+
+

मोरक्कोको रणनीतिक मास्टरप्लान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते २०:००

२६ मंसिर, काठमाडौं । मोरक्कोका गोलरक्षक यासिन बोउनोउ (बोनो)ले आफ्नो कुर्चीमा पछाडि झुकेर आँखा चिम्लिँदै टाउको हल्लाएर भने, ‘कसैले मलाई चिमोटिदेउ, म सपना देखिरहेको छु ।’

मोरक्को वास्तवमै विश्वकपको सेमिफाइनलमा पुग्नु कुनै सपनाभन्दा फरक छैन ।

कतार पुग्नुभन्दा पहिला यो अफ्रिकी देशले आफ्नो पछिल्लो १६ खेलमा केवल दुईवटा मात्र जितेको थियो । टिमका प्रमुख प्रशिक्षकले चार महिनाअघि मात्रै जिम्मेवारी पाएका थिए । तर, यो टिमका खेलाडी प्रतिभाशाली थिए र लामो समयदेखि ठूलो उपलब्धिका लागि संघर्षरत थिए ।

त्यसो भए फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम र गत संस्करणको फाइनलिष्ट क्रोएसियाजस्ता टिम रहेको समूहको शीर्ष स्थानमा पुग्न कसरी सम्भव भयो ?

नकआउट चरणमा युरोपका पावरहाउस टिमहरु स्पेन र पोर्चुतललाई स्तब्ध पार्दै अरव विश्वकपमा गौरवशाली इतिहास कोर्न कसरी सम्भव भयो ?

यसको उत्तर मोरक्को फुटबल महासंघ र हालै नियुक्त भएका प्रशिक्षक वालिद रेग्रागुईको रणनीतिक योजनामा विश्वास र साहसिक निर्णयमा निहित छ । जसका खेलाडीले एक निस्वार्थ र प्रतिभाशाली समूहका रुपमा जिम्मेवारी पालना गरिरहेका छन् ।

अहिलेसम्म कुनै पनि टिमले मोरक्कोलाई हल्लाउन सकेको छैन ।

के सेमिफाइनलमा फ्रान्सले उनीहरुको गति तोड्लान् त ?

प्रशिक्षक परिवर्तन

यो आश्चर्यजन अण्डरडग कहानीको आधार गएको अगष्टमा निर्माण भएको हो । जतिबेला अफ्रिका कप अफ नेशन्सको छनोटदेखि टिमलाई निर्देशित गरिरहेका बोस्नियाका अनुभवी प्रशिक्षक वाहिद हालिहोजिचलाई बर्खास्त गरी रेग्रागुईलाई नियुक्त गरियो । देशका सर्वोच्कृष्ट खेलाडीमध्येका एक हाकिम जियाचलाई टिममा नराखेपछि उनलाई रोयल मोरक्को फुटबल महासंघले बर्खास्त गरेको हो ।

महासंघले उनलाई बर्खास्त गर्नुको कारणका रुपमा ‘विपरीत दृष्टिकोण’ भनेको थियो । लगत्तै राष्ट्रिय टिमका पूर्व खेलाडी रेग्रागुईले जिम्मेवारी पाए । रेग्रागुई एउटा पुस्ताको सबैभन्दा प्रतिभाशाली टिमको विरासत सम्हाल्दै थिए ।

सन्तुलित टिम

मोरक्कन टिममा युरोपका शीर्ष लिग खेल्ने यति खेलाडी यसअघिको टिममा कहिल्यै थिएनन् । असरफ हाकिमी र नुसैर मजराई क्रमश पीएसजी र बायर्न म्युनिखका नियमित खेलाडी हुन् । विंगर हाकिम जियाच चेल्सीमा छन् तर, नियमित खेलिरहेका छैनन् ।

गोलरक्षक बोनो र स्ट्राइकर युशुफ एल नेसरी स्पेनको सेभियाका लागि खेल्छन् । डिफेन्सिफ मिडफिल्डर सोफ्यान नायफ इटलीको फियोरेन्टिनाबाट खेल्छन् । सेन्टरब्याक नायफ एग्युर्ड वेष्टह्यामबाट प्रिमियर लिग खेल्छन् र कप्तान रोमाइन साइस केहि समयअघिसम्म वुल्भरह्याम्प्टनबाट खेल्छन् ।

रेग्रागुईलाई दोहोरो चुनौति थियो । आफ्ना खेलाडीलाई विश्वकपमा परिणाम पाउने प्रणालीमा काम गराउनु थियो भने उनीहरुलाई आफ्नो क्षमतामा विश्वास दिलाउनु थियो । ‘मैले उनीहरुलाई भने, तिमीहरु विश्वकपमा केवल तीन खेल खेल्न आएका छैनौ,’ रेग्रागुई भन्छन् । जसले मोरक्को फुटबललाई नै अर्को दुनियामा पु¥याएका छन् ।

रणनीति

रेग्रागुईले आफ्नो टिम ४–१–४–१ को फर्मेसनमा सेट गरेका छन् । जहाँ सामान्यतः रक्षापंक्तिले निकै तल झरेर खेल्छन् । डिफेन्सिभ मिडफिल्डर अम्राबात त्यसको ठीक अगाडि हुन्छन् । उनी अहिल्यै पनि अगाडि बढेर खेलेनन् ।

यो विश्वकपमा ठूला भनिएका देशविरुद्ध मोरक्कोले चार जनाको मध्यपंक्तिलाई पनि डिफेन्सको आवश्यकताअनुसार आफ्नो पोजिसनबाट केहि पछाडि हटाएर खेलाएको थियो । जसले गर्दा अगाडि एन नेसरीमात्र एक्लै रहन्थे ।

अब प्रतिद्वन्द्वीको खुट्टाबाट बल खोसिन्छ प्रशिक्षक रेग्रागुई आफ्ना खेलाडीलाई काउन्टर एट्याकका लागि आदेश दिन्छन् । डिफेण्डरहरु हाकिमी र माजराओईको गति तथा जियाच र सोफाइन बोउफालको तालमेल बेजोडको देखिन्छ । अगाडि एक्लै रहेका नेसरीले तत्कालै पाँच वा छ जना साथी पाउँछन् ।

दृष्टिकोणका लागि अनुशासन र उच्चस्तरको मानसिक एकाग्रता आवश्यक हुन्छ । ‘हामीसँग एउटा प्रष्ट योजना हुन्छ । त्यसमा सबैको उत्तिकै भूमिका हुन्छ,’ रेग्रागुई भन्छन्, ‘सफलता पाउन सकिन्छ भनेर हामी संसारलाई देखाउँदै छौ भलै, हामीसँग त्यति प्रतिभा र पैसा छैन ।’

अचम्मको तथ्यांक र आँकडा

विश्वकपमा मोरक्कोको या यात्राका पछाडि एक असाधारण आँकडा छ । अहिलेसम्म यो टिमले एक गोलमात्र खाएको छ । त्यो पनि क्यानडाविरुद्ध एग्युर्डले आत्मघाती गोल गरेका थिए । यसको अर्थ क्रोएसिया, बेल्जियम, स्पेन र पोर्चुगलले मोरक्कोको पोष्टमा गोल गर्न सकेनन् ।

उनीहरुले विश्वकपका यी पाँच खेलमा केवल १० वटा शट अन टार्गेट राखेका छन् । उनीको प्रति खेल शट अन औषत ३ भन्दा कम छ । पछिल्ला पाँच खेलमा प्रतिखेल औषत बल पोजिसन केवल २९.८ प्रतिशत छ ।

स्पेनविरुद्धको खेलमा मोरक्कोले ३४३ पास खेलेको थियो भने उसको प्रतिद्वन्द्वीले १०४१ पास खेलेको थियो ।

रेग्रागुईले भनेका छन्, ‘मेरा खेलाडीले आफ्नो जीवनमा यति दौडिएका छन् जस्तो लाग्दैन ।

समर्थक

हरेक खेलमा उच्च संख्यामा उपस्थित समर्थकहरु मोरक्को टिमका मुख्य सारथी हुन् । एटलास लायन्स भनिने मोरक्को फुटबलको यो सफलताको खुसी मनाउन हजारौंको संख्याका नागरिकहरु कतार आएका छन् ।

मोरक्कोले विश्वकपमा खेलेको हरेक खेलमा घरेलु माहोल पाएको छ । उनीहरुको भावुक समर्थन, काननै विझाउने सिठ्ठीको आवाजले खेल अवधिभर विपक्षीलाई दबावमा राखेको थियो । दोहामा जहाँतहीँ मोरक्कोका रातो जर्सी लगायका समर्थकहरु आफ्नो राष्ट्रिय झण्डासहित डुलिरहेका छन् ।

मोरक्कोले ठूला प्रतियोगिता अहिलेसम्म एउटामात्र जितेको छ । सन् १९७६ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जितेयता उसले अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर संघर्ष गरिरहेको छ । वर्तमान अवस्थामा मोरककोले विश्व च्याम्पियन बन्न केवल दुई जित टाढा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?