२७ साउन, काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ ।
यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ ।
कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा दुई अलग–अलग समिति गठन गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार समितिहरूले प्रारम्भ गरेको मितिले ३० कार्य दिनभित्र प्रतिवेदन पेस गर्नेछन् ।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी व्यवस्था सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ । यसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
सूचना प्रविधिको प्रयोगवाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यो समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, नेपाल प्रहरीको साइबर ब्युरोलगायतका निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4