+
+
गफ स्टेसनमा गायिका प्रविशा अधिकारी :

‘गीत चल्नका लागि टिकटकमा भर पर्नुपर्ने अवस्था आयो, यो राम्रो होइन’

प्रविशाले सांगीतिक करिअर सुरु गरेको १३-१४ वर्ष भइसक्यो । एक हिसाबले उनीसँग पनि लामै भोगाइ छ । उनलाई अहिले सुगम संगीतमा चाहिं पहिलेजस्तो स्तरीयता कायम नभएको लाग्छ । यद्यपि समय र ट्रेण्ड पनि महत्वपूर्ण हुने उनको बुझाइ छ ।

खेम रिसाल खेम रिसाल
२०७९ पुष २८ गते २०:२०

काठमाडौं । गायकीको माधुर्य उही हो, उस्तै हो प्लेटफर्म पनि । चाहे स्टेजमा होस् वा स्टुडियोमा । फरक कति मात्र स्टेजमा दर्शकसँग साक्षतकार हुन्छ तर स्टुडियोमा त्यो रोमाञ्चकता हुँदैन । यद्यपि स्टुडियोमा गाउनुको अनुभव नितान्त अलग हुन्छ । त्यो शान्त र सौम्य वातावरणमा स्वर र सुरको सुरम्य संयोजन अनुभूत गर्नुको फेरि बिछट्टै स्वाद हुन्छ ।

गायिका प्रविशा अधिकारीले त्यही स्वाद अनुभूत गरेकी छिन्, जब उनी गाउनका लागि स्टुडियोमा खडा हुन्छिन् ।

‘मलाई चाहिं आफैंले आफैंलाई बुझ्दा रेकर्डिङमा बढी रमाउने रहेछु । स्टेजको लाइमलाइट भन्दा म यतै रमाउने स्वभावकी रहिछु । पछिल्लो समय चाहिं विस्तारै स्टेजमा रमाउने कोशिश गरिरहेको छु,’ अनलाइनखबरको गफ स्टेसनमा गफिंदै उनी भन्छिन् ।

प्रविशालाई देश-विदेशबाट कन्सर्टको निम्तो आइरहेको हुन्छ । भ्याएसम्म उनी त्यहाँ पुगेर श्रोता-दर्शकलाई मनोरञ्जन प्रदान गर्छिन् । ‘तर मेरो सांगीतिक करिअरको सुरुवात नै प्लेब्याक सिंगिङबाट भएकाले हुन सक्छ, स्टुडियो मलाई औधि प्यारो लाग्छ,’ स्टेजसँगको सानिध्यबारे उनी प्रष्ट्याउँछिन् ।

देशका विभिन्न ठाउँमा भइरहेका मेला-महोत्सवमा प्रविशा व्यस्त छिन्, सँगै स्टुडियोमा पनि दिनहुँजसो नयाँ नयाँ गीत रेकर्डिङका लागि उनी पुगिरहेकी हुन्छिन् । यसको तारतम्य मिलाउन पनि एउटा कलाकारलाई अलि सकस पर्न सक्छ । भन्छिन्, ‘दुवैलाई सन्तुलन मिलाइरहेकी छु, स्टेजमा अलि कम र स्टुडियोमा अलि बढी समय व्यस्त छु ।’

पहिलो गीत नै फिल्मका लागि

तिमी जहाँ छौं, म त्यहीं छु

तिमी घाम हौ, म छाया हुँ

मेरो मन हुन्छ तिम्रै वरिपरि

मायामा मायामा’

१३ वर्षअघि रिलिज भएको फिल्म ‘कसलाई दिउँ यो जोवन’को चर्चित गीतका शब्द हुन् यी । जुन गीतमा प्रविशा अधिकारीले स्वर दिएकी थिइन् । यो नै उनको डेब्यु गायन भन्दा फरक पर्दैन भन्छिन् उनी रिलिजको हिसाबले । जसमा उनलाई गायनमा राजन इशानले साथ दिएका थिए भने संगीत वसन्त सापकोटाले भरेका थिए ।

यो गीत गाउनुभन्दा केही महिनाअघि प्रविशाले फिल्म ‘बिदाइ’ मा प्रमोद खरेलसँग ‘प्रीतिको फूल’ बोलको गीत रेकर्ड गराएकी थिइन् तर त्यो गत ‘मायामा’ भन्दा पछि रिलिज हुन पुग्यो । ‘मायामा’ गीत हिट भयो, प्रविशा पाश्र्व गायिकाका रुपमा चर्चित हुन पुगिन् । एकपछि अर्को फिल्मबाट उनलाई गीत गाउनका लागि अफर आउन थाल्यो । यति सजिलै राष्ट्रिय स्तरमा चर्चित गायिका हुन्छु भन्ने उनले सोचेकी थिइनन् ।

‘झापामै रहँदा एक स्थानीय फिल्मका लागि गीत गाएकी थिएँ, निकै अघि । स्थानीय स्तरको त्यो गीत आम रुपमा सुनिएको पनि थिएन । मायामा गीतले मलाई साँच्चै भन्नुपर्दा नसोचेकै सफलता प्राप्त भयो,’ प्रविशा सुनाउँछिन् ।

एउटा कलाकारका लागि रियालिटी शोको कोच बन्नुले के अर्थ राख्छ ? प्रविशा भन्छिन्, ‘सांगीतिक करिअर र व्यक्तिगत प्रोफाइलका लागि ठूलो माने राख्छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजको कोच बन्दैछु भन्ने बित्तिकै त्यसले धेरै ठूलो एक्सपोजर दिन्छ ।’

गायिका बन्ने सपना प्रविशाको बाल्यकालदेखिको भने होइन । स्कुल पढ्दा उनी कहिल्यै स्टेज चढिनन् । घरमा गाउँथिन्, धेरै साथीलाई उनले गाउने गरेको समेत थाहा थिएन ।

‘भन्नुपर्दा म गायिका बन्छु, यसरी राष्ट्रिय स्तरमा चर्चित हुन्छु भनेर सोचेकै थिइनँ । गायन पेसा मलाई भाग्यले जुराएको हो भन्छु,’ सांगीतिक क्षेत्रमा लाग्नुको कारणबारे प्रविशा सुनाउँछिन्, ‘गीत त गाउँथे तर स्कुलको स्टेजमा कहिले पनि गाइनँ । पछि गीत चर्चित भएपछि मात्रै टिचरहरुले समेत प्रविशाले गीत पनि गाउने रहिछ भनेर थाहा पाउनुभयो ।’

बच्चाबेलामा गायिका बन्ने सपना पनि नदेखेको मान्छे गायिका नबनेको भए चाहिं के बन्नुहुन्थ्यो भन्ने गफ स्टेसनमा प्रश्न गर्दा उनी भन्छिन्, ‘गायिका नबनेको भए इन्टरप्रेनरतिर रुचि थियो, सायद आफ्नै केही बिजनेस गर्थें होला ।’

स्वर बचाउने टिप्स

गफ स्टेसनमा प्रविशाले आफूलाई पहिलोपटक चिनाएको गीत ‘मायामा’ गाइन् । निकै सुरिलो र कोकिल स्वरकी धनी यी गायिका आफ्नो स्वरलाई कसरी दुरुस्त राख्छिन् भन्ने जिज्ञासा हुने नै भयो ।

‘सिंगरले भोकललाई रेस्ट दिनुपर्छ । धेरै बोल्ने, हाँस्ने, चिच्याउने गर्दा स्वर फाट्न पनि सक्छ,’ स्वर निखार्ने र बचाउने टिप्स दिंदै प्रविशा भन्छिन्, ‘खानपानमा पनि ध्यान दिनुपर्छ । चिसो पानी र पेय पदार्थबाट टाढा रहनुपर्छ । तातो पानी पिनुपर्छ । तर खाना पूरै बार्नुपर्छ भन्ने पनि होइन, यसले कहिलेकाहीं खान मन लाग्यो भने असर गर्न सक्छ ।’

सुपारी, मदिरा र फ्रिजमा राखिएका खानेकुरा स्वरका लागि घातक हुन सक्ने उनी सझुाउँछिन् । स्वरलाई चुस्त, दुरुस्त राख्न गायक-गायिकाले रियाज गरिरहनु पनि जरुरी हुन्छ । प्रायः अधिकांश गायक-गायिका दिनहुँ रियाज गरिरहेका हुन्छन् ।

प्रविशा गफिइन्, ‘पहिले त यो मामिलामा म अलि अल्छी थिएँ, रेगुलर थिएन । अहिले चाहिं बिहानको समयमा सधैं रियाज गर्छु । बेलुकी पनि भ्याएसम्म रियाज गर्ने गरेको छु । कलाकारका लागि यो जरुरी छ ।’

भ्वाइस’को कोच बनेपछि अझ बढेको ‘हाइट’

प्रविशाले गायन रियालिटी शो द भ्वाइस अफ नेपालमा कोचको भूमिका समेत निभाइसकेकी छन् । हुन त यसअघि भ्वाइसकै किड्स शोमा पनि उनी कोच बनिसकेकी छन् ।

एउटा कलाकारका लागि रियालिटी शोको कोच बन्नुले के अर्थ राख्छ ? प्रविशा भन्छिन्, ‘सांगीतिक करिअर र व्यक्तिगत प्रोफाइलका लागि ठूलो माने राख्छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजको कोच बन्दैछु भन्ने बित्तिकै त्यसले धेरै ठूलो एक्सपोजर दिन्छ ।’

कुनै पनि शाको जज वा कोच बन्नु प्रविशालाई निकै भारी पद जस्तो लाग्छ । सुरुमा प्रस्ताव आउँदा उनलाई आफू त्यसका लागि लायक छु कि छैन भन्ने दुविधा थियो । ‘तर आत्मविश्वासले सबै काम गर्न सकें,’ प्रविशा अनुभव सुनाउँछिन् ।

जिन्दगीको यात्रामा भेट्ने, छुट्ने समय आइरहन्छ । रियालिटी शो भ्वाइस अफ नेपालमा पनि प्रविशाले हरेक साता आफ्ना कोही एक प्रतियोगीलाई बिदाइ गर्नुपर्थ्यो । यस्तो बेला उनी निकै भावुक हुन पुग्थिन् ।

‘सकेंसम्म हाँसीहाँसी बिदा गर्न सकौं भन्ने सोच्थें तर भनेजस्तो कहाँ हुन्थ्यो र ? किड्सको बेलामा भन्दा पनि यस पटक (भ्वाइसको सिजन ४) गाह्रो भयो मलाई । बच्चाहरुलाई त सम्झाउन पनि सजिलो हुन्थ्यो । बाहिर अडियन्सले चिनेका छन्, सांगीतिक यात्राको ढोका खुलेको छ भनेर ट्यालेन्टहरुलाई सम्झाउँथें,’ उनी स्मरण गर्छिन् ।

हिजोआज गीतको अडियो पक्षभन्दा भिडियोलाई बढी महत्व दिने गरेको देखिन्छ । यसमा पनि प्रविशालाई खास चित्त बुझेको छैन । अडियो कमजोर बनाएर भिडियोमा चलेका मोडलहरुलाई अभिनय गराएर मात्रै गीत-संगीत बलियो नहुने उनी बताउँछिन् ।

आफूले कहिल्यै नदेखेको व्यक्तिसँग सबैले चिनेकी गायिकाको विवाह

एक वर्षअघि प्रविशा वैवाहिक जीवन बाँधिइसकेकी छन् झापाकै निर्माण सिटौलासँग । निर्माण अमेरिकामा बस्छन् ।

तर प्रविशाको विवाहको कथा पनि रोचक छ । विवाहको कुरा चल्नुअघि उनले निर्माणलाई सुनेकी, देखेकी नै थिइनन् । निर्माणको घर पनि झापाको विर्तामोड चारआलीमै हो, प्रविशाको घरबाट केही मिनेटको दूरीमै भए पनि उनीहरुबीच कहिले भेटघाट चिनजान भएको थिएन ।

खासमा परिवारका सदस्यबाट उनीसम्म विवाहको प्रस्ताव आएछ । करिअरमै केन्द्रित हुने सोचमा रहेकी प्रविशालाई तत्काल विवाह गर्ने सोच नै थिएन । घरपरिवारका सबैले रुचाएपछि उनले नाइँ भनिन् ।

‘मेरो लागि अप्रत्यासित थियो विवाह । एरेन्ज लभ म्यारिज भन्नुपर्छ यसलाई । नभेटीकनै, नदेखिकनै मैले उहाँलाई स्वीकार गरें,’ प्रविशा सुनाउँछिन्, ‘त्यसअघि विवाहको लागि तयारै थिइनँ म, करिअरमै फोकस्ड थिएँ । विवाहप्रति रुचि पनि थिएन । मेरो घर छेउमै भएकाले ठीकै होला भन्ने लागेर भेट्यौं । भेटेर कुरा गर्दै जाँदा दुवैलाई ऐना हेरेजस्तै भयो । यत्तिको मान्छेसँग जिन्दगी चल्छ भनेर विवाह गर्ने निर्णय गर्‍यौं ।’

एउटी चर्चित गायिकाको विवाह आफूले कहिल्यै नदेखेको मानिससँग भन्दा अचम्म लाग्दैन भन्ने प्रश्नमा प्रविशाको बुझाइ छ, ‘१० वर्ष चिनेको मान्छेलाई पनि पछि बुझ्न नसकेर छुट्टिनुपरेको सुन्दै आएका छौं । मोटामोटी स्वभाव त छोटै भेटघाट र कुराकानीमा पनि थाहा हुन्छ नि । मेरो हकमा त्यही भयो ।’

निर्माण हाल अमेरिकामै छन्, प्रविशा यता । टाढा भए पनि आफूहरुबीच डिजिटल माध्यमबाट बारम्बार भइरहने कुराकानी र एकअर्काको हेरविचारले नजिक गराउने उनी सुनाउँछिन् । आफ्नो करिअरका लागि श्रीमानबाट उच्च सहयोग र साथ पाएको प्रविशाले महसुस गरेकी छिन् ।

‘विवाहपछि सपोर्ट एकदमै पाएको छु । खुसी लाग्छ । रिसाउने, बाझ्ने हामी दुवैको स्वभाव छैन । कम्युनिकेसन नै राम्रो कुरा हो । कुरा सेयर चाहिं धेरै गर्नुपर्छ, कुनै पनि कुराको असमझदारीलाई हटाउन सकिन्छ,’ आफूहरुको खुसीको राजबारे उनी खुलाउँछिन् ।

अक्सर विवाहपछि श्रीमानको सोचअनुसार चल्नुपर्ने नेपाली समाजको परिपाटी अझै छ । प्रविशा यो मामिलामा निकै भाग्यमानी ठान्छिन् आफूलाई । विवाहपछि उतै (अमेरिका) गएर बस्ने सोच उनले बनाएकी छैनन् ।

‘श्रीमान् भएको ठाउँमा जाँदै नजाने भन्ने त हुँदैन, प्रोसेसिङ त भइरहेको छ तर उतै सधैं बस्ने भन्ने हुँदैन । एकअर्काको सहजता अनुसार यता, उता बस्ने भन्ने भइहाल्छ,’ प्रविशा भन्छिन्, ‘मेरो करिअर नै म्युजिक नै भएकाले यसलाई चटक्कै छाड्ने कुरा हुँदैन । अहिलेको परिवेशमा गाह्रो त छैन नि जुन ठाउँमा भए पनि ।’

करिअरको बारेमा उनले आफूले बुझेको कुरा श्रीमानलाई बुझाएको प्रविशा सुनाउँछिन् ।

म्युजिक भिडियोमा बढी केन्द्रित भयौं कि ?’

प्रविशाले सांगीतिक करिअर सुरु गरेको १३-१४ वर्ष भइसक्यो । एक हिसाबले उनीसँग पनि लामै भोगाइ छ । उनलाई अहिले सुगम संगीतमा चाहिं पहिलेजस्तो स्तरीयता कायम नभएको लाग्छ । यद्यपि समय र ट्रेण्ड पनि महत्वपूर्ण हुने उनको बुझाइ छ ।

‘अहिले धेरै गीत राम्रा आइरहेका छन्, नयाँ प्रविधि र नयाँ सोचका छन् । कतिपय गीत भने लहडमा पनि आइरहेका छन्, जुन सधैंजसो हुन्छ नै,’ अहिलेका गीत-संगीतबारे प्रविशाको मूल्यांकन छ, ‘टाइम, ट्रेण्डले पनि गीत-संगीतलाई प्रभाव पार्छ । पहिलेका गीतहरु नियममा बनेर बनाइन्थ्यो । अहिले अहिले अभ्यास चाहिं कम हुन्छ । आधुनिक गीतहरु भने पहिले जस्तो नआएको हो कि जस्तो लाग्छ ।’

नयाँपुस्ताका संगीतकर्मीहरु निकै सिर्जनशील रहेको उनी सुनाउँछिन् । सँगै गीत चल्नका लागि टिकटकमा भर पर्नुपर्ने अवस्थाले भने उनलाई चिन्तित तुल्याएको छ । टिकटकमा चलाउनकै लागि एक लाइन भाइरल खालको राख्नुपर्ने प्रवृत्तिले भने फाइदा नगर्ने उनी बताउँछिन् ।

‘यसमा दुःख लाग्छ । टिकटकमा चलाउन क्याची लाइन बनाउने होडबाजी चलेको छ । यसले अलि खिन्न चाहिं बनाएको छ । कति राम्रा गीतहरु टिकटकमा नजाँदा ओझेल परिरहेको हुन्छ,’ प्रविशाको दुःखेसो छ ।

हिजोआज गीतको अडियो पक्षभन्दा भिडियोलाई बढी महत्व दिने गरेको देखिन्छ । यसमा पनि प्रविशालाई खास चित्त बुझेको छैन । अडियो कमजोर बनाएर भिडियोमा चलेका मोडलहरुलाई अभिनय गराएर मात्रै गीत-संगीत बलियो नहुने उनी बताउँछिन् ।

‘अडियोलाई ध्यान नै नदिएर भिडियोमा बढी फोकस्ड गर्नु नेगेटिभ कुरा हो । कोही प्रोड्युसरले यसो गरिरहनुभएको छ भने यो उहाँहरुको मूर्खता नै हो, त्यसले गीत-संगीतलाई फाइदा गर्दैन,’ प्रविशा भन्छिन्, ‘यस्तो तरिकाले व्यावसायिक संगीतकर्मी र कलाकारलाई मारमा पारेको छ ।’

समस्या हरेक क्षेत्रमा हुन्छन्, त्यसलाई पार लगाउँदै जानु प्रकृतिको नियम नै हो । गीत-संगीत क्षेत्रमा पनि समस्यासँगै उत्साह साथै रहेको प्रविशाको बुझाइ छ ।

‘नयाँ कलाकारहरु यस्तो सिर्जनशील भएर आएका छन् कि भविष्य उज्ज्वल देख्छु । १० वर्ष अगाडिको जस्तो गीत अहिले ल्याएर पनि हुँदैन । समयको रफ्तारसँगै बदलिंदै गएको शैलीलाई पछ्याउनैपर्छ,’ उनी भन्छिन्, ‘यो जोडिन्छ डिजिटल व्यवस्थापन पनि । हामी अपडेट र अपग्रेड हुँदै सचेत भएर प्रविधिको प्रयोग गर्नुपर्छ ।

गफ स्टेसनको बिट मार्ने बेला उनले आफूभित्र लुकेर बसेको एक रुचि पनि सेयर गरिन्, डान्स । डान्सिङ नम्बर खासै नगाएकी गायिकालाई नाच्न एकदमै मनपर्ने रहेछ ।

प्रविशा भन्छिन्, ‘फुर्सद निकालेर डान्स क्लास लिउँ कि जस्तो लाग्छ अझै । डान्समा धेरै रुचि मलाई । तर यसमा रुचि भए पनि डान्सिङ गीत गाउने अफर चाहिं खासै आउँदैन है मलाई ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?