+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares
तथ्य र अफवाहको द्वन्द्व :

कसरी ‘कन्स्पिरेसी थ्योरी’ ले जर्मनीको चुनावी नतिजा बदल्यो?

जब एउटै पार्टीका ७ जना र कुल १६ जना उम्मेदवारहरूको मृत्यु भयो, तब जर्मनीको इन्टरनेट जगतमा त्रासको वातावरण छायो। एएफडीकी सह-अध्यक्ष एलिस वेइडेलले सामाजिक सञ्जालमा ‘४ जना उम्मेदवारको मृत्यु’ भन्दै पोस्ट गरेपछि यसले थप चर्चा पायो।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ फागुन २ गते १८:३६

पश्चिमा जगत, मूलतः युरोपलाई आधुनिक विश्व मानिन्छ। यसको आधुनिकताको मूल आधार भनेको यसले अपनाएको लोकतान्त्रिक विधि हो। लोकतन्त्रको वैधानिकताको मूल तत्त्व भनेको आवधिक निर्वाचन हो।

समयक्रम बित्दै जाँदा युरोपका विभिन्न देशहरूले अपनाएका लोकतान्त्रिक विधिहरूमाथि भने प्रश्नहरू उठ्दै आएका छन्। प्रविधिवाद व्याप्त भएका युरोपेली देशहरूमा प्रविधिको दुरुपयोगमार्फत आवधिक निर्वाचनका आधारस्तम्भहरूमा निरन्तर भइरहेका प्रहारहरूले गर्दा युरोपका लोकतन्त्रहरू परीक्षाको घडीमा छन्।

सन् २०२५ मा जर्मनीको स्थानीय निर्वाचनताका भएको एउटा घटनालाई लोकतन्त्रको आधारस्तम्भमा भएको प्रहारका रूपमा लिन सकिन्छ। उक्त घटनाले देशको लोकतान्त्रिक स्थिरता र सूचनाको सत्यतामाथि ठूलो प्रश्नचिन्ह खडा गरिदियो।

फेब्रुअरीको आम निर्वाचनमा दक्षिणपन्थी शक्तिको ऐतिहासिक उदय र सेप्टेम्बरको स्थानीय निर्वाचनअगाडि उम्मेदवारहरूको शृङ्खलाबद्ध मृत्युले जर्मनी मात्र होइन, पूरै विश्वको ध्यान खिचेको थियो।

तथ्य र अफवाहबीचको निकै धमिलो रेखाको असमञ्जसमा हामी ती घटनाहरूको नालीबेली हेर्ने प्रयत्न गर्नेछौँ।

फेब्रुअरी २०२५: सत्ता परिवर्तन र नयाँ राजनीतिक धार

फेब्रुअरी २३, २०२५ मा भएको सङ्घीय निर्वाचन (बन्डेस्ट्याग निर्वाचन) जर्मनीको ‘ट्राफिक लाइट’ गठबन्धन (एसपीडी, ग्रीन्स, एफडीपी) को पतनपछिको परिणाम थियो। आर्थिक मन्दी र आप्रवासन नीतिमा देखिएको असन्तुष्टिका कारण मतदाताहरूले परम्परागत धारलाई त्यागेर नयाँ विकल्प रोजे।

फ्रेडरिक मर्जको नेतृत्वमा अनुदारवादी गठबन्धन ‘सीडीयू/सीएसयू’ २८.५% मतका साथ सबैभन्दा ठूलो दल बन्यो। लामो र कठिन वार्तापछि मे ६, २०२५ मा मर्जले चान्सलरको रूपमा शपथ लिए।

सीडीयू/सीएसयूलाई अनौपचारिक रूपमा ‘युनियन पार्टीहरू’ वा ‘युनियन’ पनि भनिन्छ। यो जर्मनीका दुई राजनीतिक दलहरूको मध्य-दक्षिणपन्थी, इसाई लोकतान्त्रिक र रूढिवादी राजनीतिक गठबन्धन हो: जर्मनीको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र बभेरियाको क्रिश्चियन सोसल युनियन (सीएसयू)।

अति-दक्षिणपन्थी दल भनेर चिनिएको ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) २०.८ प्रतिशत मत प्राप्त गर्दै देशको दोस्रो ठूलो शक्ति बन्यो। एएफडीको अप्रत्याशित उदयले जर्मनीको राजनीतिमा ‘फायरवाल’ कमजोर भएको सङ्केत दियो।

यस निर्वाचनमा भने एसपीडी (सोसल डेमोक्रेटिक पार्टी) नराम्रोसँग पराजित भयो। निवर्तमान चान्सलर ओलाफ शोल्जको यो पार्टी १६.४ प्रतिशतमा मा सीमित भयो, जुन पार्टीको इतिहासकै सबैभन्दा खराब प्रदर्शनमध्ये एक थियो। एसपीडी जर्मनीको एउटा सामाजिक लोकतान्त्रिक राजनीतिक दल हो। यो समकालीन जर्मनीका प्रमुख दलहरूमध्ये एक हो।

सेप्टेम्बर २०२५: उम्मेदवारहरूको मृत्यु

फेब्रुअरीको निर्वाचनको कम्पन शान्त नहुँदै जर्मनीको सबैभन्दा ठूलो राज्य नर्थ राइन-वेस्टफेलिया (एनआरडब्ल्यू) मा सेप्टेम्बर १४ का लागि स्थानीय निर्वाचन तय भयो। तर निर्वाचनको केही हप्ताअगाडि उम्मेदवारहरूको मृत्युको एउटा अनौठो लहर सुरु भयो।

अगस्टको मध्यदेखि सेप्टेम्बरको सुरुसम्ममा कुल १६ जना उम्मेदवारहरूको निधन भयो। यीमध्ये ७ जना उम्मेदवारहरू दक्षिणपन्थी दल एएफडीका थिए। डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा यो समाचार शीघ्रताका साथ फैलियो। धेरैले यसलाई सुनियोजित हत्या वा राजनीतिक सफायाको संज्ञा दिए।

मृतक उम्मेदवारहरूको रिपोर्ट

आधिकारिक अनुसन्धान र प्रहरी रिपोर्टका अनुसार मृत्यु भएका मुख्य एएफडी उम्मेदवारहरू भने कुनै सुनियोजित हत्यामा नपरी रुग्णता, आत्महत्या र प्राकृतिक कारणले निधन भएका थिए।

रिपोर्टअनुसार ५९ वर्षीय वुल्फगाङ सेइजको अगस्ट १६ मा हृदयघातका कारण निधन भयो। त्यस्तैगरी ७१ वर्षीय वुल्फगाङ क्लिङ्गरको अगस्ट १९ मा प्राकृतिक र स्वाभाविक तवरले मृत्यु भयो।

त्यसैगरी ५९ वर्षीय स्टेफान बेरेन्डेसको अगस्ट २७ मा अचानक हृदय गति बन्द (सडन कार्डियक अरेस्ट) भई मृत्यु भएको रिपोर्टले जनाएको थियो।

अगस्ट २८ मा ६६ वर्षका राल्फ क्लाउस नोर्बर्ट लाङ्गेको मृत्युको कारणमा हृदयघातको शङ्का गरियो।

रेने हर्फोर्ड, जो आरक्षित उम्मेदवार थिए, उनको सेप्टेम्बर १ मा मिर्गौला रोगका कारण अस्पतालमा मृत्यु भएको कुरा रिपोर्टमा उल्लेख गरियो।

४२ वर्षका प्याट्रिक टिट्जेको सेप्टेम्बर १ मा भएको निधनलाई भने प्रहरीले पछि आत्महत्या पुष्टि गर्‍यो।

लामो समय बिरामी भएका ८० वर्षका हान्स-जोआचिम काइन्डको मृत्युलाई स्वाभाविक र प्राकृतिक मृत्यु भएको कुरा रिपोर्टमा उल्लेख गरियो।

जनमानसको त्रास

जब एउटै पार्टीका ७ जना र कुल १६ जना उम्मेदवारहरूको मृत्यु भयो, तब जर्मनीको इन्टरनेट जगतमा त्रासको वातावरण छायो। एएफडीकी सह-अध्यक्ष एलिस वेइडेलले सामाजिक सञ्जालमा ‘४ जना उम्मेदवारको मृत्यु’ भन्दै पोस्ट गरेपछि यसले थप चर्चा पायो।

जर्मन अर्थशास्त्री स्टेफान होम्बर्गले यसलाई ‘तथ्याङ्कीय रूपमा असम्भव’ भन्दै शङ्का व्यक्त गरे। एलन मस्कले पनि उक्त पोस्टमा केवल एउटा विस्मयादिबोधक चिह्न (!) लेखेर प्रतिक्रिया दिएका थिए।

दक्षिणपन्थी समर्थकहरूले यसलाई लोकतन्त्रको हत्या र राज्यद्वारा संरक्षित आतङ्कको रूपमा व्याख्या गर्न थाले। अझ अक्टोबर ७ मा हेर्डेकेकी नवनिर्वाचित मेयर आइरिस स्टल्जरमाथि छुरा प्रहार भएपछि जनतामा राजनीतिज्ञहरू असुरक्षित छन् भन्ने तथ्य झनै बलियो भयो।

राज्य र निर्वाचन आयोगको स्पष्टीकरण

बढ्दो तनावलाई मध्यनजर गर्दै नर्थ राइन-वेस्टफेलियाको गृह मन्त्रालय र प्रहरीले कडा विज्ञप्ति जारी गरे। अधिकारीहरूले भने, ‘हामीले सबै १६ वटा घटनाको गहिरो अनुसन्धान गरेका छौँ। यीमध्ये कुनै पनि घटनामा बाहिरी संलग्नता, विष प्रयोग वा हत्याको प्रमाण भेटिएको छैन। धेरैजसो उम्मेदवारहरू ५९ देखि ८० वर्षका थिए र उनीहरू पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।’

निर्वाचन आयोगले स्पष्ट पार्‍यो कि एनआरडब्ल्यू राज्यमा मात्रै २०,००० भन्दा बढी सिटका लागि हजारौँ उम्मेदवारहरू मैदानमा थिए। तर यति ठूलो समूहमा केही वृद्ध उम्मेदवारहरूको प्राकृतिक मृत्यु हुनु तथ्याङ्कीय रूपमा अनपेक्षित होइन। त्यसमाथि निर्वाचनको समयमा यस्तो हुनुलाई दुर्भाग्यपूर्ण संयोग भनेर भन्न सकिँदैन।

प्रशासनिक चुनौती

उम्मेदवारहरूको मृत्युले निर्वाचन प्रक्रियामा ठूलो प्राविधिक समस्या निम्त्यायो। जर्मनीमा निर्वाचनभन्दा हप्तौँ अगाडि मतपत्रहरू छापिएर ‘पोस्टल भोट’ (हुलाकी मतदान) मार्फत पठाइसकिएको हुन्छ।

मृत्यु भएका उम्मेदवारहरूको नाम मतपत्रमा कायमै रहेपछि निर्वाचन आयोगले हजारौँ मतपत्रहरू रद्द गरी पुनः छाप्नुपर्‍यो। यसले गर्दा निर्वाचनको खर्च मात्र बढेन, मतदाताहरूमा पनि अन्योल सिर्जना भयो।

निर्वाचनको नतिजा र सन्देश

सेप्टेम्बर १४ मा भएको स्थानीय निर्वाचनमा एएफडीले यी घटनाहरूलाई ‘भिक्टिम कार्ड’ को रूपमा प्रयोग गर्‍यो भनेर अनेकन व्याख्या-अपव्याख्याहरू गरियो। एएफडी पहिलो स्थानमा आउन सकेन तर नतिजामा भने आश्चर्यजनक परिवर्तन आएको थियो।

सीडीयूले पहिलो स्थान कायम गर्दै ३३.३% मत प्राप्त गरेको थियो। त्यस्तै एसपीडीले २२.१% मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो। एएफडीले १४.५% गरी तेस्रो स्थान प्राप्त गर्‍यो, तर पहिलेको चुनावमा प्राप्त मतमा झन्डै तीन गुणाले वृद्धि भएको थियो।

विपक्षीहरूले यसलाई ‘भ्रामक सूचनाको जित’ को रूपमा व्याख्या गरे। एएफडीले भने यो नतिजालाई षड्यन्त्रविरुद्ध जनताले दिएको जवाफ भन्यो।

लोकतन्त्रको वैधानिकतामा उठेको प्रश्न

२०२५ को जर्मनीको यो घटनाले आधुनिक लोकतन्त्रका अगाडि नयाँ चुनौती पेस गरेको छ।

निर्वाचनको समयमा भएको १६ जना उम्मेदवारको मृत्युलाई लिएर ‘नरसंहारकारी निर्वाचन’ को नाम दिनु त अतिशयोक्ति नै हुन जान्छ, तर यस रहस्यमयी मृत्युलाई स्वाभाविक र प्राकृतिक भनेर प्रस्तुत गरिनु कुनै पनि कोणबाट नैतिक भने देखिँदैन ।

एउटा ठूलो मानवसमूहले यस्ता गम्भीर घटनाहरूलाई पनि ‘कन्स्पिरेसी थ्योरी’ भनेर उपेक्षा गर्ने गरेको पाइन्छ। आधिकारिक तथ्य र प्रमाणले हत्या नभएको पुष्टि गरे तापनि यस किसिमका घटनाहरू र यसबाट निर्मित तथ्य-प्रमाणहरू भने अस्वाभाविक प्रतीत हुन्छन्।

चान्सलर फ्रेडरिक मर्जका लागि आगामी वर्षहरू चुनौतीपूर्ण हुनेछन्। उनले देशको अर्थतन्त्र मात्र होइन, समाजमा विभाजित हुँदै गएको विश्वासलाई पनि पुनर्स्थापित गर्नुपर्नेछ। त्यसभन्दा अधिक त लोकतन्त्रमाथि उठेका सन्देहहरूको समाधान गर्नुपर्ने ठूलो चुनौती उनको काँधमा छ।

(एजेन्सीहरूको सहयोगमा)

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?