+
+

प्रावि शिक्षकमा पनि मागभन्दा थोरै परीक्षार्थी मात्र पास

आयोगको तथ्यांक अनुसार ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ ।

नुनुता राई नुनुता राई
२०७९ माघ ८ गते १९:५७

८ माघ, काठमाडौं । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् ।

आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ र हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको परीक्षामा पनि माग अनुसार परीक्षार्थी पास हुन सकेका थिएनन् ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा मावि र निमाविको भन्दा सन्तोषजनक नतिजा आएको बताउँछन् । ‘केही जिल्लाहरुको नतिजा दुखद नै छ तर मावि र निमाविको भन्दा अलि राम्रै छ अहिलेसम्मको अवस्थामा’ उनी भन्छन् ।

आयोगका अनुसार पर्सा जिल्लामा २३७ पदका लागि भएको परीक्षामा ८९ जना मात्रै पास भएका छन् । यहाँ लिखित परीक्षामा जम्मा १२१ जना सहभागी भएकामा ८९ जनामात्र पास भएका हुन् ।

रौतहटमा १४५ पदका लागि भएको परीक्षामा ५५ जना, बारामा २५२ पदका लागि भएको परीक्षामा १३४ जना, सर्लाहीमा २३१ पदका लागि भएको परीक्षामा ६५ जना, धनुषामा ९९ पदका लागि भएको परीक्षामा ५५ जना, महोत्तरीमा १२८ पदका लागि भएको परीक्षामा ८० पास भएका छन् ।

त्यस्तै सप्तरीमा १६६ पदका लागि भएको परीक्षामा ८८, सिरहामा ११३ पदका लागि भएको परीक्षामा २५, दार्चुलामा १३२ पदका लागि भएको परीक्षामा १०२, बझाङमा ९६ पदका लागि भएको परीक्षामा ७७ र डढेलधुरामा ९४ पदका लागि भएको परीक्षामा ८५ जनामात्र पास भएका छन् । लिखित परीक्षामा पास भएका उनीहरुले अब अन्तर्वार्ता दिनुपर्नेछ ।

आयोगको तथ्यांक अनुसार माथिका ११ जिल्लामा १ हजार ४९३ पदका लागि भएको परीक्षामा ८५५ जना मात्रै उत्तीर्ण भएका छन्, ६३८ पद रिक्त छ ।

बाजुरामा ७३ पदका लागि भएको परीक्षामा ६५ जना, अछाममा १३७ पदका लागि भएको परीक्षामा १३५ जना, म्याग्दीमा १२६ पदका लागि भएको परीक्षामा ११२ जना, डोटीमा १४८ पदका लागि भएको परीक्षामा १३४ जना पास भएका छन् ।

दोलखामा २५१ पदका लागि भएको परीक्षामा २२३ जना, रामेछापमा १५४ पदका लागि भएको परीक्षामा ७१, सिन्धुलीमा २६५ पदका लागि भएको परीक्षामा २०६ जना, हुम्लामा ३५ माग गरिएकोमा ७ जना, मुगुमा ६५ जना माग गरिएकामा १३ जना, डोल्पामा ७२ जना माग गरिएकामा २८ जना, रुकुम पश्चिममा १५ जना माग गरिएकामा १ जना उतीर्ण भएका छन् ।

जुम्लामा ३१ जना प्राथमिक शिक्षक माग गरेकामा ३ जना, कालीकोटमा ६० जना माग गरेकामा १२ जना, जाजरकोटमा ७७ जना माग गरेकामा ५६ जना, दैलेखमा १३८ पदका लागि भएको परीक्षामा १३० जना मात्र उतीर्ण भए ।

मुस्ताङमा १७ रिक्त दरबन्दीको लागि ८ जना, पर्वतमा १५० रिक्त पदको लागि १३४, स्याङ्जामा २८६ पदको लागि २६० जना, नुवाकोटमा २९९ रिक्त पदको लागि २६० जना, सुनसरीमा १७४ जना माग भएकामा १४० जना, धादिङमा २२५ पदको माग हुँदा १८८ जना, मनाङमा १ जना माग गरिएकामा कोही पनि उतीर्ण भएनन् ।

किन भयो कमजोर ?

नतिजा कमजोर हुनुमा परीक्षा प्रणाली, शैक्षिक गुणस्तर र परिक्षार्थीको तयारी अपुगजस्ता कारण रहेको रामेछाप जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरत भट्टराई बताउँछन् । उनी भन्छन् ‘पहिलो त परीक्षार्थीको तयारी नपुगेको देखिन्छ । अर्को कक्षा १२ र स्नातक तहको परीक्षा प्रणाली कमजोर हुनु पनि हो ।’

उनका अनुसार कक्षा १२ र स्नातक तहको पढाइको गुणस्तर कमजोर भएको र विद्यार्थीले पनि विभिन्न उपाय लगाएर पास मात्र हुने प्रवृत्तिको असर शिक्षक सेवा आयोगको नतिजामा देखिएको हो । तर यो नतिजाले शिक्षक सेवा आयोगको जागिर खान नपढेपनि हुन्छ भन्ने बुझाइलाई गलत सावित गरिदिएकाले आगामी वर्षमा मिहिनेत गर्ने सम्भावना बढेको भट्टराई बताउँछन् ।

कालीकोटका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख प्रकाशचन्द्र धिताल परीक्षार्थीको तयारी नपुगेको बताउँछन् । ‘परीक्षामा सहभागी हुने र उत्तीर्ण हुनेको संख्या हेर्दा परीक्षार्थीको तयारी नपुगेको देखिन्छ’, उनी भन्छन् । आयोगको यो भन्दा अघिको पाठ्यक्रम अहिलेको भन्दा धेरै सहज भएको र यो वर्ष अलि कडा बनाएकाले परीक्षार्थीले पास गर्न नसकेको उनको भनाइ छ ।

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मधेश प्रदेशका अधिकांश जिल्ला, कर्णाली प्रदेशका जिल्लाहरुमा र समावेशी कोटाहरुमा उत्तीर्ण हुनेको संख्या न्यून देखिएको छ ।

आयोगले परीक्षार्थीको तयारी अभावकै कारण नतिजा कमजोर भएको हुनसक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा भन्छन् ‘केही जिल्लाहरुमा र समावेशी कोटाहरुमा नतिजा कमजोर देखिएको छ । परीक्षार्थीको तयारी नपुगेको देखिन्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?