+
+

बाइक दुर्घटनामा गुम्यो स्मरण, पत्नीलाई ठान्न थाले गर्लफ्रेण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ११:३६

काठमाडौं । भयानक सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भए । अस्पतालमा सघन उपचारपछि उनको शरीरको घाउ त निको भयो तर उनको स्मरणशक्ति चाहिँ हरायो ।

जब उनको होस आयो, त्यसबेलासम्म उनले आफ्नो जीवनको लामो कालखण्ड भुलिसकेका थिए । करीब २९ वर्षका सबै घटनाक्रमहरु उनले बिर्सिए । आफ्नै छोरीहरुलाई उनले चिन्न सकेनन् । पत्नीलाई पनि उनले गर्लफ्रेण्ड ठान्न थाले ।

त्यस्तो संकटको घडीमा आफैं घाइते भएकी उनकी पत्नीले हिम्मत हारिनन् र पतिलाई साथ दिइन् । पतिलाई पूर्णरुपमा निको गराएपछि मात्र उनले ढुक्कको स्वास फेरिन् ।

हालै एक अन्तरवार्ताका क्रममा अमेरिकाको भर्जिनियामा बस्ने उक्त जोडीले त्यस घटनाका बारेमा बताएका छन् । पत्नी क्रिस्टीले आफ्ना पति एन्ड्रयू म्याकेन्जी मोटरसाइकल दुर्घटनामा परेपछि सिर्जना भएको अवस्थाले आफूहरुबीचको सम्बन्ध झनै कसिलो बनेका बताएकी छन् ।

उनीहरुको बिहे भएको ३७ वर्ष भैसकेको छ । ५८ सालका एन्ड्रयूको गत वर्ष जून महिनामा बाइक दुर्घटना भएको थियो । उनले बाइक चलाइरहेको बेलामा पत्नी क्रिस्टी बाइकको पछाडि बसिरहेकी थिइन् । दुर्घटनामा एन्ड्रयू गम्भीर घाइते भए । उनका हड्डी भाँचिनुका साथै आन्तरिक रक्तस्राव र फोक्सोमा चोट पनि लागेको थियो ।

एन्ड्रयूलाई अस्पतालमा ३ दिनपछि मात्र होस आएको थियो । होसमा आउँदा उनले आफ्नो जीवनको २९ वर्षका घटनाहरु सबै बिर्सिएका थिए । उनलाई आफू अहिले सन् १९९३ मा रहेको जस्तो भान भयो । होसमा आउँदा उनले आफ्ना छोरीहरु लोरेलाई र अमान्डालाई समेत चिनेनन् । पत्नीलाई उनले गर्लफ्रेण्ड भन्न थाले । अर्थात् उनले क्रिस्टीसँग बिहे गरेको बिर्सिसकेका थिए ।

तर अस्पतालमा सघन पुनर्स्थापना उपचार पश्चात् अन्ततः उनको गुमेको स्मरण फिर्ता आयो । गत अगष्ट महिनामा उनी अस्पतालबाट डिस्चार्ज भए । उक्त दुर्घटना र त्यसपछिको समय आफ्नो जीवनमा निकै खराब सपना जस्तै रहेको क्रिस्टी बताउँछिन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?