+
+
Shares

विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव

सुरुमा मिश्रित प्रणाली उपयुक्त : प्रस्तावित निर्वाचन आयुक्त वाग्ले

प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले संसदीय सुनुवाइ समितिको बैठकमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने पाँच ढाँचा प्रस्तुत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर दिन पाँच सम्भावित मोडल संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका छन् ।
  • वाग्लेले मतपेटिका, हुलाकमार्फत, प्रतिनिधिमूलक, इन्टरनेटमार्फत र मिश्रित गरी पाँच प्रकारका मतदान प्रणालीबारे जानकारी गराएका छन् ।
  • उनले प्रारम्भिक चरणमा मिश्रित हाइब्रिड मतदान प्रणाली लागू गर्नु उपयुक्त हुने धारणा राख्दै त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

१२ साउन, काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सकिने पाँच सम्भावित मोडल प्रस्ताव गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा मंगलबार भइरहेको सुनुवाइका क्रममा प्रस्तुतीकरण गर्दै वाग्लेले आउट अफ कन्ट्री (ओभरसिज) भोटिङ का लागि अपनाउन सकिने पाँच ढाँचा प्रस्तुत गरेका हुन् ।

निर्वाचन आयोगबाट उपन्यायाधिवक्ताका रूपमा अवकाश पाएका वाग्लेले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । उनका अनुसार प्रारम्भिक चरणमा मिश्रित (हाइब्रिड) मतदान प्रणाली लागू गर्नु उपयुक्त हुने उनको धारणा छ ।

वाग्लेले प्रस्तुत गरेका पाँच सम्भावित मतदान मोडल यस्ता छन्–

१. मतपेटिकामा आधारित मतदान

यस प्रणालीमा मतदाता विदेशस्थित नेपाली दूतावास वा तोकिएको मतदान केन्द्रमा स्वयं उपस्थित भएर मतदान गर्छन् । उनका अनुसार यो विश्वभर सबैभन्दा बढी प्रयोग हुने विधि हो । यसका लागि धेरै प्राविधिक तयारी आवश्यक नपरे पनि व्यवस्थापन जटिल हुने र खर्चसमेत बढी लाग्ने उनले बताए । ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका र मेक्सिको लगायतका मुलुकले यो प्रणाली अपनाउँदै आएका छन् ।

२. हुलाकमार्फत मतदान

यस विधिअनुसार विदेशमा रहेका मतदाताको ठेगानामा हुलाकमार्फत मतपत्र पठाइन्छ । मतदाताले मतदान गरेर फिर्ता पठाएको मतपत्र मतगणनामा समावेश गरिन्छ । वाग्लेका अनुसार आफ्ना नागरिक विभिन्न देशमा छरिएर रहेका मुलुकका लागि यो प्रणाली उपयोगी मानिन्छ । कम लागतमा सञ्चालन गर्न सकिए पनि मतपत्र समयमै प्राप्त हुने र हुलाक सेवाको विश्वसनीयतामा यसको सफलता निर्भर रहने उनले बताए । बंगलादेशले हालै सम्पन्न निर्वाचनमा यो विधि प्रयोग गरेको तथा अष्ट्रेलिया, क्यानडा, जर्मनी र सिंगापुर लगायतका देशले पनि यसको अभ्यास गर्दै आएको उनले उल्लेख गरे ।

३. प्रतिनिधिमूलक मतदान

यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न प्रतिनिधि तोक्न सक्छन् । तोकिएको प्रतिनिधिले सम्बन्धित मतदाताको तर्फबाट मतदान गर्ने व्यवस्था रहनेछ ।

४. इन्टरनेटमार्फत मतदान

वाग्लेले यसलाई प्राविधिक रूपमा उन्नत विधिको रूपमा प्रस्तुत गरे । उनका अनुसार यो प्रणाली लागू गर्न सके विदेशमा रहेका नेपाली मात्र होइन, अन्तरजिल्ला मतदानका लागि पनि उपयोगी हुन सक्छ । तर साइबर सुरक्षा, मतदानको निष्पक्षता तथा मतदाताले स्वतन्त्र रूपमा आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गरेको सुनिश्चित गर्ने जस्ता चुनौती भने रहने उनले बताए ।

५. मिश्रित (हाइब्रिड) मतदान विधि  

यस प्रणालीमा दुई वा दुईभन्दा बढी मतदान विधिको संयोजन गरिन्छ । मतदाताले आफ्नो सुविधाअनुसार विधि छनोट गर्न पाउने भएकाले विश्वव्यापी रूपमा यसको प्रयोग बढ्दो रहेको वाग्लेको भनाइ छ । अष्ट्रेलिया, डेनमार्क, इस्टोनिया, फ्रान्स र बेलायत लगायतका मुलुकमा मिश्रित मतदान प्रणालीको अभ्यास भइरहेको उनले जानकारी दिए ।

यी पाँचवटै सम्भावित ढाँचा प्रस्तुत गर्दै वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माण गर्नुपर्ने बताए । ‘सुरुवातमा मिश्रित विधि प्रणाली लागू गर्न सकिन्छ भन्ने मेरो धारणा रहेको छ,’ उनले संसदीय सुनुवाइ समितिमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?