+
+

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १९:१७
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

नेकपा एमालेले स्याङ्जा २ का केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना सुरु गर्न दिएको थिएन । तर नेपाली कांग्रेसले मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना दिएको थियो ।

स्याङ्जा–२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका उम्मेदवारसमेत रहेका पार्टी उपसभापति धनराज गुरुङ, नेताहरु रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका थिए ।

यो क्षेत्रमा कांग्रेस उपसभापति गुरुङ र एमालेकी सचिव पद्‍मा अर्याल प्रतिस्पर्धामा छन् ।

बाजुराका पनि केही मतदान केन्द्रमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । बुढीनन्दा नगरपालिकाका केही केन्द्रमा पुनः मतदान भइसक्दा पनि अन्य केन्द्रका विषयमा दलहरुबीच विवाद हुँदा मतगणना सुरु हुन सकेको थिएन ।

बाजुरामा नेकपा एमालेका उम्‍मेदवार कर्ण थापा र नेपाली कांग्रेसका उम्‍मेदवार बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

मतदानमा भएको स्याङ्जा–२, बाजुरा र दोलखामा विवादका कारण मतगणना प्रक्रिया अवरुद्ध थियो । यी ठाउँमा अध्ययन गर्न आयोगले सहसचिवहरु तुलसीप्रसाद श्रेष्ठ, फणिन्द्र गौतम र यज्ञप्रसाद भट्टराईको नेतृत्वमा छुट्टाछुट्टै टोली पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?