+
+

‘जेरी’ लुक्समा यस्तो देखिए अनमोल र आना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १२:३२

काठमाडौं । कतिपय दर्शकको मत के छ भने अनमोल केसी एक्सनभन्दा लभस्टोरी फिल्ममै ‘क्युट’ देखिन्छन् । हुन पनि लिड हिरोको रुपमा अनमोलको पहिलो फिल्म ‘होस्टेल’ यही जनरामा आधारित थियो । उनले टिनएज प्रेमकथाका फिल्मबाट जसरी आफ्नो छवि निर्माण गरे त्यसले जेरी, ड्रिम्स, गाजलु र ए मेरो हजुरका दुई श्रृंखलामा पनि निरन्तरता पायो ।

कृ, क्याप्टेन र छड्के २ एक्सन एवं स्पोर्ट्स जनराका फिल्म थिए । ‘छड्के २’ फागुन १९ गते रिलिज तयारीमा छ । यसबाट उनले कस्तो प्रतिक्रिया पाउनेछन् भन्ने कुरा थाहा पाउन रिलिजसम्मै प्रतीक्षा गर्नुपर्ने हुन्छ । तर उनी यतिबेला नौ वर्षअघिको हिट फिल्म ‘जेरी’को दोस्रो श्रृंखला अर्थात् ‘जेरी ः अनटप’को तयारीमा व्यस्त भइसकेका छन् । निर्देशक हेमराज बीसीको यो प्रोजेक्टमा पनि उनले आना शर्मासँग अनस्क्रिन रोमान्स गर्दैछन् ।

झण्डै दशकको अन्तरालपछि अनमोल र आना स्क्रिन जोडीको रुपमा कमब्याक तयारीमा छन् । यसबीचमा यो जोडीलाई दर्शकले खोजिरहेका थिए । आनाको डेब्यु फिल्म तथा अनमोललाई लभस्टोरी फिल्ममा स्थापित गर्ने श्रेय बोकेको यो फिल्मको छायांकन फागुन अन्त्यदेखि सुरु हुँदैछ । ‘छड्के २’ रिलिज भएको एक सातामै छायांकनमा जाने तयारी छ ।

यतिबेला सबै कलाकारलाई लिएर ‘जेरी २’को कार्यशाला धमाधम चलिरहेको छ । उक्त एक्टिङ वर्कसपबाट केही ताजा तस्वीर सार्वजनिक भएका छन्, जसमा नौ वर्षअघिको जेरीलाई सम्झाउने आना र अनमोलको जेरी लुक्सलाई देख्न सकिन्छ । जेरी लुक्समा अनमोल टिनएज अवतारमा देखिन्छन् भने आना निर्दोष र मायालु देखिन्छिन् ।

निर्माता सरोज न्यौपाने नाममा दुई राखिए पनि ‘जेरी २’को कथावस्तु अघिल्लोभन्दा पूर्ण भिन्न रहेको बताउँछन् । ‘दर्शकले आना र अनमोलको जोडीलाई खोजिरहेका थिए । यति लामो ग्यापपछि हामीले उनीहरुलाई सधैं पर्दामा ल्याउन लागेका छौं । पक्कै पनि सिक्वेल बनाउनु चुनौतीपूर्ण हुन्छ,’ न्यौपानेले अनलाइनखबरसँग भने । न्यौपानेले यसअघि सम्बोधन र ग्याङस्टर ब्लुज फिल्म निर्माण गरिसकेका छन् ।

‘जेरी २’ लाई लुक्ला, सगरमाथा आधार शिविर, काठमाडौं, अष्ट्रेलिया र क्यानडामा छायांकन गर्ने तयारी छ । फिल्म निर्माणमा न्यौपानेले अष्ट्रेलियाली गैरआवासीय नेपाली रामकृष्ण श्रेष्ठसँग सहकार्य गर्दैछन् ।

‘होस्टेल’ निर्देशक हेमराज बीसी र अनमोल दुवैको डेब्यु फिल्म हो । त्यसपछि यी दुईको ‘जेरी’ सहकार्यले फिल्मलाई ब्राण्डको रुपमा स्थापित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?