+
+

किम्फमा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा मुख्य वक्ता रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १६:२७

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक तथा अभिनेता प्रकाश झा प्रमुख वक्ताको रुपमा आउने भएका छन् ।

आयोजक हिमाल एसोसिएसनले महोत्सवमा निर्देशक झा मुख्य वक्ताको रुपमा सहभागी हुने विज्ञप्तिमार्फत जानकारी गराएको छ । झा अभिनित तथा एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदैछ ।

काठमाडौं महानगरपालिकाको सहआयोजनामा किम्फको २० औं संस्करण मंसिर २२ देखि २६ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको प्रेक्षालयमा हुने जनाएको छ ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । यसपटकको संस्करणमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् ।

कोरोना महामारीको कारण किम्फका १८ औं र १९ औं संस्करण भर्चुअल माध्यममार्फत भएको थियो । महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा दिगो आरोहण रहेको छ ।

किम्फ २०२२ को शुभारम्भ हेर्ने कथा शृंखला अन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ प्रिमियरसँगै हुनेछ । यस फिल्मले जाजरकोटका स्थानीयले गर्ने मह सिकारको कथा पेस गर्छ ।

फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ ।

फिल्मकर्मी, दर्शक, समीक्षक, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने उक्त महोत्सवमा फिल्मसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् ।

किम्फ २०२२ को जुरीमा जर्मन लेखक, निर्माता तथा निर्देशक माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक, निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?