+
+

कहाँ जाने हाइकिङ ? यी हुन् काठमाडौं आसपासका चर्चित रुट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ पुष २० गते ८:००

काठमाडौं । सहरको व्यस्त जीवनशैली, दिनभरको दौडधुप र तनाव । शरीर र मन दुवैले ‘रिफ्रेसमेन्ट’ चाहिरहेको हुन्छ । यस्तो अवस्थामा हाइकिङमा निस्किनु राम्रो विकल्प हुन सक्छ ।

नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मद्दत गर्छ । पछिल्लो समय हाइकिङमा निस्किनेहरुको संख्या बढेको छ ।

अहिले जाडोको समय छ । यो मौसममा यसै पनि व्यायाम गर्न जाँगर चल्दैन, जसले शरीर चुस्त हुन पाएको छैन । त्यसैले जाडो मौसममा हाइकिङको महत्व अझ बढ्छ । काठमाडौं उपत्यकामा रहेका केही हाइङि गन्तव्यको यहाँ चर्चा गरिएको छ ।

शिवपुरी

हाइकिङ दूरी : १६ किलोमिटर

काठमाडौंको बुढानीलकण्ठबाट शिवपुरी पदयात्रा रुटको सुरुवात हुन्छ । बुढानीलकण्ठबाट दुई किलोमिटर दूरीमा रहेको पानीमुहान निकुञ्जको प्रवेशद्वार हो । पश्चिम जंगलको ठाडो बाटो भएर शिवपुरी टुप्पोमा पुग्ने अनि बागद्वार, नागी गुम्बा हुँदै फर्किन सकिन्छ ।

घना जंगल, दायाँ-बायाँ हरिया रुखहरू, बीचमा ढुंगा ओछ्याइएको ठाडो उकालो । ठाडो उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुग्दा छुट्टै आनन्द महसुस हुन्छ ।

बागमती, विष्णुमतीका साथै अरू खोलाबाट पानी संकलन गरी काठमाडौं ल्याइएको छ । शिवपुरीमा जैविक विविधता अध्ययन गर्न सकिन्छ । डाँडाबाट उत्तरमा मुस्कुराइरहेका हिमाल देखिन्छन् र काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

फूलचोकी

हाइकिङ दूरी : १८ किमी

ललितपुरमा पर्ने फूलचोकी काठमाडौं उपत्यकाकै अग्लो डाँडा हो । गोदावरीबाट यहाँको हाइकिङ यात्रा सुरु हुन्छ । त्यहाँबाट फूलचोकी जाने दुई बाटो छन्, नौधाराबाट जंगलको ठाडो बाटो र कुण्डबाट कच्ची मोटर गुड्ने बाटो । फर्किंदा जुन बाटो गएको हो त्यही बाटो नै प्रयोग गर्नुपर्छ ।

त्यहाँबाट सगरमाथादेखि अरू दर्जनौं हिमाल देखिन्छ । सूर्योदय र सूर्यास्तको साथै काठमाडौं उपत्यका पनि छर्लङ्ग देखिन्छ । पुस–माघमा त्यहाँ हिउँ पर्छ ।

नगरकोट

हाइकिङ दूरी : १७ किलोमिटर

पर्यकीय गन्तव्य समेत रहेको नगरकोट हाइकिङका लागि पनि चर्चित गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरकोटको हाइङिका लागि चाँगुनारायण–तेलकोट ट्रेल सबभन्दा चल्तीमा छ । तेलकोट, जाल्पादेवी, डाँडाटोल, पिपलबोट, गडगडे हुँदै भट्टेडाँडा नगरकोट पुगिन्छ । प्रसिद्ध चाँगुनारायण मन्दिरबाट गाउँघर र खेतीपाती हेर्दै नगरकोट पुग्न सकिन्छ ।

सूर्योदय, सूर्यास्त र हिमाल हेर्न नगरकोट लोकप्रिय छ । नगरकोटबाट अन्नपूर्ण, गणेश, दोर्जे लाक्पा, लाङटाङदेखि सगरमाथा हिमालसम्म देख्न सकिन्छ ।

तारकेश्वर महादेव

हाइकिङ दूरी : १५ किलोमिटर

तारकेश्वर महादेवको मन्दिर काठमाडौं उपत्यकाको मुख्य सहरबाट नजिकै रहेको धार्मिक तथा पर्यटकीय केन्द्र हो । तारकेश्वर महादेव मन्दिरको हाइकिङ बालाजु बाइपासको तीनपिप्लेबाट सुरु हुन्छ । भुवनेश्वरी मन्दिरबाट पञ्च माने हेर्दै अगाडि बढ्दा तारकेश्वर महादेवको मन्दिर पुगिन्छ । शिवपुरी–नागार्जुन निकुञ्जभित्रको यो मन्दिरबाट हिमशृंखलासँगै काठमाडौं उपत्यका र त्रिशूली बजार देखिन्छ । यो रुटमा गुर्जुभन्ज्याङ हुँदै झोर झरना पुगेपछि हाइकिङ सकिन्छ ।

शिवपुरी–नागार्जुन निकुञ्जभित्रको यो मन्दिरबाट हिमशृंखलासँगै काठमाडौं उपत्यका र त्रिशूली बजार देखिन्छ ।

लाकुरी भन्ज्याङ

हाइकिङ दूरी : १५ किलोमिटर

ललितपुरको लाँकुरीभञ्ज्याङ १ हजार ९७७ मिटर उचाइमा छ । लाँकुरीभञ्ज्याङलाई केन्द्रमा पारेर थुप्रै हाइकिङ रुट छन् । तर भक्तपुर सूर्यविनायक–पाइलटबाबा–लाँकुरी भञ्ज्याङ हुँदै लुभु चर्चित रुट हो ।

पाइलटबाबा डाँडाको शिरैशिर भएकाले यो रुटबाट काठमाडौं उपत्यकासँगै विभिन्न हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरीभञ्ज्याङ उपयुक्त छ ।

सुन्दरीजल

हाइकिङ दूरी : १४ किलोमिटर 

एक दिनको बिदामा हाइकिङ जान चाहने तर त्यसका लागि धेरै समय पैदल यात्रामा बिताउन नचाहनेका लागि सुन्दरीजल उपयुक्त गन्तव्य हुन सक्छ । काठमाडौंबाट १४ किलोमिटर उत्तरतर्फ रहेको सुन्दरीजल पुग्न शिवपुरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षा क्षेत्र हुँदै जानुपर्छ ।

सुन्दरीजलबाट मूलखर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट छ । सुन्दरीजलबाट शिवपुरी वा नगरकोट हाइकिङ पनि गर्न सकिन्छ । मूलखर्कबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै झुले जाने अर्को हाइकिङ ट्रेल पनि छ । त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ ।

सुन्दरीजल रुटमा यहाँको रमणीय दृश्यका लागि मात्र नभएर नेपालको दोस्रो पुरानो जलविद्युत आयोजनाका लागि पनि लोकप्रिय छ ।

तारेभीर 

हाइकिङ दूरी : ६ किमी

काठमाडौंको उत्तरी क्षेत्र बुढानीलकण्ठ हुँदै जान सकिने तारेभीर हाइकिङको आकर्षक गन्तव्य हो । साथै गोकर्णस्थित निजामती शहीद स्मृति पार्क नपुग्दै गोकर्णेश्वर महादेव मन्दिरबाट सुन्ताखान गाउँ हुँदै उकालो लाग्दा पनि हुन्छ ।

यहाँबाट देखिने काठमाडौं उपत्यकाको चारैतिरको सुन्दर दृश्यले जो कोहीको मन लोभ्याउँछ । यहाँ सूर्यास्तको दृश्य हेर्न थुप्रै मानिस जाने गर्छन् । तारेभीर चढ्दै गर्दा सल्लाघारीमा चराचुरुङ्गीको चिरबिरले यात्रा रोमाञ्चक बनाउँछ । बीचबीचमा देखिने सहर र प्रकृतिको मज्जा लिंदै यो रुटमा यात्रा गर्न सकिन्छ ।

चन्द्रागिरि 

हाइकिङ दूरी : १२ किमी

चन्द्रागिरि काठमाडौं उपत्यकाको अर्को चर्चित हाइकिङ रुट हो ।  २ हजार ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर छ । यहाँ पुग्न विभिन्न रुट प्रयोग गर्न सकिन्छ ।

कीर्तिपुर मच्छेगाउँबाट हिंडेर छापडाँडा हुँदै चन्द्रागिरि पुग्दा करिब १२ किलोमिटर दूरी पूरा गर्नुपर्छ । थानकोटबाट पनि चन्द्रागिरि पुग्ने बाटो छ । यसको दूरी एकतर्फी करिब ६ किलोमिटर छ ।

चन्द्रागिरिबाट काठमाडौं उपत्यकाका साथै विभिन्न हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । बुट्यानसहितको घना जंगल पर्ने भएकाले यो रुटमा चितुवालगायत जंगली जनावरसँग पनि जम्काभेट हुन सक्छ ।

हाइकिङको तयारी गर्दा ध्यान दिनुपर्ने कुरा

हाइकिङ जानुअघि त्यहाँको रुट, जनजीवन, मौसमबारे जानकारी लिनुपर्छ । लौरो, सन ग्लास, क्याप वा ह्याट तथा सन प्रोटेक्सन क्रिम जस्ता सामग्री साथमा लैजान छुट्याउनुपर्छ हुँदैन । त्यस्तै जुत्ता र पोसाक हिंड्न सजिलो हुने किसिमको लगाउनुपर्ने फोटो पत्रकार भरतबन्धु थापा बताउँछन् ।

वर्षायाममा हाइकिङ जाने हो भने रेनकोट र छाता लैजान बिर्सनु हुँदैन । अधिकांश हाइकिङ रुटमा जंगल पर्ने भएकाले हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री लिएर जान थापा सुझाउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?