+
+

‘कालोपोथी’ लेखक अविनाशविक्रम शाहको आगामी फिल्म सनडान्सको प्रोजेक्टमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १७:०४

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा आफू निर्देशित फिल्म ‘लोरी’ले ग्राण्ड जुरी पुरस्कार जितेका अविनाशविक्रम शाहको अन्तर्राष्ट्रिय उपलब्धिको यात्रा तत्काल रोकिने छाँटकाँट छैन । उनको आगामी फिल्म ‘एलिफन्ट्स इन द फग’ विश्वचर्चित सनडान्स इन्स्टिच्युटको स्क्रिन राइटर्स ल्याब र स्क्रिन राइटर्स इन्सेन्टिभ परियोजनामा छनोट भएको छ ।

हलिउड म्यागजिन डेडलाइनका अनुसार शाहको उक्त प्रोजेक्टसहित विभिन्न मुलुकका अन्य १२ फिल्ममेकरका फिल्म पनि ती दुई परियोजनामा सामेल भएका छन् । विश्वचर्चित अमेरिकी फिल्म फेस्टिभल सनडान्सको आयोजक संस्थाले सन् २०२३ मा ती दुई परियोजना सञ्चालन गर्दैछ ।

यी कार्यक्रमका लागि सनडान्सले संसारभरबाट दुई हजार भन्दा बढी आवेदन प्राप्त गरेको थियो । छानिएका फिल्मका निर्देशकले सनडान्स इन्स्टिच्युटका कला परियोजना प्रमुख तथा निर्देशक मिसेल सेटर र फिचर फिल्म कार्यक्रमका उपनिर्देशक इलिसे म्याक्किमीको सल्लाह र मार्गदर्शनमा स्क्रिप्ट विकास गर्न सक्ने भएका छन् ।

स्क्रिन लेखन प्रयोगशाला यसैसाता सनडान्स माउन्टेन रिसोर्टमा हुँदैछ । ‘हामी कथाकारहरुको एक समूहले नयाँवर्षमा स्क्रिनराइटर्स ल्याब सुरुवात गर्दैछौं । यी काममा उनीहरुको अद्वितीय आवाज, व्यक्तिगत दृष्टिकोण र नसुनिएका कथामार्फत दर्शकलाई प्रभाव पार्ने शक्ति छ,’ सेटरले डेडलाइन म्यागजिनसँग भने ।

निर्देशक शाहको उक्त फिल्म नेपाल र फ्रान्सको सहकार्यमा बन्न लागेको हो । यो फिल्मले नेपाली समलिंगी महिलाहरुको समूहको कथा भन्छ । उनीहरु आफ्नो समुदायको छेउमा जम्मा भएका छन्, जंगली हात्तीहरूलाई जोगाउन गाउँमा गस्ती गरिरहेका छन् । आफ्नो स्वतन्त्र जीवन बाँच्ने उद्देश्य बोकेकी छोरी जब एकाएक बेपत्ता हुन्छिन्, परिस्थितिले रोचक मोड लिन्छ ।

शाहले लेखेको फिल्म ‘कालोपोथी’ सन् २०१६ मा ओस्कार अवार्डमा नेपालबाट सिफारिस भएको थियो भने उनका फिल्महरु बर्लिन र भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?