+
+

स्याङ्जाको विर्घामा ‘मातृभूमि’ पुस्तकालय सञ्चालनमा

रासस रासस
२०७९ माघ १३ गते २०:४३

१३ माघ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ विर्घामा मातृभूमि पुस्तकालय सञ्चालनमा आएको छ । जापान सरकारको शान्ति भोलेन्टियर एशोसियसन, रिड नेपाल र स्थानीय समुदायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी सरस्वती पूजाको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना सञ्चार कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल रहेको मातृभूमि पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

‘स–साना बालबालिकादेखि प्रौढ उमेर समूहलाई लक्षित गरेर रिड मोडलमा पुस्तकालय निर्माण गरिएकाले सबै उमेर समूहका लागि उत्तिकै लाभदायी हुने विश्वास लिएका छौँ’, उनले भने, ‘अग्रजहरूले सुम्पिएको गम्भीर र गहकिलो जिम्मेवारीलाई सबैको साथ र सहयोगबाट सम्पन्न गर्न पाएकोमा खुशी छु र सहयोगी सबैप्रति कृतज्ञतासमेत व्यक्त गर्दछु।’

अत्याधुनिक पुस्तकालय सञ्चालनमा आएसँगै स्थानीयवासीमा पठन संस्कृतिको विकास हुनुका साथै सबै समेर समूहका पाठकको सिकाइको थलो बन्नेमा उनी विश्वस्त छन् ।

दुई चरणमा निर्माण गर्ने गरी विसं २०७७ चैतमा पुस्तकालय निर्माणका लागि सम्झौता गरिएको थियो । पहिलो चरणमा कूल रु एक करोड १९ लाख एक हजार ९१ को लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो । जसमध्ये जापान सरकारका तर्फबाट रु एक करोड १५ लाख सहयोग र बाँकी रु चार लाख एक हजार ९१ स्थानीय समुदायले व्यवस्थापन गरेको हो ।

दोस्रो चरणमा भौतिक सामग्री, पुस्तकहरू, साधन स्रोत, तालिमलगायत अन्य प्राविधिक कार्यका लागि रु ५२ लाख २४ हजार आठ सय ४६ सहयोगस्वरूप प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

बिहीबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नवनिर्मित अत्याधुनिक पुस्तकालय भवनको उद्घाटन गरेका थिए । उनले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका नागरिकको चेतनाको स्तर वृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?