+
+
Shares

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते २१:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ।
  • विभागले सो अवधिमा निषेधित स्थानका लागि पदयात्रा अनुमतिपत्र जारी नगर्ने जनाएको छ।
  • विभागले जोखिम क्षेत्रभित्र पुगेका पर्यटकलाई सुरक्षित स्थान वा आश्रयस्थलमा बस्न र यात्रा स्थगित गर्न आग्रह गरेको छ।

१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो ।

विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ ।

विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ ।

मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ । विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?