ग्रेट हिमालयन ट्रेल (जीएचटी) को अवधारणा बेलायती नागरिक रबिन बाउस्टेडले सन् २००९ मा सार्वजनिक गरेका हुन् । उनको नेतृत्वमा सन् २००८–२००९ मा १६२ दिन लगाएर पहिलो पटक यो यात्रा पूरा गरिएको थियो । एक व्यक्तिको प्रयासले ग्रेट हिमालयन ट्रेलप्रति चासो बढ्दै गयो । हिमाललाई आधार बनाएर तयार भएको लामो दूरीको पदमार्ग अहिले विश्वभर परिचित छ ।
पूर्वमा ताप्लेजुङको कञ्चनजंघा आधार शिविरदेखि सुरु हुने यो ट्रेल उच्च हिमाली भञ्ज्याङको बाटो हो । यसले नाङ्गोला र लुम्बासुम्बा पार गर्छ । त्यसपछि एभरेस्ट क्षेत्रका आम्फु लाप्चा, वेस्ट कोल, इस्ट कोल तथा रोल्वालिङको तासी लाप्चाजस्ता चुनौतीपूर्ण पास छिचोल्छ ।
लाङटाङको तिलमान पास हुँदै डोल्पाको उच्च भञ्ज्याङका प्राकृतिक रुप हेर्न सकिन्छ । डोल्पाबाट मुगा निस्किने निग्माग्याजेन पार गरेर हुम्लाको हिल्सा पुगेपछि करिब १७०० किलोमिटरको यो यात्रा टुङ्गिन्छ । यसलाई हिमालको काखको साहसिक मार्ग भन्न सकिन्छ । सन् २०१२ मा नेपाली ट्रेल वाकर आप्पा शेर्पाले ९९ दिनमा यो ट्रेल पूरा गरेका थिए ।
नेपालको हिमाल क्षेत्र अपार प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक विविधताले भरिपूर्ण छ । यति धेरै प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि यो क्षेत्रका धेरै मानिस अझै गरिबीमा डुबेका छन् । प्राकृतिक सुन्दरताले धनी क्षेत्रको जीवनयापन कष्टपूर्ण छ । राज्यको पहुँच पुग्न नसक्दा सामान्य स्वास्थ्य उपचारको अभावमा बाच्नका निम्ति संघर्ष गर्नुपर्ने बाध्यतामा छ ।
रोमाञ्चक यात्राको सुरुवात
नेपाल विदेशीले मात्र घुम्ने होइन । परदेशको २७ वर्ष लामो संघर्षपछि स्वदेश फर्किएको मलाई नेपालको हिमाल घुम्ने रहर थियो । त्यो रहरले ग्रेट हिमालय ट्रेलको यात्रा गराएको हो । लामो समयको योजना र तयारीपछि २०२६ मे १ मा काठमाडौँबाट यात्रा सुरु भयो ।
धरान, धनकुटा हुँदै तमोर करिडोरको बाटो ताप्लेजुङको फुङलिङ बजार पुग्दासम्म गाडीको यात्रा सहज भयो । पाँचथर र तेह्रथुम जिल्लाको बीचमा लमतन्न सुतेर बगिरहेको तमोर नदीको किनारैकिनार हामी चढेको गाडीले गन्तव्य पूरा ग–यो । नदी र मानव सभ्यताको सम्बन्ध निकै गहिरो छ ।
संसारका अधिकांश सभ्यता नदीकै किनारबाट सुरु भएका हुन् । तमोर करिडोर पहिले पैदल मार्ग थियो । हिउँदमा मिल्के डाँडामा हिउँ पर्दा ताप्लेजुङका बासिन्दा तेह्रथुमको आठराई सङ्क्रान्ति हुँदै तमोर झर्थे । नदीलाई पछ्याउँदै मूलघाट भएर धरान नुन किन्न आउँथे । हिउँ नपरेका बेला भने उनीहरू गुफापोखरी–वसन्तपुर–धनकुटा हुँदै यात्रा गर्थे ।
माओवादी सशस्त्र संघर्षको कालमा यो बाटोलाई गुरिल्ला सडक पनि भन्यो । माओवादीका लडाकुसँगै नेता र कार्यकर्ताले यो बाटोलाई उपयोग गरेर पूर्वी क्षेत्रमा पार्टी विस्तार गरेका थिए । वास्तवमा यो करिडोरले पूर्वी नेपालको पर्यटनन क्षेत्रमा ठूलो ढोका खोलेको छ । ओलाङचुङगोला हुँदै तिप्तला चीन नाकासम्म जाने पर्यटक र यात्रुका लागि निकै सहज भएको छ ।

तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी लोकमार्गको माझिटार कटेपछि कावेली खोलाको पुलमा पुगिन्छ । कावेलीको पानी निलो र सेतो छालमा नाच्दै बगिरहेको दृश्यले मन लोभ्याउँछ । कावेली तरेपछि पाँचथरलाई छोड्दै ताप्लेजुङ जिल्लामा पुगिन्छ । साँघुरो र घुमाउरो उकालो पार गर्दै मे २ को दिउँसो करिब २:३० बजे फुङलिङ बजारको ‘स्नो लेपर्ड होटल’ पुग्यौँ । लिम्बुवानको पहिचान बोकेको तातो तोङ्बाको स्वादसँगै हामीले त्यो दिनको यात्रा समापन गर्यौँ ।
हिउँको बर्कोमा फुङलिङ
भोलिपल्ट बिहान आँखा खोल्दा फुङलिङ बजार बाक्लो कुहिरोको बर्कोमा गुटमुटिएको थियो । आकाश नै जमिनतिर झरेझैँ वरिपरिका दृश्य धुम्मिएका थिए । मानौँ, यो पहाडी बजार अझै निद्रामै छ । केही बेरमै मौसमले अचानक रूप फेर्यो । मुसलधारे पानी पर्न थाल्यो । टिनको छानामा परेका पानीका थोपा झन् जोडले बज्न थाले । गल्लीमा भल बग्न थाल्यो । यात्राको सुरुवातमै प्रकृतिले आफ्नो कडा उपस्थिति जनायो । प्रकृतिको यो रुपमा यात्रा सजिलो हुने छैन भन्ने सङ्केत दियो । तर, प्रकृतिसँग डराएर बस्ने छुट हामीलाई थिएन ।
पूर्व योजना अनुसार केही बेरमै जिप आइपुग्यो । जेन्जी ड्राइभरले मुटु थर्काउने सङ्गीत बजाउँदै तमोर भीरको कच्ची सडक छिचोलेर गाडी अगाडि बढाए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सेकाथुमतर्फको यात्रा सुरु भएसँगै हामी कञ्चनजंघा क्षेत्रभित्र प्रवेश गर्यौँ ।

यात्राका क्रममा एउटा तीतो यथार्थ पनि देखियो । जलविद्युत् आयोजनाका कारण ठाउँ–ठाउँमा तमोर नदी कुलोजस्तै देखिन्थ्यो । नदी सुक्दा यसको पर्यावरण, माछा र साहसिक जलयात्रा (र्याफ्टिङ) पर्यटनमा ठूलो असर परेको देखियो । तमोर नदीमा मात्रै करिब दर्जन जलविद्युत् परियोजना चलिरहेका छन् भन्ने सुनियो । तमोर नदीमा देखिएको परिवर्तनले विकास, प्रकृति संरक्षण र सन्तुलनको बहसलाई नेपाली जनमानसमा व्यापक रूपमा लैजानुपर्ने आवश्यकता देखियो ।
गाडी अघि बढ्दै चिरुवा, तापेथोक (फक्ताङलुङ गाउँपालिकाको केन्द्र) र रानीपुल हुँदै अगाडि बढ्यो । सिम्बुवा र तमोर खोलाको दोभान पार गर्दै, साँघुरो बाटो चढेर अन्ततः हामी सेकाथुम फेदीको जापानटार पुग्यौँ । यहाँका स्थानीयले पहिले जोसुकै विदेशीलाई पनि ‘जापानी’ भन्ने चलन भएकाले यो ठाउँको नाम नै ‘जापानटार’ रहन गएको रहेछ । जापानटारमा छोडेर नुवाकोटको जेनजी ड्राइभर फर्किए ।
घुन्सा किनारैकिनार पैदल यात्रा
जापानटार छोडेपछि घुन्सा खोलाको किनारैकिनार हाम्रो पैदल यात्रा सुरु भयो । खोलाको गर्जन, माथिबाट बर्सिएको पानी र वरिपरिको कुहिरो—प्रकृतिसँग जुध्दै हामी अगाडि बढ्यौँ । माथिल्लो पाहाडमा हाम्रा हरेक पाइलाले एउटा जित अनुभूत गर्थे । चिप्लो, हिलो बाटो कुनै उकालो त कुनैबेला ओरालोमा शरीर थामेर हिँड्नुपर्ने बाध्यता थियो ।
यात्रामा देखिएका तमोर र घुन्सा खोला पहाडका दुधालु गाईजस्तै लागे । यी पहाडी खोला पैदल यात्रु, जलविद्युत र अलैँचीको स्रोतका त्रिवेणी रहेछन्।

करिब एक घण्टापछि सेकाथुमको ‘इटहरी’ पुगेर खाजा खायौँ । उकालो–तेर्सो बाटो हुँदै जौबारी र त्यसको आधा घण्टापछि ‘लामाटार गेस्टहाउस’ मा बास बस्यौँ । त्यहाँ भेटिएका जोडी अमेरिकी वृद्धवृद्धासँग रमाइलो गफगाफ भयो । मैले ठट्टा गर्दै भनेँ, ‘तपाईंका राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण हिमालको फेदमै पनि महँगी बढेको छ ।’ उनीहरूले हाँस्दै ‘नमस्ते’ गरेर ‘माफ पाऊँ’ भन्न थाले । रमाइलो गफ यत्तिमै सकियाो ।
ओछ्यानमा पुगेपछि अर्को जादु सुरु भयो । घुन्सा खोलाको निरन्तर सङ्गीत र टिनको छानामा बज्ने पानीका थोपाको आवाज सुन्दा लाग्थ्यो प्रकृति आफैँले ड्रमसेट बजाइरहेको छ । आकाश र धर्ती जोडिएको त्यो धुनसँगै रात बित्यो ।
रेड पाण्डा देख्ने रहर अधुरै
बिहान सुक्खा रोटी र आलुको झोल खाएर यात्रा सुरु गर्यौँ । घुन्सा खोलाको बगरैबगर हिँड्दै झोलुङ्गे पुल तरेपछि केही शेर्पा दाजुभाइ भेटिए । उनीहरू जलविद्युतका लागि प्रयोग हुने ठूला पाइपको भारीसँगै उकालो चढिरहेका थिए । निधारबाट पसिनाको धारा बगिरहेको थियो भने लुगा निथ्रुक्क भिजेको थियो । त्यो दृश्यले मन छोयो ।
बिस्तारै यात्रा लेकाली भू–भाग पार गर्दै हिमाली वातावरणमा प्रवेश गर्यो । मालिङ्गो र ढुङ्ग्रे सल्लाको जङ्गलबीच चिसो हावासँगै हाम्रा पाइला अघि बढे । घुन्सा खोलाको आवाज सुरुमा मधुर सङ्गीतजस्तो लाग्थ्यो, तर बिस्तारै त्यो गनगनाएजस्तो महसुस हुन थाल्यो । कहिलेकाहीँ त लाग्थ्यो, ‘यो खोला एकछिन चुप लागेर बस्न सक्दैन र ?’
अलि अगाडि बढेपछि एउटा सानो सूचना बोर्ड देखियो— ‘रेड पाण्डा ह्याबिट्याट एरिया’ । मतलब त्यो रेड पाण्डाको वासस्थान क्षेत्र थियो । मनमा आशा पलायो– कतै देख्न पाइन्छ कि ! आँखा र कान चनाखो बनायौँ, तर भाग्यले साथ दिएन । यो क्षेत्र हिउँचितुवा, कस्तुरी मृग र नाउरको पनि घर रहेछ । अनुसन्धानकर्ताका अनुसार यहाँ ५०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छन् ।
गुरासको रेड कार्पेट
करिब तीन घण्टाको निरन्तर यात्रापछि हामी फल्लेक गाउँ पुग्यौँ । यो गाउँ कञ्चनजंघा संरक्षण क्षेत्रभित्रका ३५ मध्येको एक शान्त, सुन्दर र आत्मीय बस्ती रहेछ । हिमाल र धारिला चट्टानका बीचमा समथर जमिनमा बसेको यो गाउँ गुराँसले सिँगारिएको थियो भने झरनाले यसलाई अझ आकर्षक बनाएका थिए । पुराना काठका घर र ‘फल्लेक गेष्ट हाउस’ को तातो दालभातले मन फुरुङ्ग भयो । शरीरमा पूर्ण ऊर्जा भरियो ।
दिउँसोको खानापछि यात्रा झन् रोचक बन्यो । बाटोभरि ढुङ्गामा कुँदिएका तिब्बती अक्षरले इतिहास सुनाइरहेझैँ लाग्थ्यो । जताततै फुलेका गुराँसका फूलले हाम्रा लागि ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गरेझैँ देखिन्थ्यो । क्यामेलिया (चिनियाँ गुराँस), जसलाई ‘हिउँदको गुलाब’ पनि भनिन्छ । हिमालमा अरू फूलहरू सुषुप्त हुँदा पनि यो फुलिरहन्छ । आज ती फूलसँग हामी मुस्कुराइरहेका थियौँ ।

घडीले साढे तीन बजाउँदा हामी घुन्सा पुग्यौँ । समुद्री सतहदेखि करिब ३५०० मिटर उचाइमा रहेको घुन्सा गाउँ कञ्चनजंघा क्षेत्रको मुख्य बस्ती हो । त्यहाँको ‘होटल पिस’ विश्राम लियौँ ।
भोलिपल्ट बिहान घुन्सा खोलाको छेउछाउमा रहेका गुराँसलाई नियाल्दै यात्रा अघि बढ्यो । खोलाको पारिपट्टि रातो गुराँस र वारिपट्टि सेतो गुराँस फुलेको अनौठो दृश्य देखियो । निरन्तरको झरीले रुझ्दा वा पहिरोले यात्रा जोखिमपूर्ण बनाउँदा पनि हाम्रा पाइला रोकिएनन् ।
उचाइ बढ्दै जाँदा सिमसिमे पानी फुसफुस हिउँमा परिणत हुन थाल्यो । साना सल्लाका रूखमा सेतो हिउँ जम्दा ती ‘क्रिसमस ट्री’ झैँ देखिन्थे । छेन्मालुङ (काँडा), तारताङ र सेप्चेन (रिम्पोचेको पाइला) पार गर्दै करिब १२ बजे लावुकको टि–हाउस पुग्यौँ । बाहिर हिउँ निरन्तर परिरहेकै थियो । भित्र दाल–भात र आलु तरकारीले शरीरमा चार्ज भरियो । एकछिन आराम गरेर फेरि यात्रा सुरु गर्यौँ ।
लिम्बू संस्कृतिको सुगन्ध
लावुकको देब्रेतिर देखिने सेतो हिमाल र ६००० मिटर आसपासका चुचुरा नयाँ कोरिएको चित्रझैँ आँखा अगाडि थिए । बाटोभरि लिम्बू समुदायका पूजास्थल (फाल्गुनन्द पथ) देख्दा सांस्कृतिको सुगन्ध गहिरो महसुस हुन्थ्यो ।
४००० मिटरभन्दा माथि पुगेपछि रूखबिरुवा हराउँदै गए । नाङ्गा पहाड, चिसो हावा र उचाइले शरीरलाई चुनौती दिँदै थियो । वरिपरि टाङ्गा, सार्फु, नुप्चु, मेरा, खार्बु, घुन्साधार, फोले र कुम्भकर्ण हिमाल एक–अर्कासँग उचाई नाप्दै उभिएका थिए । हिमाल कहिले कुहिरोसँग लुकामारी खेल्थे त कहिले हामीलाई निर्लज्ज रुप देखाउँथे । करिब ४ बजे हामी खाम्पाचेन पुग्यौँ । थाकेको शरीरलाई याकको सुकुटी र तातो तोङ्बाले न्यानो बनायो, अनि दिनभरको सङ्घर्ष मिठो सम्झनामा बदलियो ।
आँखा खोल्दा चिसो सिरेटो र हिउँले स्वागत गरिसकेको थियो । हामी हिँडिरहेको यो बाटो १७८ वर्षअघि प्रसिद्ध वनस्पतिशास्त्री तथा अन्वेषक जोसेफ डाल्टन हुकर पनि हिँडेका रहेछन् । उनले आफ्नो डायरीमा लेखेका छन्– ‘जब मानिस ‘ट्री–लाइन’ (वृक्ष रेखा) भन्दा माथि पुग्छ, जहाँ ठूला रूख हराउँछन् र केवल साना रङ्गीन ‘अल्पाइन’ फूलहरू मात्र बाँकी रहन्छन्, तब प्रकृतिको सूक्ष्मता अझ स्पष्ट देखिन्छ ।’
साँचो हो, त्यो उचाइमा पुग्दा हिमालयको संसार नै फरक लाग्दोरहेछ । साना बुट्यान, दुर्लभ वनस्पति, चिसा झरना, पहिरोका घाउ र आकाशमा उडिरहेका पन्छी—यी सबै हाम्रा एकान्त यात्राका मौन साथी बनेका थिए । त्यो यात्राले हामीलाई एक किसिमको ‘मुभिङ मेडिटेसन’ (गतिशील ध्यान) को अनुभूति गराइरहेको थियो ।
हामी कञ्चनजंघा क्षेत्रकै सबैभन्दा जोखिमपूर्ण पहिरो क्षेत्र मानिने ‘खाण्डुप छुसेर’ पुग्यौँ । शेर्पा भाषामा ‘खाण्डुप’ को अर्थ पहिरो र ‘छुसेर’ को अर्थ झरना रहेछ । नामजस्तै त्यो ठाउँ पनि निकै डरलाग्दो थियो ।

यो जोखिमपूर्ण उकालो पार गर्दा भोकले शरीर नै कमजोर भइसकेको थियो । गोजीमा भएको बिस्कुट टोक्दै बल्लतल्ल १० बजेतिर रामादाङ पुग्यौँ । खुला ठाउँ भएकाले त्यहाँ असाध्यै चिसो थियो । हिउँ निरन्तर परिरहेको थियो । हिमालको यात्रामा हरेक संकटलाई रोमाञ्चक नबनाएसम्म एक पाइला हिँड्न सकिँदैन । कष्टलाई लुकाएर यात्राको आनन्दलाई बोकेर हामी निरन्तर अगाडि बढ्यौँ ।
भोक मेट्न तातो दालभात र हाफ फ्राइ अण्डा खाएर अगाडि बढ्यौँ । केही समयको निरन्तर हिँडाइपछि हामी लोनाक पुग्यौँ । ४७८० मिटर उचाइमा रहेको यो ठाउँको नाम शेर्पा भाषाबाट राखिएको रहेछ, जहाँ ‘लो’ को अर्थ कालो र ‘नाक’ को अर्थ पहाड हुन्छ । कालो पहाडको वरिपरि दुई–चारवटा साधारण होटल रहेछन्, तर हामी पुग्दा हिउँले ढाकेर ती सबै सेता देखिन्थे । हिउँले ढाकेको लोनाकमा झोला बिसायौँ ।
कञ्चनजंघा बेस क्याम्प—पाङपेमा
कञ्चनजंघा बेस क्याम्पको पदयात्रा विश्वकै सबैभन्दा उत्कृष्ट तर कठिन मानिन्छ । हिँड्दा हिँड्दै एक यात्रीले प्रतिक्रिया दिँदै भनेका थिए, ‘मलाई यो क्षेत्र मनपर्छ, किनकि यो अझै पनि अत्यन्त जङ्गली, प्राकृतिक र कसैले नछोएको महसुस हुन्छ।’
दायाँपट्टि रामथाङ हिमाल बिहानको सुनौलो घाममा सजिएको थियो । बीचमा हिमताल र कञ्चनजंघा ग्लेसियर (यालुङ हिमनदी) लमतन्न फैलिएका थिए । दायाँपट्टि ड्रोमो हिमालको फेदीतिर नाउरहरूको बथान उफ्रिँदै–नाच्दै गरेको देखिन्थ्यो । बेला–बेला पुङ्मा डाँफेले गीत गाएर यात्रालाई अझ रमाइलो बनाइदिन्थे ।
नाउर आफ्नो क्षेत्रमा जति रमाए पनि हाम्रो यात्रा सहज थिएन । बाटोभरि अग्ला र जोखिमपूर्ण भिर तथा पहिरो पार गर्नुपर्ने अवस्था थियो । माथिबाट कतिखेर ढुङ्गा खस्छ भन्ने कुनै ठेगान थिएन । जोगिनका लागि एउटा आँखाले माथि ढुङ्गा खस्ला कि भनेर हेर्नुपर्थ्यो भने अर्को आँखाले तलको साँघुरो बाटोमा खुट्टा टेक्ने हेर्नुपर्थ्यो ।
हामी करिब ५००० मिटरको उचाइमा हिँडिरहेका थियौँ । प्रत्येक पाइला भारी बन्दै गइरहेको थिए । सास छोट्टिँदै थियो । हिउँको चिसो हावाले गाला छेड्लाझैँ हुन्थ्यो । यी सबै अवरोध चिर्दै हामी कञ्चनजंघा बेस क्याम्प उफ् पाङपेमा पुग्यौँ ।
प्रतिक्रिया 4