+
+

गण्डकीमा मन्त्रीको आकांक्षी गाहालाई अधिकारीले बनाए प्रमुख सचेतक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:१४

२८ पुस, पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलको प्रमुख सोतकमा रोशन गाहा मगर नियुक्त भएका छन् ।

मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले विश्वासको मत लिने अघिल्लो दिन गाहालाई प्रमुख सचेतक चयन गरेका हुन् ।

गाहा गण्डकी प्रदेशमा एमालेबाट लगातार दोस्रो पटक जितेर आउने एकमात्र सांसद हुन् । संविधान सभा सदस्यसमेत रहेका गाहालाई २०७४ सालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकारमा मन्त्री बनाउने तयारी थियो ।

मुख्यमन्त्रीका दाबेदार किरण गुरुङले सरकारमा नजाने अडान लिँदा गाहालाई अर्थमन्त्री बनाउने तयारी थियो । तर, किरण नै अर्थमन्त्री भएपछि गाहा वञ्चित भएका थिए । एमालेबाट दोस्रो पटक जितेर आउने अनुभवी सांसदसमेत भएकाले यसपटक गाहामगर पहिलो चरणमै मन्त्री हुने धेरैको अनुमान थियो ।

मुख्यमन्त्री खगराजले ३ पार्टीका ३ जनालाई मन्त्री बनाउँदा गाहा सरकारमा सहभागी भएनन् । एमालेबाट सीता सुन्दास, नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री बनेका छन् ।

गाहालाई अधिकारीले किन मन्त्री बनाएनन्, चर्चा र चासोको विषय बनिरहेको छ ।

गाहाले भने २९ गते मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सोही प्रयोजनका लागि मात्र आफूलाई प्रमुख सचेतक बनाइएको बताए । ‘विश्वासको मत लिन एमाले संसदीय दलमा ह्पि जारी गर्न काम चलाउका लागि मात्र प्रमुख सचेतक बनाइएको हो’, गाहाले भने, ‘पार्टी, संसदीय दल हाम्रै त हुन्, यो बचाएर लगेमात्रै पो मन्त्री बन्ने हो । २÷४ दिनमै थाहा भइहाल्छ ।’

नवलपुर–१ (२) बाट निर्वाचित गाहा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।

अधिकारीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन् । विश्वासको मत र मन्त्रिपरिषद बिस्तारबारे छलफल गर्न अधिकारी मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली र बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर फर्किएका छन् ।

अधिकारीले केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई पनि आफूलाई सहयोग गर्न अपिल गरेको बताए । अधिकारीले एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र एक गरी ६० सदस्यीय प्रदेश सभामा ३३ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?