+
+

२६ गतेसम्म निर्वाचन सम्बन्धी सबै काम सकिन्छ : प्रमुख निर्वाचन आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १८:०४

१६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने दाबी गरेका छन् ।

शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताए ।

उनले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि बताए ।

‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौ,’ उनले भने, ‘सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५÷२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए ।

‘अब के कुरा स्थापित भयो भने आगामी दिनहरुमा पनि निर्वाचन त भइरहन्छन् । ति निर्वाचनहरुमा पनि यो कुराहरु प्रमाणित गर्नुपर्दछ । हुन्छ भन्ने एउटा मानक यसले स्थापित गरेको छ’, उनले भने ।

थपलियाले आफूहरु वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताए । भने, ‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । हामी छिट्टै अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानून प्रवेश गर्नेछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले निर्वाचन समावेशी र लैगिकमैत्री होस् भन्ने चाहना राखेको भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?