उदाएको नयाँ दल नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ६५२ मत पाएपनि थ्रेस होल्ड कटाउने छैन । अघिल्लो चुनावमा २.२२ प्रतिशत मत पाएको विवेकशील साझाले यो पटक करिव ४ हजार मतमात्रै पाएको छ ।

तालिका 

दलको नाम २०७९ २०७४
मत प्रतिशत मत प्रतिशत
नेकपा एमाले २६८१७७७ २६.९४ ३१७३४९४ ३३.२४
नेपाली कांग्रेस २५३३७३७ २५.४५ ३१२८३८९ ३२.७७
माओवादी केन्द्र ११४२३९७ ११.४७ १३०३७२१ १३.६५
राष्ट्रिय स्वतन्त्र पार्टी १०९६२७९ ११.०१ ================== ==================
राप्रपा ५६७४४४ ५.७ ================== ==================
जनता समाजवादी पार्टी ३८६२१८ ३.८८ ================== ==================
जनमत पार्टी ३४४४०६ ३.४६ ================== ==================
राष्ट्रिय जनता पार्टी ================== ================== ४७२२५४ ४.४९
संघीय समाजवादी फोरम नेपाल ================== ================== ४७०२०१ ४.९२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?