+
+

पोखराको ग्राउन्ड ह्यान्डलिङ पनि निगमलाई, हिमालयको अनुमति खारेज

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष ७ गते १९:१९

७ पुस, काठमाडौं । पोखरामा सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्याण्डिलिङ (भूमिस्थ प्रवन्ध) सेवा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले प्रदान गर्ने भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत ग्राउन्ड ह्याण्डिलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सले दुई वर्ष अगाडि पाएको अनुमति समेत रद्द गरेको छ । र,  पूर्ण अधिकार नेपाल वायुसेवा निगमलाई जिम्मा दिएको छ ।

प्राधिकरणले यो निर्णयबाट राष्ट्रिय ध्वजाबाहकको पक्षमा ठूलो सहयोग पुग्ने बताएको छ । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको ४ पुसको निर्णयअनुसार हिमालयले पाएको सेल्फ ग्राउण्ड ह्यान्डलिङ सेवा रद्द गर्ने निर्णय भएको हो ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गरी तीनवटै विमानस्थलमा तत्कालका लागि नेपाल एयरलाइन्सले यस्तो सेवा दिने भएको छ । जसमा यात्रु र ब्यागेज व्यवस्थापन तथा सरसफाइसहितको विस्तृत जिम्मेवारी समेटिएको छ ।

वायुयानहरुको भूमिस्थ प्रवन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटा भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ हृयान्डलिङ गर्न पाउने नियम अनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो ।

निर्देशिका बमोजिम अनुमति पाएको १ वर्षभित्र ग्राउण्ड इक्युपमेन्ट खरिद गरी सेवा सूचारु गर्नुपर्नेमा हिमालयले सो नगरेपछि उसको अनुमति रद्द गर्ने निर्णय भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणको वर्तमान आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै राष्ट्रिय ध्वाजाबाहकलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएको भन्दै हिमालयको अनुमति खारेज गरी सबै सेवा निगमको पक्षमा दिएको प्राधिकरणको भनाइ छ ।

हिमालयले सेल्फ ह्यान्डलिङको अनुमति दिँदा निगमको २० प्रतिशत आम्दानी गुम्ने खतरा रहेको भन्दै प्राधिकरणले पछिल्लो निर्णयले निगमको साविक आम्दानी प्रभावित नहुने अवस्था बनेको बताएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?