+
+

विश्वकपमा मेसीको कीर्तिमानै कीर्तिमान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ पुष ४ गते १२:३३

४ पुस, काठमाडौं । सुपरस्टार लिओनल मेसीले विश्वकपमा आफ्नो खेल जित्दै पहिलो पटक विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाए ।

आइतबार कतारको लुसेस आइकोनिक स्टेडियममा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जित्यो ।

समग्रमा अर्जेन्टिनाले जितेको यो तेस्रो विश्वकप उपाधि हो भने मेसीले पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक ट्रफी उचाल्ने अवसर पाए ।

क्लब फुटबल सबैखाले उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका मेसीका लागि यस विश्वकपअघि जित्न बाँकी एउटै ट्रफी थियो । जुन ६४ खेल र एक महिना चलेको २२औं संस्करणको उपाधि जित्दै उनले पूरा गरे ।

फाइनलपछि मेसीले सानैदेखि आफूले देखेको सपना पूरा भएको बताए । साथै उनले राष्ट्रिय टिमबाट तत्कालन सन्यास नलिने र च्याम्पियन प्लेअरको रुपमा अझै केही समय खेल्ने समय बताइसकेका छन् ।

फ्रान्ससँग खेल्नुअघि विश्वकपमा भने यही फाइनल नै आफ्नो अन्तिम विश्वकप खेल हुने मेसीले बताएका थिए ।

३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गरे । यस क्रममा उनले एक पटक फाइनल खेले पनि जर्मनीसँग पराजित भएपछि उपाधि जित्न सकेका थिएनन् । दोस्रो पटक फाइनल पुर्‍याउँदा भने उनी भाग्यमानी सावित भए र मिहिनेतको फल पाए ।

क्लब फुटबलमा दर्जनौं कीर्तिमान बनाइसकेका मेसीलाई यस अघि विश्वकप जित्न नसक्ने, विश्वकपको नकआउट चरणमा गोल गर्न नसक्ने लगायत विभिन्न किसिमको आलोचना हुने गर्थ्यो ।

तर अहिले यो सबैको जवाफ मात्र प्राप्त भएको छैन मेसीले विश्वकप फुटबलमै पनि दर्जन बढी कीर्तिमान बनाए । कति कीर्तिमान तोडिएलान् कति कीर्तिमान तोडिन असम्भव जस्तै छ । यसलाई लिएर फुटबलका भावी पुस्ताले पनि गर्व गर्नेछन् ।

कतार विश्वकपपछि मेसीले विश्वकप फुटबलमा बनाएका कीर्तिमानहरू ।

१, सर्वाधिक खेल : मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेलेका छन् । कतारमा सबै ७ खेल खेल्दै उनले सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथार माथाउसको कीर्तिमान तोडेका हुन् । जर्मनीकै मिरोस्लाभ क्लोजले २४ खेल खेलेका छन् भने इटलीका पाउलो माल्दिनीले २३ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।

२, दुई पटक विश्वकप गोल्डेन बल : विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए । कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् ।

फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रोमा रहे । फाइनलमा ह्याट्रिक गरेका किलिएन एमबाप्पेले ८ गोल सहित गोल्डेन बुट अवार्ड जिते ।

३, पाँच फरक विश्वकपमा असिस्ट : मेसी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । उनले सन् २००६ देखि २०२२ सम्म खेलेका पाँच वटै विश्वकपमा असिस्ट गरेका छन् ।

४, विश्वकपको हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी : मेसीले कतार विश्वकपअघि नकआउट चरणमा गोल गर्न सकेका थिए । तर यस विश्वकपमा आफ्नो जादुबाट उनले चमत्कार नै गरे भन्दा फरक पर्दैन । मेसीले खेलेका ७ मध्ये ६ खेलमा गोल गरे । त्यसमा पनि उनले समूह चरण देखि हरेक चरणमा गोल गरे । मेसी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बने ।

५, विश्वकपमा सर्वाधिक खेल जित : मेसीले विश्वकपमा सर्वाधिक १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन् ।

६, कप्तानको रुपमा धेरै खेल : मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेर्लेका छन् । उनीपछि मेक्सिकोमा राफा मार्क्वेजले १७ र अर्जेन्टिनाका डिएगो म्याराडोनाले १६ खेलमा विश्वकपमा कप्तानी गरेका छन् ।

७, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने खेलाडी : मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् । उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।

८, सर्वाधिक विश्वकप खेल्ने खेलाडी : मेसी सर्वाधिक ५ पटक विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् । मेसीसँगै मेक्सिकोका एन्टोनिओ कार्भाजल, जर्मनीका लोथार म्याथाउस, मेक्सिकोकै राफा मार्क्वेज र आन्द्रेज गुअर्डाडो तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ विश्वकप खेलेका छन् ।

९, नकआउट चरणमा सर्वाधिक असिस्ट : मेसीले नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् । दुवैले समान ६ असिस्ट गरेका छन् ।

१०, अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता : मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । उनले विश्वकपमा १३ गोल गरेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१४ मा चार र २०१८ मा १ गोल नै गरेका थिए । २०१० मा भने गोल गर्न सकेनन् । यस पटक उनले विश्वकपमा ७ गोल गरे । मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पारेका हुन् । बाटिस्टुटाले १० गोल गरेका छन् ।

विश्वकप इतिहासमै सर्वाधिक गोल गर्नेमा मेसी फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रुपमा चौथो स्थानमा छन् ।

जर्मनीका मिरोस्ला क्लजले सर्वाधिक १६ गोल गर्दा ब्राजिलका रोनाल्डोले १५ र जर्मनीकै गर्ड मुलरले १४ गोल गरेका छन् ।

११, आफ्नो हरेक दशक उमेरमा विश्वकपमा गोल : मेसीले आफ्नो हरेक दशकमा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले टीनएज, ट्वेन्टिज र थर्ट्टिजमा गोल गरे । पेलेले भने केही महिनाले यो अवसर गुमाएका थिए ।

१२, पहिलो र अन्तिम गोलबीचको अवधि : मेसीले विश्वकपमा पहिलो र अन्तिम गोल गर्दाको समय अवधि सबैभन्दा धेरै छ । मेसीको पहिलो र अन्तिम गोलको समयअवधि १६ वर्ष १८४ दिन छ । त्यसपछि रहेका क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम गोलको अवधि १६ वर्ष १६० दिन छ ।

१३, सर्वाधिक प्लेअर अफ दि म्याच : मेसी विश्वकपमा सर्वाधिक ११ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनी कतार विश्वकपमा खेलेका ७ मध्ये ५ खेलमा प्लेअर अफ दी म्याच भए । मेसीले एकै विश्वकपमा सर्वाधिक प्लेअर अफ दी म्याच हुने कीर्तिमानसमेत बनाए । यसअघि सन् २०१० मा नेदरल्याण्ड्सका वेस्ले इनाइडर र २०१४ मा मेसीले नै चार पटक प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?