+
+

प्रधानमन्त्री कप महिला टी-२० : कर्णालीलाई हराउँदै प्रदेश १ टिम सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:४९

३ माघ, काठमाडौं । कर्णाली प्रदेशमाथि १० विकेटको जितसहित प्रदेश १ टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह बीमा रहेको प्रदेश १ शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । कर्णाली भने प्रतियोगितामा जितविहीन हुँदै बाहिरिएको छ ।

यो समूहबाट लुम्बिनी र मधेशबीचको विजेता टिम समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । यो खेल बुधबार हुनेछ ।

समूह ए बाट एपीएफ र सुदूरपश्चिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समूहको विजेता छुट्टयाउन यी दुई टिमबीचको खेल मंगलबारै हुँदैछ ।

इटहरीको जनता क्रिकेट मैदानमा खराव मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले ४० रनको लक्ष्य पाएको थियो । प्रदेश १ ले ४.५ ओभरमै विना क्षति विजय भेट्टाएको हो ।

उसका लागि ओपनरद्वय काजल श्रेष्ठले १५ बलमा अविजित १३ रन तथा कप्तान रुविना क्षेत्रीले १४ बलमा ३ चौका र १ छक्कासहित अविजित २२ रन जोडिन् । प्रदेश १ ले ५ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ११ ओभरमा ५ विकेट गुमाएर ३९ रनको योगफल बनाएको थियो । उसका लागि रमा बुढाथोकीले सर्बाधिक १८ रन जोड्नि । अन्तिम ओभरमा रनआउट हुनुअघि उनले २९ बलमा १ चौका प्रहार गरिन् । कर्णालीका अरु कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङमा ज्योति दनवार, रुविना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १–१ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेकी कप्तान रुविना खेलको प्लेयर अफ द म्याच बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?