+
+

बेलायतको वेल्सका लागि पर्यटन सद्भावना दूतमा सापकोटा

रासस रासस
२०७९ पुष २३ गते १२:५३

२३ पुस, काठमाडौँ । गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) का पर्यटन संयोजक सोम सापकोटा बेलायतको वेल्सका लागि पर्यटन सद्भावनादूत (टुरिजम गुडविल एम्बेस्डर) नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै सरकारले सापकोटालाई चार वर्षका लागि पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो ।  सापकोटालाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्तिपत्र हस्तान्तरण गरे ।

सो अवसरमा सचिव अधिकारीले लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध सापकोटालाई सरकारले दिएको जिम्मेवारीबाट यो क्षेत्र झनै बिस्तार र बलियो हुने विश्वास व्यक्त गरे । नवनियुक्त सद्भावनादूत सापकोटाले राज्यले आफूमाथि विश्वास गरेर दिएको जिम्मेवारीलाई मुलुकको हित र प्रवासी नेपालीको साथ लिएर सफलतापूर्वक निर्वाह गर्ने बताए ।

‘अन्य मुलुकका सदभावनादूतसँग पनि समन्वय र सहकार्य गर्दै पर्यटन मन्त्रालय, पर्यटन बोर्डसँगको साझेदारीमा सरकार–सरकारबीच प्रवर्द्धनात्मक अभियान चलाउने योजना बनाएको छु’ उनले भने ।

सन् २००७ देखि सन् २००९ सम्म एनआरएनएको पर्यटन प्रवर्द्धन समितिका सदस्य भएका सापकोटा सन् २०१३ देखि सन् २०१५ सम्म उपसंयोजक थिए र हाल संयोजक छन् ।

त्यस्तै सन् २०१६ देखि सन् २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । सापकोटा सन् २०१९ देखि २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जनप्रतिनिधिका रूपमा नियुक्त भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?