+
+

मेयर हारेका दीपक सिंह बने राज्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ७:४०

२ माघ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावमा दीपकबहादुर सिंह हेटौंडा उपमहानगरपालिकाको मेयर उठेका थिए । ढाकाटोपी दौरा सुरुवालमा कोट, जुँगा र कालो चश्मामा सजिले सिंह आफ्नो हुलियाका कारण पनि चर्चित बने ।

स्थानीय चुनावमा उनी एकीकृत समाजवादीकी मीना लामासँग पराजित भए । ०५४ देखि चुनाव हारिरहेका सिंहका लागि यो हार नौलो थिएन ।

४ मंसिरको चुनावमा मकवानपुर-१ बाट उनले आफ्नै पार्टीका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राजनीति जीवनको पहिलो जित हात पारे ।

कमल थापालाई दाइ भन्ने सिंह लामो समयसम्म थापाको सहयोगी रहे । राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष भएपछि थापाले राप्रपा छाडे सिंह भने राप्रपामै रहे । राप्रपा छाडेपछि थापासंग रुष्ट भएका सिंहले एमालेसंग गठबन्धन गरेर चुनावमा गएका थापालाई नै पराजित गरे ।

पहिलो पटक सांसद भएर आएका सिंह आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व लिएको उर्जा जलस्रोत तथा सिचाई मान्त्रालयको राज्यमन्त्री नियुक्त भए ।

२४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय रहेका ६४ वर्षका सिंहलाई ०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले मकवानपुर जिल्ला विकास समितिको सभापति बनाएका थिए । चुनाव जित्नु अगाडिसम्म उनले पाएको सबैभन्दा ठूलो राजनीतिक पद यही हो ।

२०५४ मा पहिलोपटक हेटौंडा नगरपालिकाको मेयरमा राप्रपाबाट चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १२ सय मतले पराजित भए ।

२०५६ को प्रतिनिधिसभामा मकवानपुर-२ मा चुनाव लडेका उनी एमालेका विरोध खतिवडासँग र २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर-३ एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए ।

०६४ को संविधानसभा र ०७४ प्रतिनिधिसभा चुनावमा सिंहलाई राप्रपाले समानुपातिक सूचिमा राखेका थियो । तर, राप्रपाको मत गणितले उनलाई सांसद हुने मौका दिएन । समानुपातिक र प्रत्यक्ष गरेर ५ पटक चुनावी रिङबाट आउट भए सिंह ।
पराजयलाई आफ्नो नियति बनाइसकेका सिंहले सबै पराजय भुलाउनेगरी पहिलो जितमै राज्यमन्त्री बन्ने अवसर पाए ।

राप्रपाका केन्द्रीय सदस्य समेत रहेका सिंह राज्यमन्त्रीको शपथ लिनेबित्तिकै पशुपतिनाथको दर्शन गर्न गए । स्थानीय चुनाव र संसदिय चुनाव अगाडि पनि उनले पशुपतिनाथ मन्दिरलाई साक्षी राखेर भ्रष्ट्राचार नगर्ने कसम खाएका थिए ।

हेटौंडाका व्यवसायी समेत हुन सिंह । भ्रष्ट्राचार निर्मुल गर्नुलाई आफ्नो मुख्य एजेण्डा रहेको उनी बताउँछन सिंह ।

हेटौंडाका खिलप्रसाद गौतमका अनुसार सिंह असाध्यै अनुशासित मान्छे हुन् । हेटौडा उपमहानगरको चुनावका क्रममा उनले राज्यबाट पाउने सेवा सुविधामा आफनो तर्फबाट थपेर समाजसेवामा लगाउने घोषणा गरेका थिए ।

आर्थिक रुपमा सम्पन्न सिंह आर्थिक मामिलामा निकै कठोर रहेको सुनाउँछन् गौतम । भन्छन्, ‘उहाँ आर्थिक मामिलामा निकै कठोर मान्छे हो । अनुशासित र लोभ नभएको मान्छे हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?