+
+

एलन मस्कले एक वर्षमै गुमाए २ खर्ब डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १३:४६

स्पेस एक्स, टेस्ला, ट्वीटरलगायत कम्पनीका प्रमुख एलन मस्क सन् २०२१ को जनवरीमा विश्वको सबैभन्दा धनी व्यक्ति बने । सन् २०२१ को जनवरीमा उनको सम्पत्ति पहिलोपटक २ खर्ब डलर नाघेको थियो ।

उनी अमेजन सीईओ जेफ बेजोसपछि २ खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै दोस्रो व्यक्ति बनेका थिए । त्यस्तै सन् २०२१ को नोभेम्बर ४ मा उनको सम्पत्ति इतिहासकै धेरै अर्थात् ३ खर्ब ४० अर्ब डलर पुगेको थियो । ब्लुम्बर्गको रिपोर्टअनुसार पछिल्लो समयमा टेस्ला कम्पनीको सेयर मूल्यमा गिरावट आएसँगै उनको सम्पत्ति घटेर १ खर्ब ३७ अर्ब डलरमा झरेको छ ।

गत डिसेम्बर महिनाको मध्यसम्म पनि उनी विश्वका धनाढ्यहरुको सूचीको पहिलो स्थानमै थिए । तर हाल फ्रेन्च व्यवसायी बर्नार्ड आर्नल्टले उनलाई उछिन्दै सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

सन् २०२२ मा एलन मस्कको सम्पत्तिले नयाँ उचाइ मात्र छोएन सम्पत्तिमा तीव्र गिरावट पनि आयो । योसँगै उनी मात्र १३ महिनाको अवधिमा २ खर्ब डलर सम्पत्ति गुमाउने विश्वको पहिलो व्यक्ति बनेका छन् ।

सन् २०२२ मा टेस्ला कम्पनीको सेयर मूल्यमा ६५ प्रतिशतले गिरावट आएको छ । यसअघि सन् २०२१ को अक्टोबरमा टेस्ला कम्पनीको बजार मूल्य एक ट्रिलियन डलर नाघेको थियो । त्योसँगै टेस्ला उक्त कोसेढुंगा पार गर्ने एप्पल, माइक्रोसफ्ट, अमेजन र अल्फाबेट कम्पनीको क्लबमा सामेल भएको थियो ।

हुन त एलन मस्कको सम्पत्तिमा आएको गिरावटको सम्पूर्ण कारण टेस्लाको सेयर मूल्यमा आएको गिरावट मात्र होइन । तथापि मुख्य कारण चाहिं त्यही नै हो । टेस्लाको सेयर मूल्य पछिल्ला हप्तामा तीव्र रुपमा घटिरहेको छ र गत डिसेम्बर २७ मा कम्पनीको सेयर मूल्यमा ११ प्रतिशत गिरावट आएको थियो ।

गत अक्टोबरको अन्तिम हप्ता मस्कले ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गरे । त्यसयता उनले ट्वीटरबाट रकम बाहिर निकाल्ने कोसिस गरिरहेका छन् । उनी कम्पनीमा कर्मचारी कटौती गरिरहेका छन् भने खर्च कटौतीका अन्य उपाय पनि अवलम्बन गरिरहेका छन् ।

ट्वीटरको खर्च धान्नका लागि मस्कले आफ्नो टेस्ला कम्पनीमा रहेको उल्लेख्य सेयर बिक्री गरिसकेका छन् । ट्वीटर खरिद प्रक्रिया सुरु भएयता उनले आफ्नो टेस्ला कम्पनीमा रहेको २३ अर्ब डलरको सेयर बिक्री गरिसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?