+
+

मौका पर्‍यो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते २०:४७

२१ माघ, पोखरा । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । नेपाली कांग्रेसले पनि यो गठबन्धनलाई भत्काउन चाहेको पाण्डेले बताएका छन् ।

शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले आकस्मिक रुपमा बनेको गठबन्धन टुटेर फेरि कांग्रेस–माओवादीसहितको गठबन्धन नै कायम हुन सक्ने सम्भावना औंल्याए ।

‘एक र अर्को पार्टीबीच मत नै साटासाट गरेर निश्चित उद्देश्यका लागि बनेको गठबन्धन त २५ मिनेटमा भत्कियो भने केबल सत्ता, मन्त्रीका निम्ति बनेको गठबन्धन रहिरहन्छ भन्ने छैन’, पाण्डेले भने, ‘२५ मिनेटमै अर्कैले सत्ताको गोल ग¥यो, अब हामी फर्काउँछौं ।’

केन्द्रमा छिट्टै सत्ता समीकरण फेरिने र आफू पनि मुख्यमन्त्री हुने बाटो खुल्ने गण्डकीको कांग्रेस संसदीय दलको नेतासमेत रहेका पाण्डेले भने । ‘अहिलेको राजनीतिले एक गोल उहाँको (मुख्यमन्त्री खगराज अधिकारी) पक्षमा प¥यो, भोलि फर्केर मेरो पक्षमा २ गोल हुन पनि सक्छ,’ पाण्डेले भने, ‘हामी ग्राउण्डमै छौं तर उहाँले एक गोल हान्नुभएको छ, अब मौका प¥यो भने मैले गोल हान्न सक्छु । राजनीतिमा असम्भव भन्ने केही पनि छैन ।’

माओवादी, एमाले र कांग्रेसमध्ये एउटा पार्टीबाट प्रधानमन्त्री, अर्को पार्टीबाट सभामुख चयन भइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति बनाएर राष्ट्रिय सहमति कायम गर्ने प्रचण्डको आश्वासनपछि उनलाई विश्वासको मत दिएको पाण्डेको दाबी छ ।

‘राष्ट्रपति कांग्रेसबाट बन्नुपर्छ र त्यसमा रामचन्द्र पौडेल एक स्वभाविक पात्र पनि हो तर पार्टीले निर्णय गर्ला’, पाण्डेले पत्रकारहरुसँग भने, ‘राष्ट्रिय सहमति कायम गर्छौं, ३ पदमध्ये राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्छौं भनेकै कारण प्रचण्डलाई विश्वासको मत दिइएको थियो ।’

अब राष्ट्रिय सहमति कायम गर्न सक्नु हुन्छ कि हुँदैन, प्रचण्ड पनि परीक्षणकै घडीमा रहेको उनको भनाइ थियो ।

४ मंसिरको चुनावबाट आएका नयाँ पार्टीहरु पुराना पार्टी भन्दा फरक हुन नसकेको पाण्डेले बताए । ‘मलाई चिन्ता के छ भने हिजो पुराना पार्टीले गर्न सकेनन् भनेर भनियो र केही नयाँ टेस्ट जनताले गरे पनि । तर, टेस्ट त पुरानो भन्दा पनि झन् अमिलो देखियो भने त जनतामा धेरै वितृष्ण जाग्छ कि, संविधानप्रति नै वितृष्ण जाग्छ कि छ,’ पाण्डेले आशंका गरे ।

उनले अगाडि भने, ‘पुरानै पार्टी बरु ठिक रहेछन्, यिनलाई नै सच्याउन सकियो भने ठिक हुन्छ भनेर जनताले भनिदियो भने सही बाटो जाने थियो । व्यवस्था नै खराब रहेछ भनेर जनतामा लाग्यो भने त्यो खतरनाक हुन्छ । हामीले ल्याएको संविधान, लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न चिह्न आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?