काठमाडौं । नेपालका निजी क्षेत्र यतिबेला मुलुक आर्थिक मन्दीतर्फ उन्मुख रहेको बताइरहेको छ । लगानीयोग्य पूँजीको अभाव, घट्दो राजश्व सूचक, सरकारको कमजोर खर्च, अन्तर्राष्ट्रिय व्यापारमा संकुचन लगायत कारणले समग्र बजार प्रभावित भएको निजी क्षेत्रको भनाइ छ ।
त्यसो त, नयाँ सरकार आएसँगै ‘अर्थतन्त्र चलायमान बनाउन’ नेपाल राष्ट्र बैंकको सहकार्यमा केही नीतिगत सहजीकण सुरु भएको छ । तर, बजारले गति लिनसकेको छैन ।
नेपाली निर्माण जगतमा परिचित शिवम् सिमेन्टले भने समग्र अर्थतन्त्र मन्दीको अन्योलमा रहेकै बेला नयाँ बजार नीति अघि सारेको छ । सिमेन्ट खरिदमा उपहारमार्फत ग्राहक आकर्षित गरेर निर्माण क्षेत्रलाई चलायमान गराउने नीति ल्याएको शिवम्का बजार तथा बिक्री उपाध्यक्ष निखिल अग्रवाल बताउँछन् ।
नेपाली सिमेन्टमा यो उपहार योजना इतिहासकै सबभन्दा ठूलो भएको उनको दाबी छ । हालको समग्र आर्थिक अवस्था, सिमेन्ट उद्योगका समस्या, चुनौती एवम् शिवम् सिमन्टको नयाँ उपहार योजनाबारे उनीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादीत अंशः
समग्र नेपाली अर्थतन्त्र मन्दीमा पर्न लाग्दा औद्योगिक उत्पादन पनि मारमा परेको भनिदैछ । सिमेन्ट उद्योगको अवस्था के छ ?
अर्थतन्त्रको कुनै एक क्षेत्र समस्याग्रस्त बन्दाको पहिलो असर पर्ने ठाउँ निर्माण क्षेत्र हो । हामीले देशको भविष्य हाइड्रोमा छ भनेका छौं, तर त्यहाँ पूर्वाधार निर्माण गतिहीन बनेको छ ।
निर्माणको अर्को क्षेत्र निजी पूर्वाधार हो । अर्थतन्त्र राम्रो हुँदा निजी पूर्वाधार निर्माणले गति लिन्छ । बजारमा नगद प्रवाह नहुँदा त्यो पनि गतिहीन हुन्छ । नगद प्रवाह नहुँदा, बचत घटेको बेला, महँगी बढ्दा मानिसले घर बनाउने कुरा आएन ।
अर्थतन्त्रको अवस्था नाप्ने अर्को कडी सार्वजनिक सडक, पुल, सुरुङ आदी निर्माणमा पनि अहिले ठूलो शिथिलता छ । यी सबै शिथिलताको मार सिमेन्ट उद्योगमा परेको छ ।
नेपाली अर्थ बजारका अरु समस्या के–के हुन् ?
बजारमा लगानीयोग्य रकमको अभाव हुँदा मान्छेहरु खर्च गर्नै नसक्ने अवस्थामा छन् । रुस–युक्रेन युद्धका कारण बिग्रिएको आपूर्ति शृखंलाका कारण संसारभर मूल्य बढेको छ । औद्योगिक कच्चा पदार्थको मूल्य बढ्दा उद्योगहरुको लागत वृद्धि भएको छ । मूल्य घट्दा माग बढ्ने र मूल्य बढ्दा माग घट्ने अर्थतन्त्रको नियम नै हो ।
अहिले अर्थतन्त्र बिग्रिए कै भन्न मिल्ने अवस्थामा हो ?

अर्थतन्त्र अहिले ‘पज मुड’ अर्थात् गति रोकिएको अवस्थामा छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेकाले स्वदेशी बजारमा लागत धान्न मात्र पनि मूल्य बढाउनुपर्ने अवस्थामा छ । आन्तरिक बजारको प्रतिस्पर्धाका कारण उत्पादनमुलक क्षेत्रहरु त्यसो गर्न भने सकिरहेका छैनन् ।
महँगीका कारण निर्माण क्षेत्र गतिहीन बन्दा व्यवसायी आफूलाई ‘सर्भाइभ’ गर्न नसक्ने अवस्थामा छन् । यसले गर्दा सरकारको खर्च पनि बढ्न सकेको छैन । बजारमा तरलता अभाव लामो समय नरहला । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा गिरावट आउनेबितिक्कै यो समस्या घटेर जान्छ । सरकारको नीतिगत सुधारले पनि समस्यामा सुधार आउँछ ।
तपाईंले भनेको ‘पज’को अवस्थालाई अंकमा भन्न सकिन्छ ?
सिमेन्ट बजारको ‘पज’लाई अंकमा ३०–४० प्रतिशतको गिरावट भन्न सकिन्छ ।
शिवम् सिमेन्टको अवस्था पनि यही हो ?
बजारमा सबैको माग घटेको छ । यद्यपि, बजारमा हाम्रो हिस्सा राम्रै छ । भनेको, तुलनात्मक रुपमा हामी कम घाटामा छौं । बजार बिग्रिएपनि हाम्रो गुणस्तर र जनविश्वास अटल छ ।
नेपाली बजारमा शिवम् सिमेन्टको छवि कस्तो हो ?
हरेक महँगो सामान गुणस्तरीय हुँदैन, तर गुणस्तरीय वस्तु अन्य भन्दा केही न केही महँगो नै हुन्छ । फेरी, सिमेन्ट भनेको वर्षौंको लगानीबाट गरिने उत्पादन हो । मान्छेले आफ्नो लगानीलाई टिकाउ बनाउन गुणस्तर खोज्ने क्रममा शिवम् सिमेन्ट रोज्नु हाम्रो मेहनतको फल हो । नेपालमा शिवम् नै त्यो सिमेन्ट हो, जसले पहिलो पटक गुणस्तरलाई नारा बनायो ।
हामीले गुणस्तरमा जोड दिएर नेपाली सिमेन्टमा भरोसा बढायौं । फिल्डमै गुणस्तर जाँच्ने प्राविधिक भ्यान चलाएर उपभोक्तामा गुणस्तर प्रत्यभुती गर्यौं । नेपाली सिमेन्ट उद्योगको इतिहासमै पहिलो पटक सन् २०१९ मा सरकारले हामीलाई नेपाल गुणस्तर अवार्डले सम्मान गर्यो । हामी देशको उत्कृष्ट सिमेन्ट उद्योग हुनु कुनै संयोग नभएर गुणस्तरप्रति हाम्रो प्रतिबद्धता र निरन्तर मेहनतको प्रतिफल थियो । नेपालमा सिमेन्टको ग्रेड लेख्ने थिती बसाल्यो शिवमले ।
हामी नै हौं पहिलो पटक ३३, ४३ र ५३ ग्रेड सिमेन्ट उत्पादन गर्ने । आज नेपाली सिमेन्ट भारत निर्यातको कुरा भइरहेको छ । त्यसको लागि चाहिने भिएस लाइसेन्स हामीले ७ वर्ष अघि २०१६ मै पाएका थियौं ।
उपभोक्तालाई महाभूकम्प र नाकाबन्दीमा राहत दिन हामीले ५५ किलोको उत्पादन गरेर ५ किलो सिमेन्ट उपभोक्तालाई सित्तैमा दियौं । विश्वमा ५५ किलो सिमेन्टको प्याकेट उत्पादन गर्ने हामी नै हौं सायद ।
कोभिड-१९ का कारण भएको लकडाउनपछि पनि सबभन्दा पहिले उद्योग चलाउने हामी नै हौं । उपभोक्ताले हामीमाथि गरेको विश्वासलाई ध्यानमा राखेर हामीले त्यो गर्यौं । शिवम् सिमेन्ट सधैं उपलब्ध र गुणस्तरीय छ भन्ने विश्वास छ ।
हालको मन्दीबाट उठ्न र सिमेन्ट बजार विस्तार गर्न शिवम्ले अरु के–के गर्दैछ ?
शिवम्ले बजारमा कत्तिको ‘भाइब्रेसन’ ल्याउँछ त्यो सिमेन्ट बजारले भन्ने कुरा हो । बजारमा खपत नभएर उद्योगहरु घाटामा चलेको, महँगीले निर्माण नै नभएका बेला ग्राहकलाई केही सहयोग पुग्ने नीति लिनुपर्छ भनेर नयाँ अफर ल्याएका छौं । महँगीमा उपभोक्तालाई राहत दिने यसको मूख्य उद्देश्य रहेको यो अफरलाई हामीले ‘शिवम्सँग उपहार टन्न’ योजना भनेका छौं ।
यो योजनामा शिवम् सिमेन्ट किन्ने ग्राहकले के–के पाउँछन ?
हाम्रा ग्राहकले नगद, हिराका औंठी, सुन, चाँदी, थाइल्याण्ड भ्रमण र हेलिकप्टर टूर जस्ता उपहार र अवसर पाउनुहुन्छ ।
कस्ता ग्राहकले के उपहार पाउँछन् ?
धेरै सिमेन्ट किन्ने ग्राहक यो योजनाका लागि योग्य हुनुहुन्छ । सिमेन्ट किन्दा पाइने कुपन अन्तर्गत ‘स्योरसट’ उपहार योजना छ । यसमा ग्राहकको हात खाली नहुने नगद, सुन र चाँदीको सिक्का पाइन्छ ।
सोही कार्डमार्फत दोस्रो चरणमा गरिने मासिक लक्की ड्रबाट थाइल्याण्ड घुम्ने अवसर पाइन्छ । चाँदी र माउण्टेन फ्लाइट पनि दोस्रो चरणको लक्की ड्रमा पाइन्छ । मेघा ‘लक्की ड्र’मा आधा तोलादेखि ५ तोलासम्म सुन जित्न सकिन्छ ।
ग्राहकले २० बोरा शिवम् सिमेन्ट खरिदमा तीन पटक उपहार जित्ने अवसर पाउनुहुन्छ । १८ मंसिरदेखि सुरु भएको यो योजना ९० दिनसम्म रहनेछ ।
शिवम्को भावी बजार नीति के हुनसक्छ ?
अहिले समग्र निर्माण क्षेत्रमा शिथिलता आएर सिमेन्टको माग घटेको अवस्था छ । यस्तो बेला निर्माण क्षेत्रले गतिलियोस् भनेर नयाँ स्कीम ल्याएका हौं । नेपालको सिमेन्ट उद्योगकै सबभन्दा ठूलो उपहार योजना हो यो । निर्माण क्षेत्रमा नयाँ–नयाँ योजना ल्याउन हामी सधैं तयार छौं ।
सरकारसँग के अपेक्षा छ ?
सरकारबाट सबैको अपेक्षा भनेको आर्थिक संकटमोचन नै हो । बजारमा तरलता समस्या हट्यो भने मान्छेहरुले काम गर्छन्, आम्दानी बढाउँछन् । कतिले लगानी थप्छन् । विदेशी लगानी पनि भित्रिएला । देशमा बन्दै गरेका आयोजनाहरुले गति लिन्छ । त्यसकारण, सरकारले बजारमा पैसाको प्रवाह बढाउने काम गर्न पर्यो ।
सिमेन्ट उद्योगहरुको समस्या समाधानमा सरकारले के गर्नुपर्छ ?
यो क्षेत्रले भोगेको मुख्य समस्या भनेको मागको कमी हो । माग नहुँदा वा घट्दा सिमेन्ट उद्योगहरुको उत्पादन लागत र बिक्री खल्बलिएको छ । कम बिक्रीको चाप लागतमा पर्दा उद्योगहरु घाटामा छन् । यसलाई रोक्न सरकारले मौद्रीक औजारहरु चलाउनपर्छ ।
राष्ट्र बैंकबाट के सहजीकरण हुनसक्छ ?
राष्ट्र बैंकका केही नीति सहजीकरणतर्फ उन्मुख छन् । सुधारका कामहरुको नतिजा बजारमा देखिन पनि थालेको छ । जस्तो– आयातमा नगद मार्जिन हटेको छ, बैंकहरुले ब्याजदर घटाउन थालेका छन् ।
नयाँ सरकार आएपछि केही सहज भएको हो ?
सरकार स्थिर भएसँगै बजार सकारात्मक बन्दैछ । अर्थमन्त्रालय र राष्ट्र बैंकका पछिल्ला कदमहरुले निरन्तरता पाउनपर्छ ।
अन्तमा केही भन्नु छ ?
उपभोक्ताको मायाकै कारण हामीले ११ करोड बोरा सिमेन्ट बेच्न सक्यौं । विगतका सबै अवस्थामा हामी ग्राहकसंगै भयौं । आगामी दिनमा पनि यस्तै हुने हाम्रो विश्वास छ ।
आर्थिक संकटकै अवस्थामा हामीले ग्राहकका लागि नयाँ उपहार योजना ल्याएका छौं । यसबाट लाभ लिन म पुनः अनुरोध गर्दछु ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4