+
+
खगराज अधिकारीसँग अन्तर्वार्ता :

‘मुख्यमन्त्रीको जिम्मेवारी मेरै काँधमा आउने देखियो’

सबै दल र नेताहरुसँग छलफल भइरहेको छ । केन्द्रमा सरकार बनेपछि प्रदेशका लागि पनि सहज बाटो खुल्दै छ तर केही निर्णय हुन बाँकी नै छ । सबैले तपाईं नै हो मुख्यमन्त्री भनिरहनुभएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ पुष १३ गते १४:०७

१३ पुस, पोखरा । १० पुसमा एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा पोखरामा खगराज अधिकारी एमालेको गण्डकी प्रदेशसभा संसदीय दलको नेता चुनिए ।

मुख्यमन्त्री बन्ने उद्देश्य राखेर प्रदेशसभामा चुनाव लडेका खगराज केन्द्रमा नयाँ गठबन्धन बनेपछि उत्साहित छन् ।

मंगलबार साँझ खगराज पोखरास्थित आफ्नो घरमा प्रदेशका मन्त्रालयका कर्मचारीसँग छलफल गर्दै थिए । उनलाई बधाई दिनेहरुको ओहोरदोहोर पनि उत्तिकै थियो ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको १ सिट रहेको छ ।

केन्द्रमा सरकार निर्माणमा एक ठाउँमा रहेका दलहरु एमाले, माओवादी र राप्रपा मिलेमा गण्डकीमा सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्छ ।

नयाँ गठबन्धनको ठूलो दल एमालेको संसदीय दलको नेता भएकाले खगराजको मुख्यमन्त्री हुने सम्भावना अरु आकांक्षीको भन्दा बढी छ ।

उनीसँग अबको गण्डकी प्रदेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गरिएको कुराकानी :

कर्मचारीहरुसँग छलफल गर्दै हुनुहुन्थ्यो, मुख्यमन्त्री हुने भएँ भनेर तयारी थालिसक्नुभएको हो ?

त्यस्तो होइन । गण्डकी प्रदेशसभाको दोस्रो ठूलो दलको नेता, अब सत्ताको नेतृत्व वा साझेदार पनि हुने भयो भनेर बधाई दिन आउनुभएको हो । शपथ खाएकै छैन, कहाँ अहिले नै कर्मचारी बोलाएर छलफल थाल्छु र ? उहाँहरु संगठन (एमाले निकट कर्मचारी संगठन) कै भएकाले बधाई दिन आउनुभएको हो ।

कांग्रेस, माओवादीको गठबन्धन कायम रहँदासम्म बन्द रहेको मुख्यमन्त्रीको सम्भावनाको ढोका रातारात फ्याट्ट खुल्योे होइन त ?

निरन्तर राजनीति गर्दा पद र सत्ताको ढोका कहिले खुल्छ, कहिले बन्द हुन्छ । समयले एक पटक जिम्मेवारी मेरो काँधमा दिने देखिएको छ । गण्डकीमा सरकार कस्तो बन्छ, कसको बन्छ भन्ने करिब करिब निश्चित भइसक्यो ।

सरकारका विषयमा साझेदार दलहरुसँग छलफल थालिसक्नुभएको हो ?

सबै दल र नेताहरुसँग छलफल भइरहेको छ । संसदलाई प्रभावकारी बनाउन नेपाली कांग्रेसका साथीहरुसँग अब संवाद सुरु गर्छु । माओवादी, राप्रपासँग कुरा भएको छ । केन्द्रमा सरकार बनेपछि प्रदेशका लागि पनि सहज बाटो खुल्दै छ तर केही निर्णय हुन बाँकी नै छ । सबैले तपाईं नै हो मुख्यमन्त्री भनिरहनुभएको छ । १८ गते हाउस (प्रदेशसभा बैठक) बोलाइएको छ, त्यसपछि प्रक्रिया सुरु होला ।

माओवादीले पनि गण्डकीमा मुख्यमन्त्री दावी गरिरहेको छ नि ?

गण्डकी माओवादीले नै पाएछ भने पनि म धेरै सम्मान गर्छु, सहयोग गर्छु । तर, गण्डकीमा एमालेकै काँधमा जिम्मेवारी आउने संकेत मैले देखेको छु ।

चुनावअघि त मेरो रुची संघमै हो भनी भनी प्रदेशमा लडेर जित्नुभयो, अब मुख्यमन्त्री नै बन्ने ढोका पनि खुलेको छ । अब त भनिदिनुस् नेताहरुले पृथ्वीसुब्बा गुरुङलाई संघमा तानेर तपाईंलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित प्रदेशमा टिकट दिएको हो कि होइन ?

हुँदै होइन, मेरो रोजाइ प्रतिनिधि सभा नै थियो । म संगठन विभाग प्रमुख थिएँ तर मेरो नाम प्रदेश सभामा आयो । मनोनयन दर्ता गर्नुअघिसम्म पनि कुनै शीर्ष नेताहरुले तँ अबको मुख्यमन्त्री हो भनेर भनेनन् । म संगठन विभाग प्रमुख र अनुभवी, टिकट दिइएकामध्ये सिनियर भएकाले मलाई अबको मुख्यमन्त्रीकै हिसाबले अगाडि सारिएको होला भन्ने अनुमान गर्न सक्थें ।

चुनावको नतिजा मूल्यांकन गर्दा मुख्यमन्त्री बन्ने ढोका खुल्ला भन्ने सोच्नुभएको थियो ?

चुनावअघि नै गण्डकीमा एमालेले बहुमत ल्याउँछ भन्ने हिसाब गरेकै थियौं । तर, हामीले गल्ती गर्‍यौं । मुस्ताङ, कास्की, तनहुँ, लमजुङमा हामी ओभर कन्फिडेन्ट भयौं । एमालेले एकल सरकार बनाउँछ भनेरै चुनावमा गएको हो तर परिणामपछि आफ्नो कमजोरीबारे जानकार भयौं । प्रतिपक्षमै रहन मानसिक रुपमा तयार नै थियौं । हाम्रा कारणले सरकार नबने परिस्थितिको निर्माण हुन नदिने तर प्रतिपक्षमा रहन तयार रहेकै थियौं ।

यसअघि नेकपा हुँदा र कांग्रेस नेतृत्वको गठबन्धन हुँदा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ३ पटक मन्त्री बने, हालसालै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । तपाईंहरुले अब फेरि सरकारमा निम्तो गर्नुहुन्छ ?

उहाँसँग चुनाव लड्नुअघि मेरो कुराकानी भएको थियो, त्यसपछि भने भएको छैन । जनताले सांसद बनाइसके भने हामीले पनि सम्मानपूर्वक नै व्यवहार गर्नुपर्छ । मन्त्री बनाउने ठाउँमा म अहिले पुगेकै छैन, त्यो विषयमा बोल्न हतारो हुन्छ । राजीव सांसद भएकाले सत्तारुढमै आउँछु भन्न पाउने भए, उनीबारे सोच्न सकिने नै पात्र हुन् । गण्डकीको एमाले संसदीय दल सबैलाई सम्मान गर्छ, त्यो बेलाकै परिस्थिति हेरेर निर्णय होला ।

गण्डकीमा संविधानले दिएको अधिकतम संख्या १२ जनाकै मन्त्रिपरिषद बनाइयो, यो अवश्यकताभन्दा ठूलो भयो भनेर आलोचनासमेत भइरहेको छ, तपाईंलाई मन्त्रालयको संख्या यही ठीक छ कि घटाउनुपर्छ भन्ने लाग्छ ?

मेरो चाहना मन्त्रालयको संख्या घटाउने नै छ । यति धेरै मन्त्रालय आवश्यक छैन भन्ने कुरामा म जानकार छु । तर, हामी सत्तारुढ घटकहरु बसेर छलफल गर्छौं, प्रतिपक्षको पनि राय लिन्छौं । जनताले यति धेरै मन्त्रालय भएको रुचीकर मानेका छैनन् । अरु प्रदेशले पनि मन्त्रालय नबढाएका होइनन् । तर नेता र दललाई व्यवस्थापन गर्न मन्त्रालय फुटाएर संख्या बढाइएको भनेर भएको आलोचना मैले सुनेकै हो ।

अघिल्लो दिनसम्मको ‘जानी दुश्मन’ भोलिपल्ट ‘जाने मन’ कसरी भयो एमाले–माओवादी ?

म सुरुदेखि नै एमाले–माओवादी मिल्नुपर्छ भन्ने पक्षमा थिएँ । पहिलेकै एकता जोगियोस् भन्ने पक्षमा थिएँ । पहिले पनि हामीले गल्ती गरेकै थियौं भन्ने लागेकै हो । अहिले पनि पूरै ठीक गरेका छौं भन्ने लागेको छैन । सत्ताका कारणले मात्र मिलेका थिए भन्ने फेरि प्रमाणित नहोस् । एमाले, माओवादी लगायत कम्युनिष्ट पार्टी, विचार सिद्धान्तका हिसाबले पनि मिल्नुपर्छ भन्ने देखाउने अवसर छ ।

विचार र सिद्धान्त मिल्ने त त्यस्तै हो, बरु सत्ता र कुर्ची स्वार्थले मिलेको गठबन्धनजस्तो देखिएन र ?

मेरा मित्रहरु माओवादीमा छन्, माओवादीका मित्रहरु कति एमालेमा छन्, मिले त एउटै पार्टीमा हुन्थ्यौं भन्ने धेरैलाई लाग्छ । परिस्थितिले त्यहाँ पुर्‍याएको हो । धेरै मान्छेलाई केपी ओली मिल्दै मिल्दैनन् भन्ने थियो, मिलेर देखाइदिए । एकीकृत समाजवादीलाई पनि मिलाउन सकिन्छ भन्ने थियो । तर, एकीकृत समाजवादीमा नेतृत्व मान्ने खालको भएन । माओवादीमा पनि दुबै खालको विचार थियो । एमालेले अन्तिम दिनसम्म सरकारकै निम्ति भनेर पहल गरेन । बनोस् न त गठबन्धनकै सरकार भनेकै हो ।

चुनावमा एकले अर्कालाई हराएपछि मिल्दा पनि फाइदै हुने रहेछ है ? प्रचण्डलाई प्रधानमन्त्री बन्नु थियो, तपाईंहरुलाई गठबन्धन तोड्नु थियो, होइन ?

एमालेलाई त घाटा भइसक्यो नि नेतृत्व नपाएपछि । देउवाले नसकेपछि बाँकी रहेको २ घण्टामा नै त हो एमालेले पहल गरेको । हेरिरहेका थियौं तर कुनै दौडधुप गरेनौं । पहिलो पार्टी उदासिन भएपछि एमाले अगाडि स¥यो । कांग्रेसले दुई वा दुईभन्दा बढी दल मिलाएर सरकार बनाउने कुरा फाल्यो मात्रै तर पछि आफ्नै नेतृत्वमा सरकार बनाउन खोज्यो र गठबन्धन टुट्यो ।

राजनीतिमा अन्तिम सत्य भनेको कुर्ची नै रहेछ होइन त ?

कुर्चीकै लागि मात्र राजनीति गरेको भए शेरबहादुर देउवाले कि तिमी होऊ नत्र मलाई देऊ भन्नुभएकै थियो त । अन्तिममा केपीलाई नै प्रधानमन्त्री बनाउने कि भनेर शेरबहादुर देउवाले छलफल गर्नुभएकै हो, तर ओलीले प्राथमिकता दिनुभएन । समय घर्किसक्यो, गठबन्धन टुटिसक्यो, ठूलो पार्टीले सरकार बनाउन नसकेपछि अरु दल मिलेको हो ।

मिल्नुहुन्न भन्ने नेताहरु हार्नुभयो र मिल्नुपर्छ भन्ने शीर्ष नेताहरुले जितेको पनि देखियो । विष्णु पौडेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङहरु मिल्नुपर्छ भनेर बोल्नुहुन्थ्यो र मिलाउन भूमिका पनि उहाँहरुकै देखियो होइन त ?

विष्णु पौडेल (चुनावमा) टार्गेटमै पर्नुभएको हो । उहाँ उतीर्ण हुनुभएको मात्रै हो । ५ सयभन्दा कम भोटले हामीले २८ सिट गुमाएका छौं । मिल्न भूमिका खेल्ने नेता त केपी ओली नै हो नि बरु । नतिजा आउनेबित्तिकै प्रचण्डलाई फोन गरेर मिलेर जाऔं भन्ने ओली नै होइन र ? नेतृत्वको निर्देशन र छलफलमै यो काम भएको हो ।

२०७४ सालको चुनावमा मतदाताले एमाले–माओवादीको गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमत दिँदा बीचमै टुट्यो । अहिले झन् अरु साना पार्टीहरु पनि छन्, कति टिक्ला ? ओलीले कहिलेसम्म प्रचण्डलाई प्रधानमन्त्री छोड्नुहोला ?

घटना, परिघटना र देशलाई परिस्थितिअनुसार हेर्ने हो । त्यो प्रवृत्ति त्यही चक्रमा घुम्दैन, अर्को चक्र बन्छ । संयमतापूर्वक अगाडि लानैपर्छ ।

विश्व राजनीतिको प्रभाव त छ नेपालमा । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि परिपक्क नै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नेतृत्व गर्दै सुशासन दिन्छौं भनेर आएको छ । उदीयमान छ भन्दैमा यसले केही जान्दैन भन्न त मिलेन । अरु नयाँ पार्टीलाई आफ्नो टाउको बचाउनु त छ । असम्भव भन्न मिलेन तर यो गठबन्धन बिग्रने सम्भावना कमै छ ।

गठबन्धनमा भएको भागवण्डा अनुसार एमालेको भागमा परेको राष्ट्रपति र सभामुखमा पार्टीले कसलाई पठाउला ?

राजनीतिक उचाइकै मान्छे हुन्छ, त्यो भन्दा बाहिरबाट हुँदैन । राष्ट्रपतिमा पनि पदको सम्मान भयो भन्ने व्यक्ति नै हुन्छ । सभामुखमा पनि ए ठीकै हो त भन्ने व्यक्ति आउँछ ।

राष्ट्रपतिमा सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीहरुको चर्चा सुनिन्छ !

सुवास नेम्बाङ सम्भावितभित्रकै व्यक्ति हो ।

सभामुख कास्कीले पो पाउन सक्छ कि !

कास्कीले पाउने सम्भावना पनि छ । (विद्या भट्टराई) उपसभामुखमा लड्नुभएकै हो । अध्ययनशीलता, स्वभाव, डिप्लोमेसीले उहाँ त्यो पदलाई न्याय गर्न सक्ने मान्छे पनि हो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?