१५ असोज, काठमाडौं । निर्वाचन आयोगले कांग्रेसको देउवा समूहले महाधिवेशन गर्न लागेको भन्दै पठाएको पत्रलाई अभिलेखमा राखेको छ ।
देउवा समूहका तर्फबाट शेरबहादुर देउवाले हिजो आजबाट सुरु हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिकासहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, दलका गतिविधिसँग सम्बन्धित कुनै पनि पत्रहरू आएको खण्डमा आयोगले प्रशासनिक रुपमा त्यसलाई दर्ता गर्ने गर्छ ।
त्यही प्रक्रिया अन्तर्गत देउवा समूहले गर्न लागेको महाधिवेशनसम्बन्धी पत्र पनि आयोगले दर्ता गरेको हो ।
‘निर्वाचन आयोगको काम दलसम्बन्धी विषयहरू हेर्ने हो । त्यसैले कसैले पत्र पठाए भने प्रशासनिक रुपमा दर्ता हुन्छ, त्यसै अन्तर्गत यो पत्र पनि अभिलेखमा राखिएको हो,’ घिमिरेले अनलाइनखबरसँग भने ।
उनका अनुसार, कांग्रेसको सम्बन्धमा यसअघि नै आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेको र यससम्बन्धी विवादको निरुपण सर्वोच्च अदालतले गरिसकेको अवस्थामा अहिले तत्काल आयोगले कुनै पनि निर्णय गर्नुपर्ने अवस्था छैन ।
‘यो प्रशासनिक प्रक्रिया मात्रै पूरा भएको हो, आयोगले यो पत्रमा थप कुनै निर्णय गरेको होइन,’ घिमिरेले भने ।
यसअघि विशेष महाधिवेशन गर्ने बेला गगन थापाको समूहले आफूले महाधिवेशन गर्न लागेको पत्र आयोगलाई दिएको थियो ।
प्रतिक्रिया 4