+
+

‘फिल्म बडो डरलाग्दो कुरा हो, त्यसले तपाईंलाई बनाउन पनि सक्छ र सिध्याउन पनि’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १३:१६
'हिमालय रोडिज सिजन-५' घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सुरज सिंह ठकुरी

काठमाडौं । चार वर्षअघि रिलिज भएको ‘समर लभ’पछि सुरज सिंह ठकुरी फिल्मबाट टाढिए । तर नायकको रुपमा उनको पछिल्लो फिल्म चाहिं सन् २०१६ मा रिलिज भएको ‘जंगे’ थियो । यी दुवै फिल्म बक्स अफिसमा असफल रहे । त्यसपछि अभिनेता ठकुरी फिल्ममा फर्किएनन् ।

उनी यतिबेला हिमालय रोडिजको पाँचौं सिजनमा होस्टको रुपमा भित्रिएका छन् । यो रियालिटी शोको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा ठकुरीलाई होस्टको रुपमा चिनाइएको थियो । तर उक्त प्रेसमिटमा उनले फिल्म अभिनय र यस क्षेत्रसँग सम्बन्धित प्रश्नको सामना गर्नुपर्‍यो । उनले नेपाली फिल्ममा फर्किन आफूलाई मन लागेको समेत बताए ।

ठकुरीले फिल्म क्षेत्रलाई डरलाग्दो कुराको रुपमा व्याख्या गरे । उनले भने, ‘चलचित्र भनेको बडो डरलाग्दो कुरा हो, त्यसले तपाईंलाई सिध्याउन पनि सक्छ र त्यसले तपाईंलाई बनाउन पनि सक्छ । यसको ज्वलन्त उदाहरण हामीले विगतमा पनि देखेका छौं र आगामी दिनमा पनि देख्छौं होला ।’ उनले यो अभिव्यक्ति कतातर्फ लक्षित गरेका हुन् भन्ने कुरा चाहिं खुलाएनन् । सम्भवतः ओभरनाइट चर्चामा आएर गुमनाम भएका स्टारतर्फ ठकुरीको यो भनाइ लक्षित रहेको बुझ्न कठिन छैन ।

‘यदि मैले समय पाएर काम गर्न पाएँ भने मलाई नेपाली फिल्मको पुनः हिस्सा बन्न मन छ,’ ठकुरीले भने । फिल्ममा चरित्र चित्रण गर्नु भनेको टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्नुजस्तो सजिलो नभएको उनको भनाइ थियो । ‘यो क्यारेक्टर गर भनेदेखि मलाई मेहनत चाहिं गर्नुपर्छ । मैले त्यो पाटोलाई गम्भीर रुपमा लिएको थिइनँ, किनभने म सञ्चारजगतमै व्यस्त थिएँ,’ उनले आफूले चित्रण गरेका फिल्मका पात्रबारे अनुभव बाँडे ।

सन् २०१३ देखि अभिनय यात्रा थालेका ठकुरीले नाइँ नभन्नु ल २ र ३, जंगे र समर लभमा अभिनय गरेका छन् । चर्चित पुस्तकमाथि आधारित समर लभमा उनको अतिथि भूमिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?