कुरा सुरु गरौँ ५,१४३ मिटरबाट ।
‘दाई, राजनीतिको कुरै नगर्नुस् !’
मैले आफ्नो परिचय दिइनसक्दै निषेधात्मक वाक्य फुट्यो दावा तेन्जिङ शेर्पाको ।
२०८२ कार्तिक ८ को साँझ, कञ्चनजंघा आधार शिविरमा थिएँ ।
‘किन ?’ मैले जान्न खोजेँ । म बुझ्नकै लागि त हिँडिरहेको छु ।
‘तपाईं हिँडेर आएको बाटो पनि हामी आफैँले बनाएको हो,’ त्यो उचाईको चिसोमा पनि उनी तात्तिए, ‘नेताहरूले केही गरेन, कुरा गर्छ, काम गर्दैन ।’
मैले राजनीतिको कुरा गरेको पनि थिइनँ । राजनीतिशास्त्रको विद्यार्थी हुँ मात्र भनेको थिएँ । राजनीति र नेताप्रति नागरिकमा कति वितृष्णा छ भन्ने एउटा दृष्टान्त हो यो ।
२२ वर्षीय दावालाई भेट्नुअघि फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)सँग भेटेको थिएँ । उहाँले कञ्चनजंघा आधार शिविर र ओलाङचुङ गोलाको विकासलाई लक्षित गरी सुविधासम्पन्न अस्पताल निर्माण गर्ने ‘गाउँपालिकाको सोच भएपनि पर्याप्त स्रोत नभएको’ सुनाएका थिए ।

आश्वासनको अवसान र आक्रोशको आरम्भ कसरी हुन्छ ? भनिरहनु पर्दैन ।
ओलाङचुङ गोलाका स्थानीय छेतेन फिन्जो (गिरिजा दाइ)ले मसँग कुरा गर्दागर्दै एकपटक प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठाउँमा आएको सम्झिए । ‘यहाँको समस्या मैले बुझेँ,’ ओलीको आश्वासन सम्झिँदै गिरिजाले भनेका थिए, ‘तमोरमा तीनओटा पुल बनाउनुपर्ने रहेछ, त्यो बन्छ ।’ दोस्रो पटक प्रधानमन्त्री बनेका ओली त्यसपछि पनि दुई पटक प्रधानमन्त्री बन्नुभयो । तीन पुल बनेका छैनन् ।
संयोगले म अहिले झापा क्षेत्र नम्बर ५ मा आइपुगेको छु । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो आश्वासन पूरा गर्ने अन्तिम अवसर पाउनु होला/नहोला यहाँका मतदाताको हातमा छ ।
उसो त डेढ अर्बको दमक भ्यू टावर ठडएकाएका भएका ओलीलाई आफ्नै मतदातालाई अडाउन गाह्रो हुने देखिन्छ । गौरीगञ्जबाट गौरादह आउने सडक छेउ सरकारी जग्गामा बसोबास गर्दै आएका ७२ वर्षीय हालताङ माझीले ओलीबाट आफूहरू निराश भएको बताए । ‘जग्गा दिन्छु भन्थे, दिएनन्,’ आगामी चुनावबारे चासो राख्दै उनले भने,’जसले जग्गा दिन्छ, उसैलाई भोट दिने हो ।’

आश्वासन दिन सजिलो, आधार दिन गाह्रो ।
ओलाङचुङ गोलाबासीलाई भरपर्दो सडक र पुलले जोडिदिए विकास हुन्छ भन्ने छ । एसियन हाइवे बन्दै गरेको झापामा केही वर्ष पहिले कालोपत्रे भइसकेको हुलाकी मार्गले पनि खुशी दिलाउन सकेको छैन । विकासको बुझाई स्थान सापेक्षित छ ।
एकैछिन पाँचथरको तीनसीमाना पुगौँ ।
सिक्किमको स्वतन्त्र अस्तित्व भारतमा विलय भए पनि जनजिब्रोमा तीनसीमानाको स्वाद मेटिएको छैन । कञ्चनजंघा र फक्ताङलुङ साक्षी छन् आँखै अघि काखैको देशको उदय र विलयको ।
फालेलुङ–३ तीनसीमानाको तीन हजार भन्दा बढी उचाइमा बरफ जम्ने चिसोमा आगन्तुकलाई न्यानो बनाउन दाउरा जोड्ने भीम थाम्सुहाङको मनमा कहिलेकाहीँ चीसो पस्छ । आफ्नो श्रमको मूल्य नपाएको महसुस हुन्छ उनलाई, ‘यहाँ दाउरा काट्ने म मात्रै हो, आगो तापेको १०० रुपैयाँ दिए पनि घाटा लाग्दैन ।’

पाँचथरबाट इलाम झरौँ । इलामको गजुरमुखी नजिकै सडक निर्माणमा खटिएका एक युवकलाई सोधेँ, ‘कहाँ बस्नुहुन्छ ?’ ‘हामी त मजदुर हो दाइ, थोरै कमाइ हुन्छ, परिवार पनि हेर्नै पर्यो,’ अस्थायी आवास बनाउनु पहिले स्थायी अवस्था बताएर थपे,’कहाँ राम्रोमा बस्नु, पर टहरा छ, त्यहीँ बस्छौँ ।’ करडौँ, अर्बौँको आयोजनामा केही लाखले सुरक्षित हुने मजुदरको जीवनलाई महत्व दिएर नीति बनाउन नसकिने हो र ?
स्थानीय सरकारको गठनपछि गाउँगाउँमा, टोलटोलमा सडक पुगेको छ । घरघरमा बिजुली पुगेको छ । तर, मजदुरको मनमा उज्यालो छर्न सकेका छैनौँ । नजिक–टाढा, साना–ठूला खोला खोल्सीबाट पानी पुर्याएका छौँ, पुर्याउन प्रयास गरिरहेका छौँ । तर, हामीले मजदुरको आत्मसम्मानमा प्राण भर्न सकेका छैनौँ । व्यवसायीलाई विश्वास दिलाउन सकेका छैनौँ । युवाहरूलाई भविष्य देखाउन सकिरहेका छैनौँ ।
विद्यालय तह पढ्दै गरेका बालबालिकाले पनि उच्च शिक्षाको भन्दा विदेश जाने सपना बोकिसकेका छन् । मेची पारीको नेपाली गाउँमा बिदाको दिन मकैको बिरुवामा झार र किरा मार्ने औषधी छर्किरहेका १४ वर्षीय दिलकुमार राजवंशीले ठूलो भएपछि दुबई या कतार जाने योजना सुनाए ।
विदेशबाट फर्केर जेसीबी चलाउने सोच पनि रहेछ उनको । कुन्जिबारीका एक किशोर विष्णु मुर्मुले हिमाञ्चल गएर मजदुरी गर्ने सोचेका छन् । नजिकैको कञ्चनजंघा आधार शिविर पुगेर हिमालमा आफ्नो प्रतिबिम्ब हेर्ने कुरा कहिले सोच्लान् ?मैले यात्रामा कुराकानी गरेका अधिकांश युवा र बालबालिकाले विदेश जाने योजना सुनाए ।

भदौ २३ र २४ गतेको घटनाले ०८४ मा हुने चुनावलाई ०८२ मै तानेको छ । नेताहरूलाई चुनावको चासो छ, जनतालाई पनि । तर, बाढी पीडित नागरिकलाई गासबासको चिन्ता छ । चुनावी माहोलको बारेमा सोध्दा पनि माई नगरपालिका–७ की ४२ वर्षीय हर्किमाया तामाङले आफ्नै पीडा पोखिन् । ‘चुनाव भन्दा पनि बाढीले धानखेत बगायो,’ उनले भनिन्,’अब किनेर खाने होला ।’ किनेर खान कमाई हुनु पर्यो, कमाई हुन काम । आश्वासन खाएर त अघाइँदैन !
त्यसैले त लाखौँ नेपालीहरू काम गर्न परदेशिएका छन् । वैदेशिक रोजगारीको आम्दानीले घर पक्की बनेका छन् । भलै सम्बन्ध चर्किएको चर्काचर्की पनि यात्राको दौरानमा नजिकबाट नसुनेको होइन ।
जे होस् विकासको मापन सडक र व्यक्तिगत सफलताको मापन धन मात्र होइन भन्ने मान्ने हो भने गौरीगञ्ज गाउँपालिका अध्यक्षमा फूलमती राजवंशी निर्वाचित हुनु पनि राजनीतिक र सामाजिक विकासको सूचक हो ।

मुस्लिम बस्तीका बालबालिका विद्यालय जानु पनि सामाजिक र शैक्षिक विकासको सूचक हो । पूर्वाधार र सामाजिक विकासलाई आर्थिक विकाससँग जोड्नु आजको आवश्यकता र चुनौती दुवै हो । केही भएकै छैन भन्ने भाष्य पूर्ण सही छैन, विकासै विकास भएको छ भन्नु जत्तिकै ।
अब जोसुकैले चुनाव जिते पनि काखबाट उठ्नुपर्ने छ । कहिल्यै नउठ्ने गरी कलिला जीवन ढलेको, जगै हल्लिने गरी संचरनाहरू जलेको अवस्थाबाट जीवन दिनुपर्नेछ ।
०००
एसियन मापदण्डमा स्तरोन्नति हुँदै गरेको महेन्द्र राजमार्ग र केही वर्षअघि कालोपत्रे भएको हुलाकी राजमार्ग छेउछाउको झापामा धेरै भिन्नता छ । हुलाकी मार्ग आसपासमा अवस्थित गुजमुज्ज फुसका बस्ती हुँदै हिँड्दा मनमा लागेको थियो, आगलागीको जोखिम कत्ति धेरै छ ! तत्क्षण मनमा आएको थियो, सबैभन्दा सुरक्षित ठानिएको सिंहदरबार पनि त जल्यो, जोखिम कहाँ छैन र ? अफसोस त्यस्तो सोच आएको भोलिपल्टै कुञ्जिबारीको एउटा टोलको एक परिवारको भान्छाघरमा आगलागी भयो । फरक यति थियो कि सिंहदरबार (गाउँगाउँको सिंहदरबार)मा घटना घटाइएको थियो, यहाँ दुर्घटना भएको थियो । त्यतिबेला सिंगो देशको धरोहर जलेको थियो, यता एक परिवारको खाना पकाउने घर । त्यतिबेला आगो लगाउनेहरूको उत्सव थियो, यता आगो निभाउनेको दौडधुप । बेलैमा आगो नियन्त्रणमा लिइएपछि थप क्षति हुनबाट जोगियो ।
चार अंकको उचाईबाट सुरु गरेको कुरा दुई अंकको होचाईमा ओर्लेर टुङ्ग्याऔँ ।

भद्रपुरको पृथ्वीनगरबाट ५८ मिटरमा अवस्थित नेपालकै होचो ठाउँ कचनकवलतर्फ जाँदै गर्दा एउटा टोलमा रुवावासी चलिरहेको थियो । छिमेकी महिलासँग कारण सोध्दा एक युवाको विदेशमा मृत्यु भएको र शव लिन दुई लाख रुपैयाँ लागेको बताइन् । मनै मलिनो भयो ।
यात्रीलाई अडिरहने छुट हुँदैन । भौतिक मात्र होइन भावनात्मक रूपमा पनि ।

होचो ठाउँ नजिकै मुस्लिम बस्ती छ । फुसको बस्तीमा केही पक्की घर ठडिन थालेका छन् । त्यसमा विदेशकै कमाईको योगदान धेरै छ । विदेश बसेर गाउँमा पक्की घर बनाउनेमध्ये एक हुनुहुन्छ खालिक मिया । ३० वर्षीय मियाले १० वर्ष मलेसियामा काम गरेर घर बनाउनुभएको हो । काम गर्न फेरि पनि विदेश जाने योजना छ उहाँको, ‘नेपाल बसेर के गर्ने ?’
जंक फुड र फेक इन्फरमेसनले ग्रसित हुन थालेको नेपाली समाजमा चुनावले यी प्रश्नको जवाफ दिन सक्ला ?







तस्वीरहरू– विपिन श्रीस
प्रतिक्रिया 4