+
+

रुट अफ नेपाल तेक्वान्दो : नेपाली तेक्वान्दोको इतिहास बुझाउने पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १६:२४

३ पुस, काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा धेरै सफलता दिलाउने खेलमा पर्छ तेक्वान्दो । ओलम्पिकमा छनोट भएर खेल्ने खेलाडी समेत तेक्वान्दोकै हुन् ।

दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण जितेर कीर्तिमान बनाउने पहिलो खेलाडी पनि तेक्वान्दोकै हुन् । दिपक विष्ट र संगिना वैद्य जस्ता स्टार जन्माउने खेलाडी तेक्वान्दोनै हो ।

दिपक विष्ट र संगिना मात्रै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी हुन् । संगिनाले सन् १९९६ मा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

पछिल्लो समय भने नेपाली तेक्वान्दोले अन्तर्राष्ट्रिय स्तरमा त्यो लयलाई कायम राख्न सकेको छैन । तर मार्स आर्ट्सको एक विधा तेक्वान्दो नेपालको खेलकुद इतिहासमा सफल खेल मध्येमा पर्छ ।

यद्यपी यस खेलको इतिहास बारे विरलै पढ्न पाइन्छ ।

नेपालमा तेक्वान्दो कसले भित्र्याए ?

तेक्वान्दोको विकास कसरी भयो ?

र तेक्वान्दो यो अवस्थामा आइपुग्यो भन्ने जानकारी समेटिएको दृश्य सहितको पुस्तक रुट अफ नेपाल तेक्वान्दो अर्थात (नेपालमा तेक्वान्दोको जग) सार्वजनिक भएको छ ।

नेपालमा तेक्वान्दोको इतिहास समेटिएको यस पुस्तक शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । सुरुवातदेखिकै अधिकांश दृश्यहरु समेटिएको यस पुस्तकले नेपालमा तेक्वान्दोको इतिहासलाई बुझाउने प्रयास गर्नेछ ।

नेपालमा तेक्वान्दो भित्र्याउने देखि नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका जे के सिनले यस पुस्तक तयार पारेका हुन् ।

चिफ ग्रान्ड मास्टर सिनकै उपस्थितिमा चन्डोलस्थित कुन्डलिनी दरबार बैंक्युटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व मन्त्री किसान श्रेष्ठ, पूर्व मन्त्री केशरबहादुर विष्ट, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र लेख स्वंयले एक कार्यक्रमबीच पुस्तक विमोचन गरे ।

कार्यक्रमको आयोजना उनै सिनका चेलाहरु रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले गरेका हुन् । यी सबै नेपालको पहिलो पुस्ताका तेक्वान्दो खेलाडीहरु हुन् । सन् १९८३ मै स्कुल पढ्दा नै सुधा मल्लले ब्ल्याक बेल्ट लिएकी थिइन् र उनी नेपालको पहिलो महिला ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी समेत हुन् ।

दक्षिण कोरियाका जे के सिन नेपालमा तेक्वान्दो भित्र्याउने व्यक्ति हुन् । उनले सन् १९८३ मा नेपालको हिमालयको यात्रा तय गर्द नेपालमा नयाँ लक्ष्य पत्ता लगाएको थिए । इन्जिनियरिक पृष्टभूमिका उनले आफूलाई मार्शल आर्ट प्रशिक्षकका रुपमा काम गर्दै नेपालमा तेक्वान्दोलाई परिचय दिने पहिलो विदेशी बने ।

उनकै आगमनपछि नेपालले एसियाली खेल पदक र ओलम्पिकमा समेत पदक (प्रदर्शनी खेल) प्राप्त गर्‍यो ।

नेपालले १९८६ मा अष्ट्रेलियामा भएको सातौं एसियन तेक्वान्दो च्याम्पियनसिपमा मोहन राईले कास्य पदक दिलाएका थिए । यस्तै १९८७ मा बार्सिलोनामा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो ।

१९८८ मा कोरियामा भएको सियोल ओलम्पिकमा नेपालका विधान लामाले कास्य पदक जितेका थिए । तर प्रदर्शनी खेल भएकोले उक्त पदकको आधिकारिक मान्यता भने थिएन ।

कार्यक्रमका वक्ताहरुले नेपाली तेक्वान्दोको विकास र विस्तारमा सिनको ठूलो योगदान रहेको बताउदै तेक्वान्दोका ऐतिहासिक व्यक्तित्वको पुस्तक विमोचन गर्न पाउनु गर्वको विषय धारणा व्यक्त गरेका थिए ।

विमोचन कार्यक्रममा लेखक सिनले आफूले सन् १९८२ को डिसेम्बरमा पहिलो पटक नेपाल भ्रमण गरेको बताउँदै  नेपालमा तेक्वान्दो आफैल भित्र्याएको बताए । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आग्रहमा नेपालमा रहेर तेक्वान्दो खेलको विकासमा लागि परेको बताए ।

उनले नेपालमा तेक्वान्दो खेललाई स्थापित गर्न आफूलाई सहयोग गर्ने राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह, पूर्व मन्त्री केशरबहादुर विष्ट र विष्णुगोपाल श्रेष्ठलाई धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?