News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०३० देखि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या बढाएर २४ र सन् २०३२ सम्म ३२ पुर्याउने योजना अघि सारेको छ ।
- टी–२० विश्वकप विस्तारको निर्णयले नेपाललगायतका एसोसिएट राष्ट्रहरूलाई विश्वकपमा नियमित उपस्थिति जनाउने र विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने सुनौलो अवसर प्राप्त हुने अपेक्षा गरिएको छ ।
- आईसीसीले एकदिवसीय विश्वकपमा सहभागी टोलीको संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरेको भन्दै खेलाडी र सरोकारवालाहरूले व्यापक असन्तुष्टि तथा आलोचना व्यक्त गरेका छन् ।
१२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो ।
बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा हुने टी–२० विश्वकपदेखि सहभागी टोली संख्या २४ पुर्याउने लक्ष्य राखेको छ । त्यसपछि सन् २०३२ सम्म प्रतियोगितालाई ३२ टोलीसम्म विस्तार गर्ने दीर्घकालीन योजना बनाइएको छ। सन् २०३२ को विश्वकपको आयोजक भने अझै तय भइसकेको छैन ।
हालै भारत र श्रीलङ्कामा सम्पन्न टी–२० विश्वकपले एसोसिएट राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता देखाएपछि प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार तयार भएको आईसीसीको बुझाइ छ ।
यस संस्करणमा जिम्बाबेले अस्ट्रेलिया र श्रीलङ्कालाई हराउँदै समूह चरण पार गरेको थियो भने इटाली र नेपालले पनि इंग्ल्यान्डजस्तो बलियो टोलीलाई कडा चुनौती दिएका थिए ।
यसअघि २० टोली सहभागी हुने विश्वकपमा चार समूहबाट सुपर–८ चरण खेलाइँदै आएको थियो । तर सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपदेखि नयाँ फर्म्याट लागू हुनेछ ।
पाँच समूहमा चार–चार टोली रहनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१० मा पुग्नेछन् र त्यसपछि सेमिफाइनल खेलाइनेछ ।
यदि प्रतियोगिता २४ टोलीसम्म विस्तार भयो भने सबैभन्दा सम्भावित ढाँचा छ समूहमा चार–चार टोली रहने र प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–१२ मा पुग्ने हुनेछ ।
प्रतियोगिता विस्तारबाट नेपालसहित एसोसिएट राष्ट्रहरूलाई सबैभन्दा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा तीव्र रूपमा क्रिकेट विकास गरिरहेका जर्मनी, नाइजेरियाजस्ता राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने अवसर पाउन सक्छन् ।
त्यस्तै मलेसिया, स्पेन, कुवेत, कतार, जर्सी, बहराइन, बर्मुडा र साउदी अरेबियाजस्ता टोलीहरू पनि विश्वकपको दौडमा बलियो दाबेदार बन्नेछन् ।
नेपाल, इटाली, युगान्डा, पपुवा न्युगिनी, हङकङ, अमेरिका र क्यानडाजस्ता टोलीका लागि भने यो विस्तार विश्वकपमा नियमित उपस्थिति जनाउने सुनौलो अवसर बन्न सक्छ ।
तर आईसीसीको यो विस्तार योजनासँगै अर्को निर्णय भने विवादमा परेको छ । आईसीसीले आगामी एकदिवसीय विश्वकपमा सहभागी टोली संख्या १४ बाट घटाएर १२ बनाउने निर्णय गरिसकेको छ । यसले एसोसिएट राष्ट्रहरूको अवसर झन् साँघुरिने भन्दै व्यापक आलोचना भइरहेको छ ।
नयाँ एकदिवसीय विश्वकप फर्म्याटअनुसार तल्लो वरियताका तीन राष्ट्रले मुख्य प्रतियोगितामा सिधै स्थान नपाई ‘प्ले–इन’ प्रतियोगिता खेल्नुपर्नेछ । त्यसपछि मात्र अन्तिम टोलीले विश्वकपमा स्थान बनाउनेछ ।
विश्व क्रिकेटर्स एसोसिएसन (डब्ल्यूसीए) का प्रमुख कार्यकारी अधिकृत टम मोफाटले आईसीसीको निर्णयलाई विश्वव्यापी क्रिकेट विस्तारको लक्ष्यसँग मेल नखाने बताएका छन् । उनका अनुसार विश्वव्यापी क्रिकेट विकासको कुरा गर्ने तर विश्वकपमा अवसर घटाउने निर्णय परस्पर विरोधाभासपूर्ण छ ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले यस्ता महत्वपूर्ण निर्णय गर्दा खेलाडीसँग पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले पनि विश्वकप छनोट गर्नु आफैंमा ठूलो उपलब्धि भए पनि त्यसको मूल्य नै घटाउने निर्णय निराशाजनक रहेको बताएका छन् ।
आईसीसीले प्रतियोगिता विस्तारमार्फत टी–२० क्रिकेटलाई अझ विश्वव्यापी बनाउने लक्ष्य राखेको भए पनि एकदिवसीय विश्वकपमा अवसर कटौती गरेको निर्णय भने अझै पनि क्रिकेट जगतमा बहसको विषय बनेको छ ।
प्रतिक्रिया 4