+
+

काठमाडौंमै गाई र भैंसीपालनबाट मासिक १० लाख आम्दानी

रासस रासस
२०७९ मंसिर १४ गते ११:१७
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका-७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक रु १० लाख आम्दानी गर्दै आएका हुन् ।

पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएका छन् । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुवात गरेका हुन् ।

अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् ।

२०७२सालदेखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै हुन् । ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछाने भन्छन् ।

उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पुर्‍याउने गरेको उनले सुनाए ।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् ।

दूध बिक्रीबाट मासिक रु ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १० लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैँसीको मलसमेत उनले बिक्री गर्छन् ।

लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक-७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् ।

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?