+
+

नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते ६:५८
नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन एक पुल ।

२९ पुस, चितवन । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो ।

पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ ।

माघे संक्रान्तिका भक्तजन तथा अन्य यात्रुहरुलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरु आउने गर्दछन् ।

अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सो सडक खण्डमा पर्ने तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भएकाले सडक नै बन्द गरेर काम गर्नुपरेको हो । यी चार कठिन भूगोलमध्ये अझै बढी चुनौती चिसेन्जी खोला र तुइन खोलामा छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ ।

तोकिएको एक महिनाको अवधिमा पनि भित्तो काट्ने काम नसकिएपछि ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले थप २१ दिनको म्याद माग गरेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको लागि भित्ता काट्ने काम सकिए पनि चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काटेर सक्न बाँकी नै छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरे पनि स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने हो, सो बारेमा निर्णय लिने बताए । ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ चैत १० गते एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । हालसम्म नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन् । बाँकी १५ वटा पुल बनिरहेका छन् । १५ मध्ये पनि ९ वटा पुल निर्माण सम्पन्नको करिब अन्तिम चरणमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?