+
+

एनभीए क्लब च्याम्पियनसिप सुरु, पुलिसको दुवै टिमलाई सुरुवाती सफलता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:२७

२४ पुस, काठमाडौं । सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टिमले सुरुवाती जित हासिल गरेका छन् ।

दशरथ रंगशालास्थित राखेप कभर्डहलमा आयोजित प्रतियोगितामा महिलार्फ पुलिसले नयाँबजार सामाजिक युवा क्लबमाथि जित रचेको हो ।

अघिल्ला संस्करणमा पुरुषको टिम सहभागी गराएको नयाँबजारले यसपल्ट महिला टिम बनाएको हो ।

समूह ए अन्तर्गतको खेलमा उपाधि दावेदार पुलिसले २५–१०, २५–६ र २५–८ को एकपक्षीय जित निकाल्यो ।

यो समूहमा पुलिस र नयाँबजारसँगै एभरेष्ट भलिबल क्लब र न्यु डायमण्ड क्लब छन् । ८ टिम समावेश महिलातर्फ समूह बी मा एपीएफ, गण्डकी प्रदेश, कृष्णा सेकेण्डरी एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।

आइतबारै भएको खेलमा त्रिभुवन आर्मीले कृष्ण एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले कृष्णमाथि २५–३, २५–५ र २५–१० को जित निकालेको हो ।

त्यस्तै पुरुषतर्फ पुलिसले न्युटन भलिबल एकेडेमीलाई ३–० कै सेटमा हरायो । समूह सी अन्तर्गतको खेलमा पुलिसले २५–१६, २५–१७ र २५–१६ को सेटमा जित हासिल गरेको हो । पुरुषतर्फ ढोरपाटन स्पोर्टस क्लब र गण्डकी प्रदेश टिम पनि यही समूहमा छन् ।

१५ टिम सहभागी पुरुषतर्फको प्रतियोगितामा चार समूह बनाएर प्रतिस्पर्धा गराइएको छ । समूह ए र बी मा ३–३ तथा समूह सी र डी मा ४–४ टिम छन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेता टिमले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आइतबारै राखेप सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उदघाटन गरेका थिए । सम्बोधनका क्रममा उनले आसन्न एसियाली खेलकुदमा नेपालको पुरुष टिमलाई पनि सहभागी गराउन पहल गर्ने आश्वासन दिए । यसअघि नेपालले एसियाली खेलकुदमा महिला टिमलाई मात्र समावेश गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?