+
+
अन्तर्वार्ता :

‘कांग्रेसको रवैयादेखि पीडित थिएँ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:२९

११ पुस, काठमाडौं । नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ । पुरानो गठबन्धन भत्किएन मात्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत यता न उता भयो । अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवादीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोपसमेत लगाए ।

कांग्रेसको रवैयादेखि धेरै पीडित भएको बताउँदै उनले भनेका छन्, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ ।’

पछिल्लो राजनीतिक परिस्थितिबारे अनलाइनखबरसँग खुलेर कुरा गरेका नेपालले निराश नभइकन एउटै कम्युनिष्ट पार्टी बनाउन लागिरहने समेत बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालसँग अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले गरेको कुराकानी –

एमालेले एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुनसक्छ भन्ने आशयको अभिव्यक्ति दिएको छ । तपाईंहरूको प्रतिक्रिया के छ ?

अब नेकपा एकीकृत समाजवादीको कोसँग कुरा गर्नुभएको छ थाहा छैन । बसेर कुराकानी गरौं भनेर प्रचण्डजीले भन्नुभएको छ । हामीले यस सम्बन्धमा ‘पर्ख र हेर’को नीति लिएका छौं । किनभने शेरबहादुरजीले अथवा नेपाली कांग्रेसले जुन रवैया अपनायो, योसँग हामी पनि सहमत छैनौं । शेरबहादुरजीले जुन वचन दिनुभएको थियो र त्यसपछि स्वाभाविक पनि देखिएको थियो, प्रचण्डजीलाई प्रधानमन्त्री बनाउनुपर्थ्यो । अब त्यो नहुँदा स्वाभाविक रूपमा एउटा ठूलो विश्वासको संकट खडा भयो । नेपाली कांग्रेसको कार्यशैली पनि चित्तबुझ्दो थिएन । राजनीतिक रूपमा सन्तुष्टि भएको अवस्था थिएन, असन्तुष्टि बढिरहेको थियो । त्यो अवस्थामा स्वाभाविक रूपमा जो जसले साथ दिनसक्छ, साथ लिएर उहाँले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । म यसलाई अन्यथा ठान्दिनँ ।

यो गठबन्धन तोड्ने काममा देउवाकै भूमिका देखियो होइन ?

गठबन्धन तोड्न नभनौं । टुट्दैन भन्ने ठान्नुभएको होला । टेकन एस ग्रान्टेड पनि हुन्छ कहीं । प्रचण्डजीले १५ वर्षसम्म गठबन्धन टिक्छ भन्ने कुरा कानमा लिएर बस्नु भएको भए … (हाँस्दै) । अब प्रचण्डजीले आजको मितिदेखि गठबन्धनमा हामी रहँदैनौं, टुट्यो भन्ने ठान्नुस् भनेर हिंडेको । यसो भनेर हिंडेपछि त चेत्नुपर्ने हो नि, त्यहीबेलै पटकपटक भनिसकेपछि । मैले भनें । अब ४ बजे आएर शेरबहादुरजीले ‘अब प्रचण्डजीलाई भन्नुपर्‍यो, उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्‍यो’ भन्नुभयो । जब अर्को पक्षहरूको बीचमा सल्लाह गरेर कागजमा सही गरिसकेको अवस्थामा मैले ४ बजे भनेर केही अर्थ लाग्थ्यो ? समयमा सोच्न नसक्दा खेरि… ।

त्यतिबेला त प्रचण्ड गइसक्नुभएको थियो नै पहिला नै होइन ?

अब ४ बजे त सबै … कति बजेर कति मिनेटमा बालकोटमा सहमति भइसकेको थियो, हामी सबैलाई थाहा छँदैछ ।

हो, त्यतिबेला सहमति भइसकेको थियो नि !

भइसकेको थियो नि । ४ बजे त मैले भनें सबै सकिइसकेको थियो ।

तर देउवाले त अपेक्षा नै राख्नुभएको रहेनछ कि रातारात यसरी परिस्थिति उल्टिन्छ भनेर ?

मैले त भनिसकेको थिएँ । भन्नलाई केही बाँकी थिएन ।

एमाले र प्रचण्डको कुरा हुनसक्छ भनेर भन्नुभएको थियो ?

त्यत्रो कुरा भइरहेको थियो, कसलाई थाहा थिएन ?

भनेपछि प्रचण्डलाई प्रधानमन्त्री नदिएपछि त उहाँ जानुहुन्छ भन्ने कुरा त पक्कै थियो ?

त्यो त पहिलेदेखि नै थाहा थियो नि बाबा । प्रचण्डजीले कहिले देव गुरुङलाई पठाएको, कहिले को गएको । पत्रपत्रिकामै आएको होइन र ? यी सबै घटनाक्रमहरू राज्य सञ्चालन गरेर बसेको मान्छेले घन्टा घन्टामा को कहाँ हिंडिरहेको छ थाहा पाउनुपर्दैन ?

तपाईंहरुलाई भन्न चाहन्छु म मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ । मैले यो दुईपटक दोहोर्‍याएर भनेको हुँ ।

देउवा किन ढुक्क भएर बस्नुभयो त ? के कुराले उहाँलाई यसरी ढुक्क बनायो ?

तपाईं अनुमान गर्नुस् । देशभित्र र देश बाहिरबाट कसले ढुक्क बनायो उहाँलाई । (हाँस्दै)

देश बाहिरकाले पनि अलि बढी ढुक्क बनाइदिए कि उहाँलाई ?

अब त्यो त के भन्ने मैले ? मैले भन्न मिलेन । प्रचण्डजी जस्तो झ्याट्ट बोलिहाल्ने मेरो बानी छैन ।

अब तपाईंको चाहिं के हुन्छ ? एकीकृत समाजवादीले के गर्छ ?

हामी समग्र पक्ष हेरेर मात्र चल्छौं । हामीलाई केही हतार छैन । हाम्रो अब सम्पूर्ण रूपमा ध्यान पार्टी निर्माण, सुदृढ र विस्तार गर्ने कुरामा केन्द्रित हुन्छ ।

एमालेले २०७४ कै कोर्षतिर लैजान खोजेको देखिन्छ । एमालेले तपाईंहरूसँग अलि ‘कन्सल्ट’ नगरेको जस्तो देखियो नि ?

होइन, अन्डरकरेन्ट हामीसँग पनि कुराकानी नभएको होइन । कुराकानी भइरहेकै हो । विश्वसनीयताको तहमा नपुगेको हुनाले मैले नपत्याएको हो । अन्डरकरेन्ट कुराकानी त राजनीतिमा भइरहन्छ नि ।

सरकारलाई समर्थन गर्ने बारेमा चाहिं के गर्नुहुन्छ ?

सरकारको कुरा गर्दा प्रचण्डजीको सरकारलाई नकारात्मक ढंगले हेर्ने कुरा त आउँदैन । के कारणले नकारात्मक रूपले हेर्ने ? कारण त चाहियो नि !

प्रचण्डलाई तपाईंले नकारात्मक रूपले हेर्ने कारण के छ र होइन ?

उहाँको सरकार हामीलाई अमान्य हुने कारण के ? यो कोणबाट हेर्नुस् न तपाईं । सरकारमा सामेल हुने नहुने हाम्रो कुरा भयो । तर सरकारलाई नै विरोध गर्नुपर्ने कारण के ? राम्रो काम गरेन भने, ठिक ढंगले चलेन भने हाम्रो विरोध गर्ने अधिकार सुरक्षित नै रहन्छ । अहिले बोलिहाल्न किन नचाहेको भने हेरौं न यहाँ त घन्टा घन्टामा परिस्थिति परिवर्तन भइरहेका हुन्छन् । दिनभरिमा के हुन्छ ? भोलि के हुन्छ ? हेर्न बाँकी नै छ । हामी अहिले नै आत्तिनुपर्ने कारण छैन ।

तपाईं र केपी ओलीबीच कुरा भएको छैन है यो बीचमा ?

छैन, छैन । भएको छैन ।

घटनाक्रम हेर्दा केपी ओलीले पासा अलिकति आफ्नो पक्षमा पारेको जस्तो देखियो नि ?

होइन, कुरा गरौं भन्ने खालका कुराहरू नआएका होइनन् । मेरो भनाइ के हो भने परिस्थिति पनि परिपक्व हुनुपर्‍यो नि । मान्छे झुक्किने र भ्रममा पर्ने स्थिति बन्नुभएन । परिमाणमुखी हुनुपर्‍यो ।

अब झलनाथ खनाललाई अगाडि बढाउने कुरा वा तपाईं राष्ट्रपति बन्ने चर्चा हिजोआज चलेको छैन, होइन ?

झलनाथजीको त चर्चा थियो तर उहाँ हारेसँगै त्यो च्याप्टर क्लोज भयो । अहिले मैले नै शेरबहादुरजी र प्रचण्डजीसँग छुट्टाछुट्टै कुरा गरेर दुवैलाई सँगै राखेर पनि अबको राष्ट्रपति झलनाथजीलाई बनाऔं भनेर सहमति गरेको हो । मैले उहाँलाई चुनावमा नजानुस् पनि भनेको हो । धेरै सम्झाएँ ।

समानुपातिकमा पनि नबस्नुस् भन्नुभएको हो ?

किन बस्ने त ? राष्ट्रपतिलाई किन चाहिन्छ समानुपातिक ? त्यसैले नजानुस्, अझ हुँदाहुँदा इलामका उहाँका कतिपय नातेदारहरूले पनि स्थानीय चुनावमा जित्ने हिसाबले पनि नजानुस् भनेका थिए । किनभने महेश बस्नेत अलि लोकप्रिय रहेछन् रे । उनले पहिले राम्रै काम गरेको रहेछ पहिला मेयर भएर भन्छन् तर मैले विस्तृतमा बुझ्न पाएको छैन । यही कारण झलनाथजीको त्यहाँ वातावरण त्यति सकारात्मक रहेन । जेसुकै भए पनि एउटा राष्ट्रपतिको कुरा आइरहेको बेला नगएको भए हुन्थ्यो ।

पराजित भइसकेपछि मैले कुरा उठाए पनि कोही सुन्न तयार भएनन् । बरु तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव ल्याए । अब मैले यहाँ पार्टीमा छलफल नगरी केही जवाफ दिने कुरा भएन । पार्टीभित्र पनि जानुहुन्छ र हुँदैन भन्ने दुवै खालका मत थिए ।

पार्टीभित्र एकमत हुँदा र प्रस्ताव आए राष्ट्रपति हुन्छु भन्ने थियो तपाईंलाई ?

त्यस्तो केही सोचेको थिइनँ मैले । म त सबभन्दा पहिला प्रधानमन्त्रीको टुंगो लगाऊँ र अगाडि बढौं भन्नेमा थिएँ । दुईटा पार्टीबाट कोही भएनन् भने माधव नेपाललाई बनाऔं भन्ने कुरा त उठ्यो नि त्यहाँ ।

प्रधानमन्त्री भइसकेपछि प्रचण्डले तपाईंसँग कुरा गर्नुभएको छ ?

कुरा भएको छ । बसेर कुरा गरौं भन्नुभएको छ ।

कम्युनिष्ट आन्दोलन एकताबद्ध भएर अगाडि बढ्यो भने त्यसमा हाम्रो केको विरोध, किन विरोध हुन्छ र ?

फोन उहाँले नै गर्नुभयो ?

गर्नुभएन । मैले नै उहाँलाई बधाई दिन फोन गरें । मैले नै बरु भनें, तपाईंले फोन पनि नगर्ने मलाई ? एकैचोटि हतारिंदै तपाईं जाने सरसल्लाह पनि नगर्ने भनेर उहाँले मलाई भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो केपी ओली, तपाईं र म तीनैजना बसेर पहिले कुराकानी गरौं । म मिलाउँछु उहाँलाई । यहाँ त नेताहरुको विश्वसनीयता नै छैन के । जब त्यहाँ कुरा नमिल्ने भइसकेपछि उहाँले भन्नुभयो- हेर्नुस् त्यो कांग्रेस केही पनि छोड्दैन । प्रधानमन्त्री पनि छाड्दैन, राष्ट्रपति पनि छोड्दैन । विश्वसनीयता छैन । म पनि कांग्रेसको रवैयादेखि धेरै पीडित थिएँ र मैले बैठकमा पटक पटक भन्याथें- यो कांग्रेसले देशलाई आफ्नो विर्ता ठानेको छ । तपाईंहरु भ्रममा हुनुहुन्छ । तपाईंहरुलाई भन्न चाहन्छु म मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ । मैले यो दुईपटक दोहोर्‍याएर भनेको हुँ ।

कुनै पनि काम नगर्ने तपाईंहरु । राजनीतिक नियुक्ति गर्नुपर्यो भने पनि नगर्ने, हामीले तपाईंहरुको हितमा काम गर्नुपर्ने ? म त बोल्ने कुरामा, जवाफ दिने कुरामा पछि हट्ने खालको मान्छे होइन ।

तपाईंले त्यसो भन्दा देउवाले के भन्नुभयो ?

देउवा… हुन्छ बहादुर ।

हुन्छ बहादुर हुन् ?

हुन्छ बहादुर हुन् ।

तपाईंलाई कांग्रेसले हेप्यो त्यसो भए ?

किनभने स्थानीय तह चुनावको बेलामा पनि हामीलाई हेपेको हो हेर्नुस् । त्यसपछि प्रतिनिधिसभामा पनि त्यही गरेका हुन् । त्यसमा नम्बर एक कांग्रेस हो, नम्बर दुई माओवादी हो । माओवादी नि कम छैन । धेरै निर्वाचन क्षेत्रमा हराउन त लागेका हुन् नि माओवादीका नेताहरु ।

तपाईंलाई माओवादीका नेताहरुले पनि असहयोग गरे है ?

असहयोग मात्र होइन, खुलेआम हराउन लागे । त्यत्तिकै आँखा चिम्लिएर बस्छु त ? जे देखिएका छन्, जे भोगिएका छन्, त्यसको त जवाफ चाहियो त । कत्रा चुनौतीको सामना गर्दै हिंडिएको छ, दुई सिट भएको बीजेपी आज राष्ट्रिय शक्ति बनेको छ ।

गठबन्धनभित्र तपाईंलाई कांग्रेसले पनि माओवादीले पनि एक्लै पार्दा कस्तो अनुभव रह्यो ?

एक्लै पारे । त्यसमा पनि केही छैन । एक्ला चलो रे, एक्ला चलो रे भन्ने गीत गाउँदै (हाँस्दै) हिंडेको मान्छे । तर मलाई आँट के छ भने सही विचारको पक्षमा म उभिएको छु । स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न चाहन्छु । देशको हितलाई, जनताको सेवा गर्ने भावनालाई केन्द्रमा राखेको छु ।

केपी ओलीबाट टाढा पुर्याउन प्रचण्डको योगदान छ, पार्टी फुटाएर समाजवादी पार्टी बनाउन देउवाको योगदान छ, अहिले चाहिं एक्लै बनाए त ?

एकीकृत समाजवादी बनाउन देउवाको योगदान छ त कसरी भन्ने र । सबैको सहयोग छ । सबैभन्दा पहिलो कुरा त हाम्रो आँट न छ । हाम्रो संकल्प न हो । यो अरुले भनेर थोरै गरेको हो ? बरु हामीले गरेकोबाट अचम्म ठानेका हुन् । कसरी आँट गर्नुभयो माधवजीले भने । चन्द्रागिरिमा मैले लिएर गएको हो । सबै प्लान मैले बनाएको हो नि । अरु कसैको थोरै हो (हाँस्दै) । कसलाई थाहा थियो र ?

पार्टी फुटाउन २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य जे भए पनि पुग्ने भनेर गराइदिएको त देउवाले हो नि ?

२० प्रतिशत मानिरहेका थिएनन् । २० प्रतिशतभन्दा तल नझर भनेर मैले नै दबाव दिएको हो । मेरो दबावले नै मानेको हो । अरुले ३० प्रतिशत भनेका थिए, मैले ३० हुँदैन, २० गर्नुस् भनेको मैले हो । किनभने मैले क्याल्कुलेसन गरें । ३० पुगेर त फरक पर्दैन, तर २० भन्दा झर्दियो भने के गर्ने ? सबै कुरा सोचेर, क्याल्कुलेसन गरेर चल्नुपर्यो नि । त्यत्तिकै त हुँदैन नि ।

विभिन्न कारणले एक्लै बन्ने परिस्थिति बन्दा तपाईंका पार्टीका नेताहरुले के भन्दैछन् ?

हाम्रो पार्टीका साथीहरु एकताबद्ध भएर अघि बढ्ने पक्षमा छौं । केही नभएका त अघि बढिरहेका छन् भने हामी त सातै प्रदेशमा छौं ।

एमाले र माओवादी मिलाउने कोर्षमा तपाईं लाग्नुहुन्छ ?

कम्युनिष्ट आन्दोलन एकताबद्ध भएर अगाडि बढ्यो भने त्यसमा हाम्रो केको विरोध, किन विरोध हुन्छ र ? लडाईं केको लागि हो र ? कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टीको रूपमा चलेन भनेर न हो । कम्युनिष्ट पार्टीले क्रान्तिकारी चरित्र ग्रहण गरेन भन्ने न हो । आखिरमा समस्या कहाँबाट सुरु भएको तपाईंलाई थाहा छैन ? कम्तीमा बैठक बोलाइपाऊँ हजुर भनेको होइन हामीले ? होइन र ? प्रचण्ड, म, झलनाथ, वामदेव, नारायणकाजी श्रेष्ठ धुम्बाराहीमा रहेको कार्यालयमा त्यत्रो चिठी लेखेर केपीलाई बैठक बोलाइदिनुस् भन्यौं ।

हामीले भन्दा केपीले बैठक नबोलाएपछि सामूहिक रूपमा हामीले बहुमतको माग गर्‍यौं । अनि मात्र केपीले हो, तपाईंको चिठी मैले पाएँ, म तोक लगाउँछु भनेर जवाफ दिए । यसरी न हो समस्या खडा गरेको । बैठक हामी प्रतीक्षा गरिरहेका छौं । जम्मै बैठकमा बसेका छन् । बैठक जारी छ तर केपी त्यहाँ नआएर संसद भंग गरिदिए । यो परिस्थिति कसले सिर्जना गरिदियो भनेर त हेर्नुपर्‍यो नि !

यसलाई महसुस गर्ने वातावरण पनि बन्नुपर्‍यो भन्नुभएको ?

त्यही भनेको । त्यो रबैया बन्द हुनुपर्‍यो । कमिकमजोरीलाई सुधार्नुपर्‍यो । सुनिनुपर्‍यो । त्यो न हो । नत्र त चल्दै चल्दैन नि । यसरी त घर पनि चल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?