+
+

सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने समय घर्किंदै, नाउपाको निर्णय कुर्दै एमाले

जनक विष्ट जनक विष्ट
२०७९ पुष २७ गते १३:२६

२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिन केही घण्टा मात्र बाँकी रहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ठोस निर्णय दिन सकेको छैन ।

माओवादी र नाउपाको समर्थन लिएर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् तर नाउपाले निर्णय लिन ढिलाइ गर्दा अन्योल देखिएको छ ।

मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने वा नगर्ने विषयमा नाउपाका संस्थापक रेशम चौधरीले निर्णय नदिएका कारण प्रदेशसभा सदस्यहरु मौन छन् । नाउपाका संसदीय दलका नेता रामेश्वर चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको जानकारी दिए ।

‘अहिलेसम्म केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन भएको अवस्था छैन । हामी त्यसकै प्रतिक्षामा छौँ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘प्रदेश संसदीय दलले सोहीअनुसार निर्णय लिन्छ । हामी अहिले पनि छलफलमै छौं ।’

उता नाउपाका महासचिव रतन थापासहितका नेताहरु भने रेशम चौधरीसँग छलफल गर्न डिल्लीबजार कारागार पुगेका छन् । त्यहाँ उनीहरुले सुदूरपश्चिम सरकार गठनबारे छलफल गरेको स्रोतले बतायो ।

सत्ता साझेदार दलहरुबीचमा भएको सहमति अनुसार सुदूरपश्चिममा नाउपालाई उपसभामुख दिने तयारी छ । एमालेसहितको गठबन्धनले शीर्ष तहमा प्रदेश सरकार गठनका सम्बन्धमा नाउपाका नेताहरुसँग छलफल गरिरहेका छन् । नाउपाले अहिलेकै गठबन्धनलाई सहयोग गरेमा एमालेका रावल बुधबार नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि नाउपाका नेताहरुसँग छलफल जारी राखेको छ । प्रदेश सरकार गठन र सभामुखको मनोनयन लगायतका विषयमा छलफल गर्न बिहान ८ बजे बोलाइएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

भावी रणनीति बनाउन कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी छलफलमा जुटेका छन् । उनीहरुले उन्मुक्ति पार्टीलाई एमाले र माओवादीबाट अलग गरेर प्रदेश सरकार गठन गर्न प्रयास जारी राखेका छन् ।

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म छ भने सभामुखमा मनोनयन दर्ता गर्ने समय दिउँसो साढे २ बजेसम्म छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?